सार्वजनिक शौचालय निर्माण गर्ने हाम्रो रफ्तार घट्दैन

|
खानेपानी तथा सरसफाइ मन्त्रालयले काठमाडौंमा सोमबार आयोजना गरेको खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा कार्यक्रममा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री बीना मगर लगागत। फोटो : नवीन पौडेल/रासस

पूर्ण सरसफाइ राष्ट्र निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्न खुला दिसामुक्त टोल, वडा, गाउँ, नगर र जिल्ला घोषणामा नेपाली जन समुदायले देखाएको अनुकरणीय नेतृत्व, ऊर्जापूर्ण सहभागिता, ओझपूर्ण सन्देश र सद्भाव पूर्ण सहकार्यका लागि हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु।

सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न सरकार पूर्ण सरसफाइको अभियानमा एकलव्य भएर अघि बढिरहेको छ। खुला दिसामुक्त राष्ट्र घोषणा पूर्ण सरसफाइ अभियानको एक महत्त्वपूर्ण अंग हो, यसले आधारभूत सरसफाइको लक्ष्य हासिल गर्दछ। पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रारम्भिक खुड्किलोका रूपमा खुला दिसामुक्त नेपाल घोषणा भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्न पाउँदा गौरवको अनुभूति भएको छ।

नेपालमा सन् २००० बाट सुरु भएको राष्ट्रिय सरसफाइ सप्ताहले खुला दिसामुक्त क्षेत्रको अवधारणाका लागि अनुकूल वातावरण सिर्जना गर्‍यो। सन् २००३ मा सामुदायिक नेतृत्वमा सञ्चालित पूर्ण सरसफाइ अभियान र सन् २००६ मा विद्यालयको पूर्ण सरसफाइ अभियानले नेपाललाई खुला दिसामुक्त क्षेत्र बनाउने अवधारणा र अभियानको जग बसालेको मान्न सकिन्छ। सरकार र समुदायको सहकार्यमा गरिएका यी र यस्तै प्रयास एवं अभियानले हामीलाई खुला दिसामुक्त राष्ट्र घोषणाको यस गौरवशाली क्षणमा उभ्याएको तथ्य म यहाँ स्मरण गर्न चाहन्छु। 

विनाशकारी भूकम्प, बाढी पहिरो, नाकाबन्दीको आर्थिक एवं मनोवैज्ञानिक प्रभावजस्ता प्राकृतिक र वस्तुगत चुनौतीले यस अभियानमा चुनौतीहरू नथपिएका होइनन्। तर, सामाजिक क्षेत्रमा देखिएको सचेत पहलकदमी र सञ्चार माध्यमहरूले गरेको निरन्तर खबरदारीको प्रतिफल यस अभियानले उत्साह जनक रूपमा गति लियो।

विद्यालयको पूर्ण सरसफाइ अभियानपश्चात् विद्यालय, सेवा क्षेत्र, समुदाय तथा बस्तीहरूलाई खुला दिसामुक्त घोषणाले थप तीव्रता पायो। खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई अगाडि बढाउने क्रममा सन् २००८ मा संयुक्त राष्ट्रसंघले घोषणा गरेको अन्तर्राष्ट्रिय सरसफाइ वर्ष नेपालका लागि थप ऊर्जा र प्रेरणाको वर्ष बन्यो ।

 यस वर्षदेखि खुला दिसामुक्त क्षेत्र घोषणा एक औपचारिक कार्यक्रमका रूपमा नभएर एउटा सामाजिक जागरण अभियान र आन्दोलनकै रूपमा अगाडि बढ्यो। सन् २०११ मा सम्माननीय राष्ट्रपतिज्यूको प्रमूख आतिथ्यमा सरसफाइ गुरुयोजना घोषणा गरी कार्यान्वयनमा ल्याएपश्चात् यसले सरसफाइका क्षेत्रमा निकै ठुलो जागरण ल्यायो।

सरसफाइ गुरुयोजनाको प्रभावले वडा र गाउँहरूमा खुला दिसामुक्त अभियान र घोषणा एवं क्षमता अभिवृद्धिका कार्यक्रमहरू अगाडि बढे। यो अभियान पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्र हुँदै पूर्वाञ्चल तथा मध्यमाञ्चलमा पनि उत्साहका साथ अगाडि बढ्यो।

