|

भक्तपुर : भक्तपुरको ऐतिहासिक र धार्मिक महत्व बोकेको तान्त्रिक नाच नवदुर्गा देवगणको ख्वापा (मुकुण्डो) तयार भएको छ। भक्तपुर याछेंका ७५ वर्षीय पूर्ण चित्रकारले तीन महिनाको अथक प्रयासपछि नवदुर्गा देवगणको १३ वटा ख्वापा तयार गरेका हुन्।

ख्वापा तयार भएपछि महानवमीको अवसर पारेर सोमबार प्रदर्शन गरिएको थियो। तयार भएको ख्वापा देवगण बन्ने गाथा (वनमाला)को समूहले परम्परागत पूजासहित लिन आउने परम्परा रहेको छ।

ख्वापा नभए नवदुर्गा नाच समेत प्रभावित हुन्छ। प्रत्येक वर्ष नयाँ बनाउनु पर्ने ख्वापा तयार नभए नवदुर्गा नाचसमेत प्रभावित हुन्छ। विजयादशमीको दिन नवदुर्गा देवगणले सिद्धि प्राप्त नगरे भक्तपुरको बडादशैं अपूर्ण हुने र यसले भक्तपुर नगरका साथै उपत्यकाको विभिन्न स्थानको सांस्कृतिक जीवनसमेत प्रभावित हुने संस्कृतिविदहरूको भनाइ छ। ख्वापा बनाउने कार्यको शुभारम्भ घण्टाकर्ण चतुर्दशीका दिन गरिन्छ।

यसरी बन्छ मुकुण्डो

नवदुर्गाको ख्वापा बनाउन ‘बोचा’भनिने विशेष किसिमको माटो प्रयोग हुन्छ। सुकाएको माटोलाई धूलो पार्नेगरी कुटेपछि त्यसलाई मैदा र पानीको माडमा मुछिन्छ। मुछिएको माटोलाई डल्ला डल्ला बनाई राखिन्छ। सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाउनु पर्छ। अनिमात्र मकुण्डो बनाउने कार्य शुरु हुने चित्रकार पूर्णले बताए। ‘ख्वापा बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनु पर्छ। एउटा मुकुण्डो सुकाउन कम्तिमा दुई हप्ता लाग्छ,’ उनले भने।

ख्वापा बनाउन बोचासहित विभिन्न किसिमका ढुङगाबाट बनेको रङग, सुन, मैदा, मटितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायतका सामग्री आवश्यक पर्दछ। हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदारसमेत पाउन मुस्किल रहेको चित्रकार पुर्ण बताए।

तन्त्र प्रधान र गोप्य विधि

नवदुर्गा देवगणको नाच मात्र होईन यसको ख्वापा निर्माणदेखी सिद्ध प्राप्तीसम्मको कार्यमा समेत तान्त्रिक विधि विधानअनुरूप पूजा गरिन्छ। मुकुण्डो बनाउने माटो लिन समेत साईत हेर्नुपर्छ भने ल्याएको माटोलाई समेत बाजागाजासहितको टोलीले पूजा गर्नुपर्ने परम्परा रहेको चित्रकार पूर्णले जानकारी दिए।

तन्त्र विद्या प्रधान नाच भएका कारण यसको ख्वापा निर्माण गरेको दृष्य जो कोहीले हेर्न नहुने परम्परा रहेको चित्रकार पुर्णले बताए। ख्वापालाई अन्तिम रूप दिने क्रमका केही सिप अझै गोप्य रहेको र सो सिप आफूसँग मात्र  रहेको उनले बताए। उनलाई पनि काका विष्णुबहादुर चित्रकारले गोप्य तरिकाले ती सिप सिकाएको हो।

नवदुर्गाको ख्वापा बनाउने कार्यको गोपनियताका लागि केही वर्ष अघिसम्म सञ्चारकर्मीहरुलाई समेत तस्विर खिच्न मनाही थियो। ‘अचेल समयले केही खुकुलो बनाउँदै लगेको छु। खास सिप आफुसँग राखेर अरू धेरै कुरा खुल्ला गरेको छु,’ उनले भने ‘धेरै गोप्य बनाउँदा ख्वापा बनाउने काम र यसको प्रयोग हुने जात्रा नै संकटमा पर्नसक्ने भएकाले पनि केही खुकुलो बनाएको हुँ’

