|

काठमाडौं : लोकरक ब्याण्ड नेपथ्यको सर्वकालिक हिट गीत ‘लाम्पाते सुरति’ अब युट्युबमा उपलब्ध भएको छ।

स्थापना कालमा ‘पप संगीत’ बाट सुरुभएको ब्याण्ड नेपथ्यलाई नयाँ पहिचानसहित ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’ मै समेटिएको यो गीतमा पोखरेली सर्जक सरुभक्तका शब्दहरू अटाएका छन्।

‘आज भोलि के भयो के भयो

कसले कसले स्वाट्ट यो मन छोयो

खान्न म त लाम्पाते सुरति

लाउँ कि नलाउँ जुग जाने पिरती’

उक्त अल्बमको शीर्ष गीत ‘रेशम’ सर्वाधिक चर्चामा आए तापनि धेरै श्रोता ‘लाम्पाते सुरति’ लाई अब्बल ठहर गर्छन्। ‘नेपथ्यको पाँचवटा सर्वोत्कृष्ठ गीतको सूची तयार पार्नुपरेमा म एकदेखि पाँचसम्मै लाम्पाते सुरतिलाई राख्छु’, अहिलेका अर्का चर्चित लेखक कुमार नगरकोटी भन्छन्, ‘त्यसपछि छैठौंबाट मात्र मेरा निम्ति नेपथ्यका अन्य राम्रा गीतको गणना सुरु हुन्छ।’

यो गीतलाई पोखराका गन्धर्वहरूले भाका हालेर अलिक बेग्लै पाराले गाउँदै आएको हुनाले आफूले केटाकेटी उमेरमै सुनेको गायक अमृत गुरुङ बताउँछन्। ‘त्यसै भाकालाई माटेपानीको जग्गु भनिने ईश्वर गुरुङ दाइले गितारको धुनमा मिसाएर असाध्यै मिठोसँग सुनाएका थिए,’ अमृतले सम्झे, ‘तर, त्यसका शब्दहरूले मलाई छोएन।’

अमृतका अनुसार त्यतिबेला गीतको शब्द थियो–  

‘घर त मेरो पातीले बारेको

रक्सी मिठो ङोल्स्योले पारेको

खान्न म त लाम्पाते सुरति

लाउँ कि नलाउँ जुग जाने पिरती’

धुन मिठो भइकन पनि गीतको शब्द उति मन नपरेपछि त्यसैलाई लिएर पोखराकै लेखक सरुभक्त कहाँ गएको जसबाट यस गीतको सुन्दर रुपान्तरण हुन पुगेको अमृत सुनाउँछन्। ‘दाइले नयाँ शब्द तयार पारेपछि यो गीतै झलमल्ल बलेजस्तो भयो,’ अमृत भन्छन्, ‘त्यसको लगत्तै रेशम एल्बमको तयारीका क्रममा यसको रेकर्डिङ पनि थालिहालेका थियौं।’

‘रेशम’ एल्बमको शीर्ष गीत को भिडियो उतिबेलै तयार भएर अत्यधिक लोकप्रियता हासिल गरेको थियो। त्यसै एल्बमको यो अर्को चर्चित गीतले भने लगभग दुइ दसकपछि भर्खरै मात्र श्रब्यदृश्यमा आउन पाएको छ।

संसारभर ब्याण्डहरूले आफ्ना चलेका गीतहरूलाई ‘लाइभ रेकर्ड’ गरेर श्रब्यदृश्य संस्करण पुनः सार्वजनिक गर्ने प्रचलन अनुसारै यसलाई पनि तयार पारिएको हो। गत वर्ष नेपथ्यले ‘नेपाल टुर’ गर्दाको संग्रहबाटै यो भिडियो तयार पारिएको हो। लाइभ कार्यक्रममा आधारित यस भिडियोले गायक अमृत गुरुङको दर्शकसँग सम्वाद गर्ने मौलिक शैलीलाई पनि समेटेको छ।

‘प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति मिलोस् भनेर सक्दो प्रयास गरेका छौं,’ नेपथ्यलाई प्रवद्र्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्। हिजोआज सांगीतिक एल्बमको प्रचलनले अर्थ गुमाउँदै गएको अवस्थामा नेपालयले यसका प्रत्येक सिर्जनाहरू आइट्युन, गुगलप्ले र स्पोटिफाइजस्ता ‘भर्चुअल स्टोर’ हरूका माध्यमबाट सार्वजनिक गर्दै आएको छ।त्यसबाहेक ब्याण्ड र उसका श्रोतालाई नजिक्याउन युट्युब पनि एक प्रभावकारी माध्यम बन्दै गएको छ।

नेपथ्यले उसका जे जति गीतहरू आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेको छ। ती सबैलाई श्रोता-दर्शकले अत्यधिक मनपराएको पाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.