|

धनकुटा : धनकुटाको नाम्जे थुम्की होमस्टे नेपालकै उत्कृष्ट सामुदायिक होमस्टे गाउँको रुपमा घोषणा गर्दै सम्मानित भएको छ। पछिल्लो समयमा आएर पर्यटकीय गन्तव्य बन्दै गएको नाम्जे थुम्की होमस्टेलाई नेपाल सरकार संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत शुक्रबार नेपाल कै उत्कृष्ट होमस्टेको रुपमा घोषणा गर्दै सम्मान गरेको नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले बताए।

नाम्जे थुम्की सामुदायिक होमस्टेलाई आर्थिक वर्ष २०७५÷७६ को उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरिएको हो। पर्यटन आगमनको संख्या, भ्रमण कार्यक्रमको व्यवस्थापन, उपलब्ध पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्ध्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नतालाई आधार बनाएर छनौट गरिएको हो। उत्कृष्ट होमस्टे घोषित भएपछि नाम्जे होमस्टेमा विकासका पूर्वाधार थपिने होमस्टे सञ्चालकहरुको अपेक्षा छ।

एकल जातीय बसोबास रहेको नाम्जे थुम्की होमस्टेलाई पर्यटन मन्त्रालयले गरेका सम्मानले थप जिम्मेवारी बनाएको अध्यक्ष रानाले बताए। पछिल्लो समय प्रभावकारी बन्दै गएपछि होमस्टे पर्यटकहरुको गन्तव्य स्थल बन्दै गएको छ।

साँगुरीगढी गाउँपालिका–६ मा रहेको नाम्जे थुम्की भेडेटार बजारबाट ४ किलोमिटर दक्षिण पूर्वमा रहेको छ। प्राकृतिक रुपमा निक्कै आकर्षक र मनमोहक नाम्जेलाई अमेरिकाको सञ्चार माध्यम सीएनएनले सन २०१२ मा विश्वको १२ अनौठा गन्तव्य स्थलमध्ये आठौँ नम्बरमा राखेको थियो।

सीएनएनले विश्वको आठौँ गन्तव्य स्थलको रुपमा घोषणा गरेपछि चर्चामा आएको नाम्जे पछिल्लो समय होमस्टे प्रभावकारी बन्दै गएको थियो। अहिले भेडेटार आउने पर्यटकहरु अनिवार्य एक पटक नाम्जे पुगेर मात्र फर्कने गरेका स्थानीय बताउँछन।

करिब १५ सय ८५ मिटर उचाइमा रहेको नाम्जेमा ९५ प्रतिशत मगर जातिको मात्र बसोबास रहेको छ। मगरहरुको मौलिक संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै यहाँ उत्पादित वस्तुहरुको अधिकतम उपयोग होस् भन्ने उदेश्यले होमस्टे सञ्चालन गरिएको होमस्टे व्यवस्थापन समितीको भनाई छ। 

२०७० साल माघदेखि होमस्टे सञ्चालन गर्न सुरु गरिएको नाम्जे थुम्कीमा अहिले २२ घरमा होमस्टे सेवा सञ्चालन रहेकोमा १९ घर पर्यटन कार्यालय काकडभिट्टामा दर्ता भएका छन। बाँकी घरहरु पछिबाट सञ्चालनमा आएकाले दर्ताको प्रक्रियामा रहेको अध्यक्ष रानाले बताए।

होमस्टेमा भेडेटार, नमस्ते झरना, नाम्जे थुम्की घुम्न आउने पर्यटकहरुलाई सस्तो र सुलभ मूल्यमा बास बस्ने व्यवस्था गरिएको छ। त्यहाँ घुम्न आउने पर्यटकहरुलाई होमस्टेमा बास बस्दा प्रतिव्यक्ति एक छाक खाना र एक रात सुतेको न्यूनतम २ सय ७५ रुपैयाँदेखि अधिकतम ४ सय रुपैयाँसम्म लिने गरिएको छ।

होमस्टेमा समूहमा आउने पर्यटकहरुको रोजाइमा स्थानीय मौलिक हुर्रा नाच पनि प्रस्तुत गर्ने गरिन्छ। सांस्कृतिक नाच प्रस्तुत गरेबापत नाम्जे थुम्की होमस्टेको सामुदायिक सांस्कृतिक भवन निर्माण सहयोगार्थ २ हजार रुपैयाँ शुल्क लिने गरिएको होमस्टे व्यवस्थापन समितिका सचिव तुफानकुमार मगरले जानकारी दिए।

