टीका लगाउन जानेलाई सास्ती

|

म्याग्दी  : सबैतिर दशैंको उल्लास। आफन्त र मान्यजनकहाँ टीका थाप्न जानेको भीड। सबैलाई हतारै हतार।सवै खुसी, चारैतिर उमङ्ग र सबै दङ्ग। तर म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका वासिन्दालाई भने दशैंको रौनकले छोएन।

बरु दशैंको दिनमा परेका भीषण असिना र पानीले खेतमा थन्काउने अवस्थामा पुगेको धानबाली नष्ट गरिदिए पछि किसानहरू निराश र चिन्तित बनेका छन्।ज्यामरुककोटका विभिन्न ठाउँमा मंगलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षती पुर्‍याएको छ।

बेनपा २ को सानालेक, भकुण्डे, गौश्वारा, फापरखेत लगायतका क्षेत्रका खेतमा लगाइएको धानबाली असिनाले चुटेर क्षति पुर्‍याएको हो। पाकेर भित्र्याउने बेला भएको धानबाली असिनाले नष्ट गरेपछि कृषक निराश भएका छन्। 

८० प्रतिशत धान असिनाले चुटेर भुँइमा झारेको वडा अध्यक्ष हिराबहादुर थापाले बताए। ‘हावा हुरीसहित आएको असिनाले बालाको धान झारेर सखाप बनाएको छ’, थापाले भने, ‘सबै ठाउँमा पुगेर क्षतिको विवरण संकलन गर्दैछौ‌ं।’

ज्यामरुककोट धानबालीको पकेट क्षेत्र हो। धानका साथै तरकारी र अन्य फलफूलमा पनि असिनाले क्षति पुर्‍याएको छ। 

मंगलबार दिउँसो २ बजेदेखि करिब तीन घण्टासम्म लगातार भएको भीषण वर्षाका कारण म्याग्दीवासीको दशैं खल्लो भएको छ। आफन्त कहाँ टीका थाप्न हिडेकाहरू खोला तर्न नसकेपछि अलपत्र परेका छन् भने सवारी साधन पनि बाटोमा बाढी र पहिरोका कारण गन्तव्यसम्म पुग्न सकेका छैनन्। आफन्त कहाँ दशैंमा टिका र आशीर्वाद थाप्न जान हिँडेका सर्वसाधारण वर्षापछि विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा समस्यामा परेका हुन्। 

खोल्सामा आएको बाढी र पहिरो तथा हिलोका कारण बेनी-बरंजा, बेनी-भकिम्ली, बेनी-दरवाङ, बेनी-पाखापानी, सिमलचौर-कुहुँ, बेनी-भगवती, बेनी-जोमसोम सडकमा यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको हो। 

ग्रामीण सडकहरू अवरुद्ध भएपछि सर्वसाधारणले सास्ती खेप्न वाध्य भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.