|

ताप्लेजुङ : पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबार रहेको छ। नेपाल एकीकरण हुनुपूर्व पल्लो किरातको नामले चिनिएको यस क्षेत्रमा थुप्रै राजा रजौटाहरु थिए। तीमध्ये हस्तपुर याङवरक यकका शक्तिशाली राजाको रुपमा राजा हिलिहाङ रहेको थिए। हिलिहाङ दरबार उनी राजाको दरबार हो।

मेची राजमार्ग अन्तर्गतको हिलिहाङ चोकबाट करिब साढे दुई किलोमिटर कच्ची सडक पार गरेपछि जीर्ण दरबार क्षेत्र पुगिन्छ। पुरातात्विक महत्त्वको जीर्ण दरबारको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र स्थानीयहरु लागिपरेका छन्। दरबारको उत्खनन्, दरबार क्षेत्रमा भौतिक संरचना निर्माणका साथै प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गरिरहेको हिलिहाङ फाउण्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङले बताए।

‘२५० वर्षदेखि लुकेर रहेको दरबारको जीर्णोद्वार, उत्खनन्, राजाको मूर्ति निमार्ण, विभिन्न भौतिक संरचना निर्माणको काम गरेका छौँ,’ अध्यक्ष योङहाङले भने, ‘संघीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा दरवारको संरक्षणका लागि विभिन्न कामहरु भैरहेका छन्।’ 

दरबारको संरक्षण र अन्वेषणका लागि विभिन्न निकायमार्फत तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको फाउण्डेसनले जनाएको छ। उक्त रकम पुरातत्त्व विभाग, पर्यटन मन्त्रालय र हिलिहाङ फाउण्डेसनले दरबार क्षेत्रको पुरातात्विक सम्पदाहरूको भग्नावशेष संरक्षण, जिर्णोद्वार, दरबार क्षेत्र पुग्ने कच्ची सडकसँगै हिलिहाङ खेलमैदान र राजाको शालिक निर्माणमा खर्चेका छन्। यस्तै, दरबार क्षेत्रमै राजा हिलिहाङले प्रयोग गरेका हातहतियारसँगै अन्य महत्त्वपूर्ण सामग्रीहरू संग्रह गर्न संग्रहालय निर्माण सुरु भएको छ। फाउण्डेसनका अध्यक्ष योङहाङले निर्माण गरिने संग्रहालयमा तोप, ढाल, तरबार, निशान, राजाको कन्तुर, हिलिहाङ झण्डालगायतका सामग्रीहरू साथै विभिन्न जातजाति, भाषाभाषीका मैलिक सामग्रीहरु राखिने बताए। 

दरवारको प्रचारप्रसार गर्न गत वर्ष बैशाख २४ देखि पाँच दिने हिलिहाङ महोत्सव सञ्चालन गरेको थियो। गाउँपालिकाको अगुवाइमा महोत्वस गरिएको हिलिहाङ गाउँपालिकाका अध्यक्ष भवानीप्रसाद लिङ्देनले जानकारी दिए। ‘हामीले हिलिहाङ गुरुयोजना नै बनाएर काम गरिरहेका छौँ,’ अध्यक्ष लिङ्देनले भने, ‘यस आर्थिक वर्षमा पनि संग्रहालय, भ्युटावर निर्माणलगायतका कामका लागि प्रदेश सरकारसँग समन्वय भैरहेको छ।’ 

प्रदेश १ सरकारले समेत यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि विभिन्न शीर्षकमा बजेट विनियोजन गर्ने गाउँपालिकासँग छलफल भएको अध्यक्ष लिङ्देनले बताए। ‘गुरुयोजना बनाएरै अघि बढेका छौँ। पहिलो कुरो त पर्यटक भित्र्याउन पूर्वाधार निमार्ण गर्नुपर्छ। अहिले त्यही काममा लागेका छौँ,’ अध्यक्ष लिङ्देनले भने। यसरी नै सो क्षेत्रमा होटललगायतका अन्य पूर्वाधार निर्माणतर्फ पनि कार्यक्रम सञ्चालन गरिने फाउण्डेसनका अध्यक्ष योङहाङले बताए। 

को हुन् राजा हिलिहाङ ?

राजा हिलिहाङ योङहाङ तत्कालीन लिम्बुवानका १७ थुममध्येको एउटा थुम, याङ्वरकको हस्तपुर (यक) गढीका राजा हुन्। वि.सं. १७८३ मा जन्मिएका उनले १८१४ देखि १८४२ सालसम्म २८ वर्ष शासन गरेका थिए। 

गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यमाथि आक्रमण गर्दै पूर्वी क्षेत्र जाँदा याङ्वरक थुमको हस्तपुरगढीका राजा हिलिहाङसँग १७ पटकसम्म युद्ध गरेका थिए। यस यसद्धमा हारजित नभएपछि लिम्बुवानलाई स्वायत्त अधिकार दिने गरी गोरखा–लिम्बुवानबीच सम्झौता भएको इतिहासका जानकारहरु बताउँछन्। 

उक्त समयमा हिलिहाङ योङहाङ र उनका सन्ततिले अविच्छिन्न रूपमा हस्तपुर याङ्वरक (यक)मा शासन गर्न पाउने, शाहवंशीय राजालाई दाजु र लिम्बुवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, हस्तपुर (याङ्वरक) यकमा तैनाथ सैनिक (तिलिंगा)हरूलाई लाग्ने सम्पूर्ण खर्च राजा हिलिहाङ आफैँले स्वधिकार प्रयोग गर्न पाउने र सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने सहमति भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.