भवन निर्माण भएपछि विभिन्न खालका मौलिक संस्कृतिहरु प्रर्दशन, भोज, विवाह, जन्मदिन, वनभोज लगायतका कार्यक्रमहरु सञ्चालन गरिने नाम्जे थुम्की सामुदायिक होमस्टे व्यवस्थापन समितिले जनाएको छ। सामुदायिक भवन तारा गाउँ विकास समिति काठमाण्डौ, पर्यटन कार्यालय काकडभिट्टा झापा, साँगुरीगढी गाउँपालिका धनकुटा, पञ्चकन्या सामुदायिक संस्था, पर्यटन मन्त्रालय काठमाण्डौ, नाम्जे थुम्की होमस्टे, पर्यटन मन्त्रालय प्रदेश १ लगायतको झण्डै ५० लाख रुपैयाँको लागतमा निर्माण हुँन लागेको अध्यक्ष रानाले बताए।

होमस्टेमा आउने पर्यटकहरुलाई नास्ताको रुपमा सिजन अनुसार उसिनेको आलु, स्कुसको जरा र त्यसको मुन्टाको तरकारी, मकैको भात, लोकल कुखुराको मासु, बंगुरको सेकुवा, खसी बोकाको मासु आवश्यकता अनुसार लोकल कोदोको निगार, तोङवा, रक्सी आदिको व्यवस्था गरिएको छ।

होमस्टेमा बाहिरबाट वाइन लगायतका पेय पदार्थहरु ल्याएर पिउन बन्देज गरिएको छ। दैनिक एक सय जनालाई खान बस्नको व्यवस्था मिलाइएको होमस्टेमा पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीको परिवार बढी मात्रामा आउने गरेको स्थानीय समाजसेवी तथा होमस्टे सञ्चालक गुञ्जमान मगरले बताए। होमस्टेमा झापा, मोरङ, सुनसरी, उदयपुर लगायतका देशका विभिन्न ठाउँबाट पर्यटकहरु घुम्न र बस्न आउने गरेका छन। प्रायः हप्ताको शुक्रबार र शनिबार साथै बिदाको दिन बढी मात्रामा होमस्टेमा पर्यटकहरु बस्न आउने गरेका छन।

नाम्जे थुम्की होमस्टेमा आउने पर्यटकहरुले नाम्जेको आत्मा बस्ने घर, सूर्याेदय बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा वरिपरी रहेका टावर, नाम्जेडाँडाबाट तराईका समथल भु–भागहरुको अवलोकन लगायत अवलोकन गर्न सक्छन।

त्यस्तै नाम्जे थुम्की वरपर रहेका भेडेटारको चार्ल्स प्वाइन्ट, भेडेटारको पाथीभरा मन्दिर, ओख्रेको भ्यू–टावर, नमस्ते झरना, डाँडाबजारको ध्वँजेडाँडा, एशियाको सबैभन्दा ठूलो बरको बोट, चौविसको रानीताल, मोरङको जेफाले टावर लगायतका पर्यटकीय स्थलहरुको अवलोकन गर्न सक्छन।

नाम्जे थुम्कीमा होमेस्टे सञ्चालन गर्दै आएका स्थानीयवासीहरुलाई ठूला होटल व्यवसायीहरुको चर्को दबाब छ। होमस्टेहरुले सस्तो र सुलभ दरमा पर्यटकहरुलाई सेवा प्रवाह गरेका कारण ठूला लगानीका होटल व्यवसायीहरुसँगको प्रतिस्पर्धाको चुनौती सामना गर्नुपर्ने बाध्यता रहेको स्थानीय होमस्टे सञ्चालकहरु बताउँछन।

होमस्टे सञ्चालनसँगै पर्यटकहरुको आकर्षण बढेपछि पुरै पर्यटन व्यवसाय नै धराशायी पार्ने खालका चलखेल हुने गरेको छ। होमस्टे सञ्चालन गर्न निकै मेहनत गर्नुपरेको होमस्टे व्यवसायीहरु बताउँछन।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सुरु हुन केही महिना मात्र बाँकी छ। यसलाई मध्यनजर गर्दै नाम्जे थुम्की होमस्टे व्यवसायीहरु तीव्र तयारीमा जुटेका छन।

उनीहरुले पर्यटन वर्ष २०२० मा कम्तीमा पनि ५ लाख पर्यटकहरुलाई भेडेटार लगायत नाम्जे आसपासका क्षेत्रमा भ्रमण गराउने योजना बनाएका छन। पर्यटकहरुलाई नाम्जेसहित डाँडाबजार होमस्टे, आहाले, धनकुटाको आठपहरिया बस्ती, जेफालेको होमस्टेमा व्यवस्थापन गर्ने र स्थानीय होटल व्यवसायीहरुसँग समन्वय गरेर सस्तोमा सेवा दिने उनीहरुको सोच छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.