राष्ट्रिय गौरवको आयोजना बनाउन तीन जिल्ला संसदको माग

|

उदयपुरः  ६३५ मेघावटको दूधकोशी आयोजनाले तीन जिल्लाका साढे ११ सय  घरधुरी विस्थापित गर्ने भएको छ। प्रदेश १ मा पर्ने खोटाङ, ओखलढुंगा र सोलुखम्बुकोबीचमा पर्ने दुधकोशी नदीको तटिय क्षेत्रका वस्ति विस्थापित गर्ने भएको हो।

नेपाल विद्युत् प्राधिकरण, इन्जिनीयरिङ सेवा निर्देशनालयले तयार गरेको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) मा यस्तो देखाइएको हो। प्रतिवेदनका अनुसार ११ सय ५० घरधुरीमध्ये १६२ घर पूर्णरुपमा क्षति पुग्ने जनाइएको छ।

प्रतिवेदनका अनुसार खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेस्थित रभुँवाघाटबाट उत्पादन गर्न लागिएको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट खोटाङको ६५७, ओखलढुंगाको ४७९ र सोलुखुम्बुको १४ घरधुरी गरी ११ सय ५० घरधुरी स्थानीयवासी प्रभावित हुने उल्लेख गरिएको छ।

यस्तो छ,आयोजनाबाट प्रभावित क्षति
प्रतिवेदनका अनुसार दुई खर्ब २० अर्ब रुपैँयाको लगानीमा बन्न लागेको ६३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना हो। आयोजना प्रमुख वसन्तध्वज श्रेष्ठ अनुसार उक्त आयोजनाबाट दुई लघु जलविद्युत् आयोजना, एउटा साना जलविद्युत् आयोजना, छ वटा हिन्दू मन्दिर र चार वटा विश्रामस्थल, 
दुई वटा पक्की तथा १२ वटा झोलुङ्गे पुलमा क्षति पुग्ने छ।

२२० मिटर अग्लो बाँध बन्ने १९ किलोमिटर क्षेत्रफलमा फैलने जलाशययुक्त जलविद्युत् आयोजनाबाट सात लाख १० हजार १० वर्गमिटर खेतीयोग्य जमिनमा क्षति पुर्‍याउने छ।

प्रमुख श्रेष्ठले तीन हजार तीनसय २० वर्गमिटर क्षेत्रफल जमिनमा लगाइएको फलफूलको बगैँचा, ४६ लाख ८६ हजार ७२९ वर्गमिटर क्षेत्रफलको  सिँञ्चित धान फल्ने खेतमा पनि क्षति पुग्ने देखाएको छ। यसैगरी १० लाख २२ हजार आठसय ७० वगमिटर पाखोबारी, एक हजार २२२ वगमिटर क्षेत्रफल रहेको माछा मार्ने ठाउँ, एक लाख ५५ हजार चारसय ४३ वर्गमिटर निजी वन र ३४ हजार तीनसय २१ वगमिटर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा क्षति पुग्ने प्रतिवेदनमा उल्लेख गरिएको जानकारी दिइएको छ। 

मंसिर भित्र डिपिआर तयार हुने
आगामी मंसिर महिनाभित्रै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को बन्ने भएको आयोजना प्रमुख श्रेष्ठले बताए। ‘डिपिआरको काम पनि अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘आगामी कात्तिक अन्तिम तथा मङ्सिर पहिलो हप्ताभित्र डिपिआरको सकिन्छ।’

अहिलेसम्म सम्भावित अध्ययन प्रतिवेदन तयार भएको भन्दै प्रमुख श्रेष्ठले विस्तृत ढाँचाको मस्यौदा, बोलपत्रको मस्यौदा प्राप्त भएको, विज्ञ समूहबाट पुनरोवलोकन भएर सुझाव प्राप्त भइसकेको जानकारी दिए।

तीस महीनामा पूरा गर्ने गरी इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएशन विथ न्युजेक नामक कम्पनीले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनीयरिङ डिजाइन, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम सुरु गरेको थियो।

लामीडाँडाको रभुँवाघाटमा बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव पाँच किलोमिटर लामो सुरुङमार्फत धितुङमा पानी खसाएर विद्युत् उत्पादन गर्ने तयारी गरिएको जानकारी दिइएको छ।

राष्ट्रिय गौरवको आयोजना बनाउन तीन जिल्ला संसदको माग
६३५ मेघावट उत्पादन हुने दुधकोशी जलशाययुक्त आयोजनलाई खोटाङ, ओखलढुंगा र सोलुखम्बुका संसदहरुले राष्ट्रिय आयोजना बनाउन माग गरेका छन। 
खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले ऊर्जामन्त्री पुनलाई भेटेर दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजना समावेश गर्न माग गरेको बताए। ‘मैले सरकारले प्राथमिकतामै राखेको पाएको छु,’ उनले भने, ‘दातृ निकायको हकमा पनि एशियाली विकास बैंक (एडिबी)लाई नै लगानी गर्न प्रस्ताव गर्ने प्रतिबद्धता उर्जामन्त्रालयबाट पाएको छु।’
खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका सांसदले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेर आयोजनाको हालसम्मको प्रगति, कामको समीक्षा तथा भावी दिनमा गर्नुपर्ने कामका बारेमा जानकारी गराउँदै दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग गरेका हुन् ।

नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि सारेका २१  आयोजनामध्ये तीनवटा जलविद्युत् आयोजनालाई समावेश गरे पनि दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनालाई छुटाएकाले मन्त्री पुनको ध्यानाकर्षण गराइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.