विनाशकारी भूकम्प, बाढी पहिरो, नाकाबन्दीको आर्थिक एवं मनोवैज्ञानिक प्रभावजस्ता प्राकृतिक र वस्तुगत चुनौतीले यस अभियानमा चुनौतीहरू नथपिएका होइनन्। तर, सामाजिक क्षेत्रमा देखिएको सचेत पहलकदमी र सञ्चार माध्यमहरूले गरेको निरन्तर खबरदारीको प्रतिफल यस अभियानले उत्साह जनक रूपमा गति लियो।

नेपाल सरकारले आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रममा देशलाई खुला दिसामुक्त घोषणा गरी स्थानीय निकायहरूको नेतृत्वमा पूर्ण सरसफाइ अभियानमा अघि बढ्ने संकल्प गरेको छ। नेपालका ७७ जिल्ला हालै खुला दिसामुक्त घोषणा भएका छन्। राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता निर्देशन समितिको मिति २०७६।०३।१३ को बैठकको निर्णय बमोजिम खुला दिसामुक्त घोषणा तयारीका लागि एक समिति गठन गरिएको थियो।

अन्तर्राष्ट्रिय सरसफाइ वर्षका अवसरमा ५ जुन २००८ मा तत्कालीन संविधान सभाका ६०१ जना सभासदले काठमाडौंको खुला मञ्चमा साझा शपथका साथ नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउँदै पूर्ण सरसफाइको लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। वि.सं. २०६८ असार १० गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको थियो।

त्यसपछि क्रमशः चितवन, तनहुँ हुँदै देशका विभिन्न जिल्लाहरूमा देशका उच्च नेतृत्वको सहभागितामा खुला दिसामुक्त जिल्ला घोषणा गर्ने क्रमले तीव्रता पायो। यसले घोषणाको तहमा मात्र नभएर राजनीतिक, सामाजिक एवं समाजका विविध क्षेत्रका व्यक्तिलाई सामाजिक जागरणका क्षेत्रमा निकै ठुलो ऊर्जा, प्रेरणा र कतिपय अवस्थामा नैतिक दबाबसमेत सिर्जना गरेको तथ्यले यस अभियानको गतिलाई बुझ्न सकिन्छ।

हालसम्म देशका ७५३ वटै स्थानीय तह, ७७ वटै जिल्ला र ७ वटै प्रदेश खुला दिसामुक्त भएका छन्। मन्त्रालयलाई प्राप्त तथ्याङ्कअनुसार प्रदेश १ मा ९,६५,२७२, प्रदेश २ मा ९,३३,६४९, प्रदेश ३ मा १६,२२,११३, गण्डकी प्रदेशमा ५,४८,२१०, प्रदेश ५ मा ७,९३,९९०, कर्णाली प्रदेशमा ३,०७,९६५ र सुदूरपश्चिम प्रदेशमा ४,८९,०१५ गरी जम्मा ५६,६०,२१४ घरधुरीमा शौचालय निर्माण भएका छन्।

यसका अतिरिक्त नेपाल सरकारका विभिन्न निकाय, निजी क्षेत्र, गैरसरकारी क्षेत्र र विकास साझेदार संस्थाको एकल र संयुक्त पहलमा प्रदेशका प्रमुख सहर, जिल्ला सदरमुकाम र राजमार्गमा सार्वजनिक शौचालय निर्माण भइरहेका छन्। यद्यपि, ती सार्वजनिक शौचालय नागरिकको आवश्यकता र घनत्वका दृष्टिले पर्याप्त नभएको तथ्य हामीले गहिरो गरी बोध गरेका छौँ।

खुला दिसामुक्त राष्ट्र घोषणा आफैँमा पूर्ण सरसफाइ होइन, यो त आधारभूत सरसफाइको सूचक मात्र हो। हामीले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न पूर्ण सरसफाइ युक्त नेपालको संकल्पसहित अघि बढिरहेका छौँ। पूर्ण सरसफाइका ५+१ सूचक छन् :

१. चर्पीको समुचित प्रयोग,

२. व्यक्तिगत सरसफाइ,

३. सुरक्षित पानीमा पहुँच तथा प्रयोग,

४. सुरक्षित खानाको प्रयोग

५. घरायसी एवं संस्थागत सरसफाइ,

६. वातावरणीय सरसफाइ।

उल्लिखित ६ वटा सूचकमध्ये नेपालले सफलता हासिल गरेको प्रमूख सूचक खुला दिसामुक्त अभियान पनि हो। वि.सं. २०६८ असार १० गतेदेखि २०७६ भदौ ३१ गतेसम्म आइपुग्दा मूलतः सबै घरधुरीमा आधारभूत चर्पी निर्माण भएको तथ्यसहित हामीले खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हौँ।

