|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबैले अग्रसर हुनुपर्ने बताएका छन्।

वडादशैंको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेपालीहरू राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराएका छन्। ‘यस यात्रामा हामीले समृद्धिसँगै समाजलाई सभ्य, शान्तिपूर्ण, मानवतापूर्ण, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजका रूपमा विकास पनि गर्नुछ। यसमा हामी सबैको ध्यान जान उत्तिकै जरुरी छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानका छौँ। यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस्।‘

प्रधानमन्त्री ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता, सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्। सन्देशमा प्रधानमन्त्री ओलीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्न नहुने कुरामा विशेष जोड दिएका छन्। ‘छिमेकीलाई प्रतिकूल असर नपरोस् भनेर ध्यान दिने, परिवार, छिमेक र आफन्तमा आपसमा स्नेह, माया ममता र सद्भाव फैलियोस् भन्ने तर्फ सबैको ध्यान हुनु जरुरी छ। यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ’, प्रधानमन्त्रीले आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले चाडहरू बढी खर्चालु नबनाउन सबैलाई आग्रह गरेका छन्। ‘हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ। यसमा पनि ध्यान दिन जरुरी छ’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हामी नेपालीहरुको महान र परम्परागत चाड वडादशैंका उपलक्ष्यमा  देशभित्र र देश बाहिर रहनुभएका सबै दाजुभाई दिदीबहिनीहरुमा हार्दिक एवं मंगलमय  शुभकामना व्यक्त गर्दछु।‘

प्रधानमन्त्री ओलीले दशैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड भएको उल्लेख गरेका छन्। ‘दशैं आफन्तहरूको बीचमा, छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकताका साथ मनाइने चाड हो’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘यो चाड आफूभन्दा ठूलाहरूबाट आशीर्वाद लिने सानाहरूलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड हो। यस चाडलाई सकेसम्म भव्यताका साथ मनाऔँ। भव्यताका साथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलनहरूलाई तोड्दै जानुपर्ने पनि आवश्यकता छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.