|

काठमाडौं :  कन्चनपुरका नवराज कलाउनी नामबाट चर्चित बन्न संघर्षरत छन्। सुदूरपश्चिम भेगका मौलिक शब्द र भाव बोकेका गीतलाई फ्युजन गरेर अहिलेका पुस्तालाई सुनाएका छन्।

उनका गीतहरु न पुरै मौलिक छन् न त आधुनिक। पुराना गीतलाई केही मोडीफाई गरेर नयाँ पुस्ता माझ पुर्‍याउन यसो गरेको बताउँछन् उनी। पुरानै गीतभन्दा पनि समयानुकूल परिमार्जन गरेका गीतहरु नयाँ पुस्ताले रुचाउने देखेपछि उनले गीतमा नयाँ प्रयोग गरे। सुदूरपश्चिमको मौलिक संस्कृतिको पुस्तान्तरण र राष्ट्रियकरणसँगै आधुनिक, लोकपप,लोक विधाका गीत पनि गाएका छन् उनले।

बेहुलो सिपाही, साली भनौंला, बम्बैको लाहुरे, मन ढुंगो, दर्किने पानी ,चक्करीलगायत उनका दर्जनौं सिर्जनाहरु सुन्न र हेर्न सकिन्छ। सिर्जना यस अर्थमा कि उनी गीत मात्रै गाउँदैनन् मीठो रचना र संगीत पनि गर्छन्। उनले पछिल्लो समय चलेका केही गीतमा र्‍यापका शब्द समेत लेखेका छन्। युट्युबमा राखिएका उनका गीतले लाखौं भ्यु पाएका छन्। नामसँगै केही दाम पनि कमाउन थालेका छन्। 

स्थानीय स्तरमा अध्ययन र काममा ब्यस्त थिए उनी। निम्न वर्गीय परिवारमा जन्मिएका नवराज अपाङ्ग बाल अस्पताल तथा अपाङ्गता केन्द्रमा कमाएको पैसाले घरपरिवारसँगै आफ्नो जीवन सहज पार्न खोज्दै थिए। त्योभन्दा पहिले उनले स्कुलमा पढाउँथे। बाल्यकालदेखि नै गीत संगीत भनेपछि हुरुक्क हुने उनी स्नातक तहको पढाइ पूरा गरे पनि उक्त केन्द्रको स्थायी जागिरलाई समेत बिट मारेर काठमाडौं हान्निए।

अनि सुरु भयो स्नातोकत्तर तहको पढाइसँगै गीत संगीतको संघर्षमय यात्रा। शाारीरिक रुपमा अपाङ्गता भएका कारण जिल्लादेखि नै काम,पढाइ र गीत संगीतमा थप संघर्ष गर्दै आएका उनका दुःखको भारी काठमाडौं आएपछि दोब्बर भयो। पहिलो गीत मन ढुंगो रेकर्ड गर्न खोज्दा गीतमा स्वर पुर्‍याउन नसकेपछि साधनाको खाँचो पर्दो रहेछ भन्ने कुरा बुझे उनले। साधना कला केन्द्र, राष्ट्रिय नाचघर र आरम्भ म्युजिक स्टुडियोमा तीन वर्ष संगीत सिकेपछि बल्ल गीत रेकर्ड गरे। आत्मासन्तुष्टिको लागि पहिलो गीत रेकर्ड गरिसकेपछि आफ्नो बाल्यकालदेखिको सपना पूरा भएकोमा उनी निकै भावुक बने।

उनले सोचे– म अब मरे पनि आत्माले शान्ति पाउँछ। मैले पनि गीत गाउन सक्छु, गीत गाएको छु भन्ने प्रमाणस्वरुप नेपाली सांगीतिक आकाशमा मेरो नाम अनन्तकालसम्म रहन्छ। चिने जानेकाहरुबाट पहिलो गीत मन ढुंगोको प्रसंसा पाएपछि उनी झन् हौसिए। अन्य गीतहरु पनि रेकर्ड गराउने क्रम शुरु हुन थाल्यो। त्यसपछि गीत गाउन देशका धेरैजसो ठाउँ र विदेशसमेत पुगेका छन् उनी। त्रिभुवन विश्वविद्यालयको त्रिवि केन्द्रीय क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातोकत्तर गरेर राजनीतिक शास्त्रमा पनि स्नातोकत्तर तह अध्ययन गरिरहेका छन्। पोलियोका कारण शारिरिक अपांगताका बाबजुद गीत,संगीत र अध्ययनमा संघर्षरत नवराज अविवाहित छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.