|
'हंस' उपन्यास विमोचन कार्यक्रममा नयनराज पाण्डे, डा. सञ्जीव उप्रेती र भूषिता वशिष्ठ

काठमाडौं : लामो समयको प्राध्यापनबाट निवृत्त भएपछि डा. सञ्जीव उप्रेती एकपछि अर्को साहित्यिक पुस्तकका साथ सार्वजनिक भइरहेका छन्। त्यसो त उनी नाटकका मञ्चमा पनि अब्बल अभिनयका साथ प्रस्तुत भइसकेका छन्।

उप्रेतीका ‘घनचक्कर’ (उपन्यास), ‘सिद्धान्तका कुरा’ (गैर आख्यान), ‘मकैको अर्कै खेती’ (नाटक) प्रकाशित छन्। उनले तीन नाटकहरू ‘न्याय प्रेमी’, ‘सपनाको साविती’ र ‘मकैको अर्कै खेती’मा अभिनय गरेर आफूलाई अब्बल कलाकार रूपमा प्रस्तुत गरिसकेका छन्।

उप्रेती दोस्रो उपन्यास ‘हंस’ लिएर आएका छन्। उनको उपन्यास ‘हंस’ शनिबार मात्रै सार्वजनिक भएको छ। उनको उपन्यासलाई काठमाडौंको प्रज्ञा भवनमा साहित्यकार नयनराज पाण्डे, उनी स्वयम् र नाटक कलाकार भूषिता वशिष्ठले सार्वजनिक गरे।

उपन्यास सार्वजनिक कार्यक्रममा साहित्यकार पाण्डेले उप्रेतीलाई रोचक आग्रह गरे। पाण्डेले उप्रेतीलाई ‘बहुलाउन’ आग्रह गरेका थिए। ‘घनचक्कर’ उपन्यासले पाठकमा ‘उप्रेती बहुलाए’ भन्ने परेको र ‘हंस’ले त्यसलाई झनै बढवा दिएको संकेत गर्दै पाण्डेले उक्त आग्रह गरेका हुन्।

‘पछिल्लो समय नेपाली साहित्य लेखनमा बोलीचालीका शब्द ल्याउने क्रम बढिरहेको छ। तर, यस्तो बेलामा पनि ‘हंस’ उपन्यासमा थोरै मात्र यस्ता शब्द र दर्शनका कुरा छन्। ‘हंस’ उपन्यास पछिल्लो समयमा आएको बेग्लै खालको, धारको, पृथक शैलीको, पृथक शिल्पको एउटा कथानक बोकेको उच्च कोटिको हो भन्नमा हिचकिचाउनु पर्दैन भन्ने लाग्छ’, उपन्यासबारे बोल्ने पहिलो वक्ता पाण्डेले थपे, ‘यो उपन्यास पढिसकेपछि बडा अलमलको स्थिति, बिथोलिएको मनस्थितिमा पुगेको थिएँ। यस खालको उपन्यास मैले पहिले पढेको जस्तो लाग्दैन। यस्तो किसिमले प्रस्तुत गरिएको उपन्यास यसअघि पढेजस्तो लाग्दैन। उपन्यास पढेपछि नयाँ विषयवस्तुमा, नयाँ संसारमा प्रवेश गरेको जस्तो लाग्यो।’

यति भनेर आफ्नो मन्तव्यको अन्तिम चरणमा पुगेका पाण्डेले उपन्यासकार उप्रेतीतिर हेर्दै आग्रहको शैलीमा भने, ‘पुस्तकमा म खासै लेख्दैन। तर यो उपन्यास पढिसकेपछि मैले अन्तिम पृष्ठमा लेखे। उक्त कुरा ट्विट गरौँ पनि लाग्यो तर हलुका भइन्छ कि भन्ने लाग्यो। त्यो कुरा यहाँ भन्दै छु कि मैले यो उपन्यास पढेपछि अन्तिम पानामा लेखेको थिएँ- यस्तो उपन्यास बहुलाहाले मात्रै लेख्न सक्छ, सञ्जीव सर तपाईं अझै बहुलाउनुस्।’

उपन्यासमा लेखक उप्रेतीले विश्वमा जल्दाबल्दा बनिरहेका विषय उठाएको बताए। उपन्यासमा पर्यावरण, मानव र प्राणीका विषय उठान भएको पाण्डेको भनाइ थियो। ‘हंस’मा मानव पात्र र पंक्षी पात्रको कथानकलाई समानान्तर रूपमा अगाडि बढाइएको पाण्डेको भनाइ थियो। कीर्तिपूरको टौदहलाई उपन्यासमा अद्भुत ढंगमा प्रस्तुत गरिएको उनले बताए। पाठकलाई पंक्षीहरूको दुनियाँमा प्रवेश गराउने क्षमता उपन्यासमा रहेको उनको भनाइ थियो। उपन्यासमा भावनालाई कृत्रिम जलप लगाएर प्रस्तुत गर्ने आडम्बर नभएको पाण्डेको दाबी थियो। उनले भने, ‘उपन्यासको केन्द्रमा प्रेम छ। मान्छे मान्छेबीचको। पशु पशुबीचको। मान्छे र पशुबीचको प्रेम।’

साहित्यकार, प्रकाशकसमेत रहेकी उप्रेतीकी श्रीमती डा. अर्चना थापाले उपन्यास लेखनका क्रममा भएका अनुभव सुनाएकी थिइन्। उनले १२ वर्ष लगाएर सञ्जीवले उपन्यास तयार पारेको जानकारी दिइन्। भूषिताले उपन्यासमा हाँसको कथा मात्रै नभएर मानवका कुरा पनि उल्लेख गरिएको बताइन्। उनले मानवीय आत्माको कुरा उपन्यासको केन्द्रमा रहेको बताइन्। उनले भनिन्, ‘यो उपन्यासको कथा हाँसको मात्रै होइन। यसले मानवीय आत्माको कथा समेटेको छ। हरेक मान्छेको निजी उडानको कामना यस उपन्यासमा छ।’

लेखक डा. सञ्जीव उप्रेतीले ‘हंस’ उपन्यासमा नयाँ प्रयोग गरेको बताए। ‘घनचक्कर’ पढेपछि कतिपय पाठकले उनकै आत्मकथा त होइन? भनेर प्रश्न गरेको बताए। उनले घनचक्करमा पागलपनको विषय भएकाले पाठकले त्यस्तो सोचेको  बताए। उनले नयाँ उपन्यासमा फरक विषय र भाषा रहेको बताए। उनले भने, ‘हरेक आख्यानको आफ्नै विषय र भाषा हुनुपर्छ लाग्छ। ‘घनचक्कर’को विषय पागलपन थियो, ‘हंस’मा प्रेमको विषय छ। यसमा मानव इतरलाई पनि केन्द्रमा राखिएको छ। मानवकेन्द्रित विश्वदृष्टिबाट बाहिर निस्किने हो कि भन्ने ‘हंस’को प्रयास हो।’

‘हंस’ उपन्यासलाई बुकहिल पब्लिकेसनले प्रकाशित गरेको हो। यो उपन्यासको मोटो गातावालाको मूल्य ५५५ रुपैयाँ र पातलो गातावालाको मूल्य ४०० रहेको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.