|
फाइल फोटो

नवलपरासी : नवलपरासी पूर्वनवलपुरमा रहेका दुइटा सहकारीले मात्रै बडादशैंमा दुई करोड ५० लाख रुपैयाँ बराबरको खसीबोका बिक्री गरेका छन्।

गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको संकलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो। हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैंमा मात्रै दुई करोड ३० लाख रूपैयाँको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ। सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमा किसानबाट संकलित खसीबोका बिक्री गरिएको थियो।

बडादशैं शुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताइन्। गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट संकलित खसीबोका बिक्री गरिएको उनले बताइन्। संकलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौंका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताइन। उनका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ। त्यसपछि पोखरा, काठमाडौं र स्थानीय बजारमा खपत भएको उनले बताइन्।

सहकारीले सामान्य मुनाफा राखेर विगत पाँच वर्षदेखि कृषकबाट संकलित खसीबोका बिक्री गर्दै आएको छ। यसले कृषकले उत्पादन गरेका खसीबोकाले सहजरुपमा बजार प्राप्त गरेका छन् भने मूल्यमा ठगिनबाट जोगिएका छन्।

नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले समेत २० लाख बराबरको खसीबोका बिक्री गरेको छ। सहकारीले बडादशैं लक्षित गरेर थालेको खसीबोका बिक्रीबाट २० लाख भित्राएको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष मञ्जु खनालले बताइन्।

उनका अनुसार सहकारीले जिउँदो खसीको मासु प्रतिकिलोग्राम ४६० रुपैयाँमा बिक्री गरिएको छ। किसानबाट ४५० रुपैयाँमा खरीद गरी १० रुपैयाँ मात्र मुनाफा राखेर बिक्री वितरण गरिरको सहकारी अध्यक्ष खनालले बताइन्।

यस्तै, मध्यबिन्दु नगरपालिका–१२, तमासपुरस्थित अरुण ज्योति सामाजिक महिला उद्यमी सहकारीले पनि बडादशैंमा कृषकबाट खसीबोका सङ्कलन गरी बिक्री गरेका छ। सहकारीले संकलन केन्द्र स्थापना गरी कृषकबाट खसीबोका संकलन गरेर बिक्री गर्न थालेसँगै बाख्रापालन गर्ने कृषकलाई बजारीकरणको लागि सहजता भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.