काठमाडौं : ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षकमा पशु सेवा विभागले हालै एउटा पोस्टर सार्वजनिक गर्यो।
पोस्टरमा नेपालको राष्ट्रिय जनावर गाईसमेत समावेश भएपछि यो पोस्टर विवादास्पद बनेको छ। खसी, बंगुर, भेडा, माउ बाख्रो र माछासँगै मासुजन्य पदार्थमा गाईलाई पनि त्यो पोस्टरमा समावेश गरिएको छ।
विभागले दशैंलाई लक्षित गर्दै स्वस्थ मासुबारे चेतना जगाउन पोस्टर सार्वजनिक गरेको थियो। गाईलाई हिन्दु धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गर्छन्।
पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको चित्र पनि देखाइएको छ। विभागले पोस्टर सार्वजनिक गर्दा विचार पुर्याउन नसकेको प्रष्ट देखिन्छ।
यसैबीच विभागका महानिर्देशक डा. बंशी शर्माले पोस्टरमा गाईको तस्बिर भुलबस राखिएको स्वीकार गरे। 'सरोकारवाला निकायहरूले उठाउनु भएको गुनासोप्रति आफू र आफ्नो विभागको गम्भीर ध्यानाकर्षण भएको छ। हामी भुल सुधार गर्छौ', उनले भने।
तर विभागले दूध खाँदै गरेको माउ बाख्रोबारे केही बोलेको छैन। पोस्टरमा विभागले माउ बाख्राको पनि मासु खान मिल्ने सन्देश दिएको छ। तर विभागले मंगलबार निकालिएको विज्ञप्तिमा गाईको तस्बिरलाई लिएर माफी मागिएको छ माउ बाख्रोबारे केही बोलिएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।