पूर्ण सरसफाइका अन्य सूचकमध्ये सुरक्षित र स्वस्थ खाना प्रयोग र वातावरणीय सरसफाइको सम्बन्ध समग्र राष्ट्रको समृद्धि एवं व्यक्तिको प्रतिव्यक्ति आयमा निर्भर रहन्छ। यसलाई सरकारले नै आफ्नो प्राथमिक सूचिमा राखी सन् २०३० सम्म ६ वटै सूचकहरूमा पूर्णांक प्राप्त गर्न योजनाबद्ध रूपमा क्रियाशील रहने नै छ।

दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा हुँदैछ, यो हामी सबैका लागि गौरवको कुरा हो। घोषणाका दृष्टिले मात्र होइन, आधारभूत सरसफाइका दृष्टिले पनि दक्षिण एसियामा नेपाल पहिलो स्थानमा रहेको तथ्य हाम्रा लागि सुख दायी विषय नै हो। यद्यपि, हामीले यसैमा सन्तुष्टि लिएर बस्ने अवस्था छैन।

नेपाल सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा घोषणा गरिसकेका सन्दर्भमा खुला दिसामुक्त राष्ट्र घोषणा त्यसका लागि एउटा बलियो सारथि पनि हो। हाम्रो तत्परता, घोषणा र सामाजिक जागरणको यस अभियानले नेपालमा बाह्य पर्यटन प्रवर्द्धनमा निकै ठुलो सन्देश र परिणाम आउने हामीले अपेक्षा गरेका छौँ। यस तथ्यलाई गहिरो गरी आत्मसात गर्न म सम्पूर्ण नेपाली जन समुदायमा हार्दिक अनुरोध गर्दछु।

कुनै पनि अभियान, कार्यक्रम वा घोषणा आफैमा चुनौती पक्कै हुँदैनन्। दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त राष्ट्रको घोषणा गरिरहँदा हाम्रा केही गम्भीर चुनौती छन्। ती चुनौतीले कहिलेकाहीँ जनताको तहमा केही आशंका र दुबिधा उत्पन्न गर्ने गरेका तथ्यप्रति पनि हामी बेखबर छैनौँ। खुला दिसामुक्त राष्ट्र घोषणाको अभियानसँग जोडिएर केही प्रश्नसमेत उठ्ने गरेका छन्। ती प्रश्न नियतवशः, अज्ञानता, संयोगवश र खबरदारी पूर्ण ढंगले पनि उठेको विषयमा हामी जानकार नै छौँ। त्यसबारे म केही कुरा उल्लेख गर्ने अनुमति चाहन्छु।

देशका केही सुदूर एवं पहाडी जिल्ला, तराई–मधेस र अन्य सुगम जिल्लामा समेत पर्याप्त चर्पीको व्यवस्था नभएको, पर्याप्त पानीको व्यवस्था नभएको, सामाजिक एवं प्राचीन संस्कारका कारण चर्पीको प्रयोग नगर्ने समस्या रहेको, सरसफाइ र स्वच्छताका अरू सूचक सबल नभएको, सार्वजनिक शौचालयको पर्याप्त निर्माण नभएको अवस्थामा सरकार खुला दिसामुक्त राष्ट्र घोषणाका लागि किन हतारिँदै छ? यो कतै घोषणाका लागि घोषणा मात्रै त हुँदैन? यस खालका प्रश्न पनि उठ्ने गरेका छन्। यी प्रश्न आफैँमा आंशिक उत्तर पनि हुन् भन्ने मेरो ठम्याइ छ।

जिल्लाका केही घरधुरीमा अझै पनि चर्पी नभएका हुन सक्छन्। हाम्रा संस्कार र चेतनाका केही सीमाहरू पनि छन्। जनतालाई पानीको पर्याप्त सुविधा पुर्‍याउने हाम्रो लक्ष्य पूर्णतः हासिल भइसकेको छैन।

