|

तनहुँ : भूकम्प गएको चार वर्ष बितिसक्दा पनि तनहुँको पीडित लाभग्राहीको घर बन्न सकेको छैन। भूकम्पले घरबास नै उठाएपछि सरकारले दिने राहतको आशामा घर बनाउने सपना सजाएका उनीहरूको नयाँ घरमा बस्ने र दशैंको टिका लगाउने सपना पुरा हुन सकेको छैन। अति जोखिम वर्गका एकल महिला, वृद्धा, अशक्त, अपांगता भएका लाभग्राहीमा पर्छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्कवाका पुड्कबहादुर विकले नयाँ घरमा बसेर टिका लगाउने सपना अधुरो रहेको बताए। ‘भूकम्प पीडितको नामावलीमा आफ्नो पनि समावेश भएपछि लडेको घर बन्ने आशा पलाएको थियो, तर चार वर्ष बितिसक्दासमेत घर अझै सम्पन्न हुन सकेको छैन, यस्तो समस्याका बारेमा कसैले बुझन् नसक्दा घर बन्न सकेको छैन, टहरामै बस्न बाध्य छौं,’ उनले भने ‘हामीलाई न दशैं न कुनै खुशी हुन्छ, टहरमा बस्न बाध्य छौं, केही गर्न खुशी कसरी हुन सक्नु ?’ उनले प्रश्न गरे गरीब र हामी जस्ता दुखीको कोही छैनन् समस्या बुझिदिने। 

‘कसैसँग पैसा छैन, कतिपयको रकम भएर पनि हेरचाह गरिदिने, पसलबाट सामान किनेर ल्याइदिने मान्छे छैनन्, मद्दत गर्ने कोही नहुँदा उनीहरूको नयाँ घरमा बस्ने सपना अधुरो नै छ,’ इकाइकी कम्प्युटर अपरेटर मनुमाया आले भनिन्। यस्ता धेरै लाभग्राहीहरू नयाँ बन्ने अपेक्षा गर्दै बसेका छन्।

तर, लामो समय बितिसक्दा पनि घर बनाउन नसक्दा उनीहरूले सरकारले बनाइदिन्छ भन्ने आश मरेको बताउँछन्। अनुगमन गर्न, टिपोट गरेर लगेपनि घर नबन्दा यहाँका लाभग्राहीहरू चिन्तित छन्। केहीले भने यस सम्बन्धी आवाज उठाउन नसकेर बस्न समेत बाध्य छन्।

भूकम्पबाट प्रभावित लाभग्राहीहरू अहिले अन्यौलमा रहेका छन्। जिल्लाका ५५४ जना जोखिम लाभग्राहीको घर बन्न नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का सूचना अधिकारी सूर्यप्रसाद शर्माले जानकारी दिए। तनहुँ सहित गोरखा, लमजुङ जिल्लाका विभिन्न गैरसरकारी संस्थाहरूले मद्दत गरी घर बनाई दिने गरेतापनि यहाँका भने बन्न नसेको शर्माले बताए।

‘नेपाल सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा तनहुँ नपरेकोले त्यस्ता लाभग्राहीलाई मद्दत गरिदिने गैरसरकारी संस्थाहरू आउन सकेनन्,’ उनले भने। स्थानीय तहसँग समन्वय गरी उनीहरू घर बनाउन पहल कदमी भइरहेको सूचना अधिकारी शर्माले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.