|

पर्सा : कर छली गरिको पुष्टी भएपछि पर्साका दुई उद्योगीलाई ७ वर्ष कैद सजाय भएको छ।उनीहरुले कर छली गरेको बिगो, बिगो बराबरको जरिवाना र विलम्ब शुल्क बझाउन नसकेपछि मुलुकी फौजदारी संहिता २०७४ को दफा १६४ को दफा ५ बमोजिम सात बर्ष कैद फैसला भएको हो। 

कसुरदार ठहर भएका उद्योगी पर्सामा सञ्चालित उदयपुर डिष्टिलरी प्रालिका सञ्चालक ओमप्रकाश कलवार र जयश्री धौलागिरी डिष्टिलरी प्रालिका सञ्चालक शम्भुशरण प्रसाद कलवार भएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ। 

दुवैले कर छलेको पुष्टी भएपछि बिगो, बिगो बमोजिमको जरिवाना र विलम्ब शुल्क बुझाउन भनिएको थियो। तर बुझाउन नसकेपछि ७ वर्ष कैदको निर्णय गरिएको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए। 

मदिरा उद्योग सञ्चालन गरेका दुवै उद्योगीले मदिराको स्टिकर हिनामिना गरी कर छली गरेको पुष्टि भएपछि मुलुकी फौजदारी संहिता २०७४ को दफा १६४ को २ बमोजिम जायजेथाबाट असुल उपर गर्न भनिएको हो।त्यसबाट पनि असुलउपर नभएपछि  ७  वर्ष कैदको फैसला सुनाइएको राजश्व कार्यालय प्रमुख कोइरालाले बताए । 

उद्योगीहरु एउटै परिवारका दुई दाजुभाइ हुन्। दुवैको गरी ३१ करोड भन्दा बढीको रकम असुल गर्नुपर्ने थियो।राजश्व बुझाउन नसकेपछि जेल पठाइएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ।उद्योगीद्वयले ४४ लाख १५ हजार ३५७ थान अन्तशुल्क स्टिकर हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको कार्यालयको भनाइ छ। 

ओम प्रकाश कलवारको नाममा रहेको उदयपुर डिष्टिलरीले आर्थिक बर्ष २०७१⁄०७२ देखि २०७५⁄०७६ सम्म राजश्व कार्याल्यबाट लिएको मदिराको स्टिकर हिनामिना गरेको देखिएको छ । 

उनीसँग २६ करोड १५ लाख ७७ हजार ३४७ रुपैया बिगो, बिगो बराबरको जरिवाना र विलम्ब शुल्क माग भएको छ।त्यसैगरी शम्भु शरणको नाममा रहेको जयश्री धौलागिरीसँग ५ करोड ४७ लाख ५९ हजार ७३३ रुपैयाँ माग भएको छ । 

दुवै उद्योगका संचालकले सो रकम बुझाउन नसकेपछि ऐनको परिधिभित्र रही कैद फैसला भएको कार्यालयले जनाएको हो।

आन्तरिक राजश्व कार्यालय पर्साले गत आर्थिक वर्ष (२०७५) असार २८ गते पनि मदिराको बोत्तलमा प्रयोग हुने नक्कली अन्तः शुल्क टिकट ओसारपसार गरेको अभियोग ८ जनालाई पनि दोषी ठहर गर्दै एक वर्ष कैद र ५४ करोड २९ लाख ६० हजार ९ सय २८ रुपैयाँ जरिवाना तोकेको थियो।

दोषीमध्ये मुख्य अभियुक्त फरार हरेकोले उनीबाहेक बाँकी सबै उक्त रकम पनि बुझाउन नसकी जेल गएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.