२५ लाखको अक्षय कोष

नवदुर्गा देवगणको १३ वटा ख्वापा बनाउन यसवर्ष करिव ३ लाख खर्च भएको पुर्णले जानकारी दिए। ख्वापा तयार गर्न सबैभन्दा बढी कालिगढको ज्यालामा नै खर्च हुने गरेको र यसको रंगरोगनमा पनि उत्तिकै खर्च हुने गरेको उनले बताए।

खर्च व्यवस्थापनको लागि पुर्णले २०३६ सालदेखी अनेक समस्या झेल्दै आएको बताउँछन। उनका अनुसार २०३६ सालमा मुकुण्डो बनाउन गुठी संस्थानबाट वार्षिक ६ सय चार रुपैयाँ सहयोग गरेको थियो। त्यो रकम बढेर २०४५ सालमा ५ हजार, २०६८ सालदेखी १५ हजार दिन थालेको छ। त्यसैगरी केही वर्षदेखि संस्कृति मन्त्रालयले वार्षिक ५० हजार दिन थालेको छ। नपुग अन्य रकम सहयोगी आफन्त साथीभाइसँग सहयोग लिनेगरेको उनले बताए।

गतवर्ष ख्वापा निर्माणको खर्च जोहो गर्न अक्षय कोष समेत स्थापना गरिएको छ। कोषमा २५ लाख नगद जम्मा भइसकेको छ। नवदुर्गा नाचप्रति सद्भाव राख्ने समूहले श्री नवदुर्गा भवानी मुकुण्डो निर्माण अक्षयकोष व्यवस्थापन समिति गठन गरी बनेपा, धुलिखेल, पनौती, जयबागेश्वरीलगायतका क्षेत्रका बासिन्दाको समेत सहयोगमा १५ लाख जम्मा गरिएको र सो कोषमा गतवर्ष नगरपालिकाले १० लाख थप गरेको उनले बताए।

नवदुर्गा देवगण नाच तान्त्रिक विधिविधान मात्र नभएर मानविय जीवनमा गरिने सबै संस्कारयुक्त भावप्रधानयुक्त नाच हो। जसमा बोलेर भन्दा पनि निश्चित भाव संकेतद्वारा संवाद प्रस्तुत गरिन्छ। नेवार समुदायमा झल्किने शक्तिशाली पारिवारिक अनुशरणको संकेत यो नाचमा प्रस्तुत गरिएको हुन्छ। 

‘विषेशतः यो नाचले मल्लकालिन समयको संयुक्त परिवारलाई पनि इंगित गरेको छ,’ इतिहासविद एवं संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भने, ‘समाजमा घरमुली (नंकी)को दायित्व र महत्वसँगै तीनको भूमिकालाई हरेक दृष्टिले उच्च स्थानमा राखेको हुन्छ। यसमा नकींले १८ जना गण सदस्यहरुलाई नवदुर्गा देवगृहमा भित्र्याउनेदेखि लिएर निस्कासित गर्ने सम्मको भूमिका निभाइन्छ।’ नेवार समुदायमा र संस्कारमा नंकी प्रधान भन्ने सन्देश नवदुर्गा देवगण नाचले दिने गरेको प्रा. डा. श्रेष्ठको भनाइ छ।

मुख्यतया नगदुर्गा देवगणमा बाजागाजासहित १९ जनाको समूह हुन्छ। जसमध्ये १३ जना विभिन्न देवी देवताहरु हुन्छ। नगदुर्गा देवगणमा काठको सानो मन्दिर हुन्छ जसलाई सिफोद्यः (महालक्ष्मी को प्रतिक) भनिन्छ। यो नाचमा देवगणले भैरव(कालभैरव) १, महाकाली १, बाराही १, ब्रम्हायणी १, महेश्वरी १, कुमारी १, वैष्णवी १, ईन्द्रायणी १, गणेश १, महादेव १, श्वेतभैरव १, सिम्ह दुम्ह (नन्दी भृंगी) २ गरी १३ वटा मुकुण्डो प्रयोग गरी नाच प्रदर्शन गरिन्छ भने खिं बाजा, तः बाजा, कायँःबाजा, महापात्र र नकींगरी १९ जनाको समूह हुन्छ। त्यसमा अन्य सहयोगीहरु समेत थप हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.