बसाइसराइ, अंशबन्डा र नयाँ घर बन्ने क्रममा तत्काल व्यवस्थित चर्पी निर्माण गर्न नसकिने केही बाध्यात्मक अवस्था पनि रहन्छ। मेलापात, घाँस–दाउरा गर्ने क्रममा सबै स्थान सार्वजनिक शौचालयको व्यवस्था नहुँदा पनि केही समस्या पैदा भएका छन्। तर, यिनै कारणलाई देखाएर हामी गन्तव्यमा उभिने कि लक्ष्य प्राप्तिका लागि चुनौतीलाई स्वीकार गर्दै अगाडि बढ्ने? खुला दिसामुक्त राष्ट्र घोषणा गरेपछि चर्पी निर्माणको औचित्य सकिँदैन, सार्वजनिक शौचालय निर्माणको हाम्रो रफ्तार घट्दैन। बरु, नैतिक, सामाजिक र व्यवहारिक दृष्टिले त्यो गुणात्मक रूपमा बढ्न जान्छ।

सुन्दर, शान्त, समृद्ध नेपालको विश्वव्यापी परिचयको महत्त्वपूर्ण खुड्किलो हो, दिगो विकास लक्ष्य हासिल गर्ने एउटा गुरुत्वपूर्ण आयाम हो, अनि पूर्ण सरसफाइ युक्त नेपाल बनाउने लक्ष्यको बलियो सारथि पनि। यस अर्थमा खुला दिसामुक्त राष्ट्र घोषणालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को घोषित लक्ष्य हासिल गर्ने एउटा बृहत्तर अभियानको थालनी र राष्ट्रिय संकल्प हासिल गर्ने बलियो कडीका रूपमा लिनुपर्छ भन्ने हाम्रो मान्यता छ।

यसले राज्य र सामाजिक क्षेत्रका अगुवाहरूमा सामाजिक प्रतिष्ठा कायम राख्ने र श्रेष्ठता हासिल गर्ने प्रतिस्पर्धात्मक परिस्थिति सिर्जना गर्दछ। यसर्थ, खुला दिसामुक्त राष्ट्र घोषणाले आंशिक रूपमा पूर्ण हुन बाँकी रहेका कार्यका लागि पनि सरकार, समाज र नागरिकलाई अघि बढ्न थप प्रेरणा र दबाब सिर्जना गर्दछ भन्ने तथ्य हामीले बिर्सन मिल्दैन।

खुला दिसामुक्त अभियान एउटा राष्ट्रिय संकल्प हो, राष्ट्रिय जागरणको अभियान हो। यसलाई घर र सार्वजनिक स्थानमा शौचालय निर्माणको परिभाषाभित्र मात्रै सीमित राख्नु हुँदैन। यो त मानव सभ्यता, आधुनिक र समुन्नत संस्कार निर्माण, राष्ट्रिय जागरण र स्वच्छ एवं हराभरा नेपालको एउटा बृहत्तर अभियान हो।

सुन्दर, शान्त, समृद्ध नेपालको विश्वव्यापी परिचयको महत्त्वपूर्ण खुड्किलो हो, दिगो विकास लक्ष्य हासिल गर्ने एउटा गुरुत्वपूर्ण आयाम हो, अनि पूर्ण सरसफाइ युक्त नेपाल बनाउने लक्ष्यको बलियो सारथि पनि। यस अर्थमा खुला दिसामुक्त राष्ट्र घोषणालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को घोषित लक्ष्य हासिल गर्ने एउटा बृहत्तर अभियानको थालनी र राष्ट्रिय संकल्प हासिल गर्ने बलियो कडीका रूपमा लिनुपर्छ भन्ने हाम्रो मान्यता छ।

आजबाट नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भएको छ। यो गौरवपूर्ण घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्वच्छ र सुन्दर नेपाल निर्माण गर्नु हामी सबैको दायित्व हो।

यसका लागि सरकार र मन्त्रालयका तर्फबाट ठोस गुरुयोजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस महाअभियानमा हातेमालो गर्दै समृद्ध र स्वच्छ नेपाल निर्माणको राष्ट्रिय संकल्पमा सहभागी हुन सम्पूर्ण राजनीतिकर्मी, समाजसेवी, बुद्धिजीवी, पेशाकर्मी, राष्ट्रसेवक कर्मचारी, मजदुर, किसान, विद्यार्थी, अभिभावक, सामाजिक संघ-संस्था एवं सम्पूर्ण नेपालीमा हार्दिक आह्वान गर्दछु।

('खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल' घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.