|

कञ्चनपुर  : उमेरले ९० वर्ष पुगे पनि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका कल्छु चौधरी तन्नेरी झैँ सधैं काँधमा तरकारीको झोला बोकेर बेच्दै हिँड्छन्। तरकारी खेतीका लागि बारी खन्ने, विरुवा रोप्ने र स्याहार्ने कार्यमा पनि त्यतिकै खटिने गरेका छन्।

बाँसको डण्डाको दुवैतर्फ झोला झुण्डाइ काँधमा राखेर फलेको तरकारी घरघरमा पुगेर उनले बेच्दै आएका छन्। साँझ पख बारीमा फलेको तरकारी टिपेर झोलामा ठिक्क पारेर राखेर बिहानीको झिसमिसेमै तरकारी लिएर ग्राहक खोज्दै हिँड्नु उनको दिनचर्या नै हो।

यसरी तरकारी बेच्दै आएको २५ वर्ष बितेको छ। पाँच कट्टा जग्गामा मौसम अनुसारको तरकारी उनले उत्पादन गर्दै आएका छन्। श्रीमतीले समेत उनीसँगै तरकारी रोप्नेदेखि हेरचाहको काम गर्छिन।

'दुवैजनाले मिलेर उत्पादन गरेको तरकारी बेच्न मनै जाने गरेको छु' उनले भने, ‘आफैँ आत्मनिर्भर भए अरूसँग हात थाप्नु पर्दैन। त्यसैले पाखुरी खियाएर रात दिन काम गर्छौं।’ दैनिक तरकारी बेचेर पाँच सय रुपैयाँदेखि सात सयसम्म आम्दानी हुने गरेको उनले बताए।

तरकारी खेतीबाट आएको आम्दानी औषधोमुलो, साँझ बिहानको चिया खर्च र लुगा फाटोमा खर्च गरी बचेको रकमले वर्षमा एकपटक तीर्थाटनका लागि उनले जम्मा गर्दै आएका छन्।

'आफैँले पौरख गरेर खाने हो' उनले भने, 'अहिलेसम्म कसैबाट एक पैसा मागेको छैन। छोरालाई आवश्यकता परेको बेला मैले सहयोग गरेको छु। तर मागेको छैन।'

'विहे गरेर गएकी छोरीलाई पैसाको निकै आवश्यकता पर्‍यो। मैले जम्मा गरेको रु ५० हजार सहयोग गरेपछि समस्या टारेँ। छुट्टिएको छोरालाई समेत पटकपटक अप्ठेरो परेको बेला सहयोग गरेको छु' उनले थपे, ‘जहाँसम्म हात खुट्टा चल्छन। त्यति बेलासम्म यसै गरी खान्छौँ। अरूको बोझ बन्दैनौँ।’

चौधरी दम्पती शाकाहारी हुन। आकस्मिक खर्चका लागि उनले २५ हजार रुपैयाँ गाँउकै भरपर्दा व्यक्तिलाई व्याज दिने गरी दिएका छन्।

व्याजको रकम जम्मा गरी र तरकारी बेचेको पैसा जम्मा गरी उनले बाह्रधामको तीर्थ गरेका छन। भारतको केदारनाथदेखि रामेश्वरमसम्म चौधरी दम्पती पुगेका छन।

बाह्रै महिना उनको बारीमा लौका, काँक्रा, तितेकरेला, काउली, तोरैया, भिण्डी, खुर्सानीलगायतको तरकारी मौसमअनुसार फल्ने गरेको छ। परम्परागत रूपमा जैविक विधिको प्रयोग गरी तरकारी उत्पादन हुने भएकाले गाउँमै सहजरूपमा तरकारी खपत हुने गरेकाल उनले बेच्नकालागि झन्झट गर्नु परेको छैन।

गाँउमा तरकारी बोकेर लैजादै गर्दा हातो हात तरकारी बिक्री हुने गरेको छ। उनले भने, ‘शुरु शुरुमा तरकारी पाँच रुपैयाँ किलोका दरले पनि बेचे अहिले तरकारी ५० रुपैयाँप्रति किलोका दरले बिक्री हुने गरेको छ। रसाइनिक वस्तुको प्रयोग नहुने भएकाले महँगो भए पनि सहज रूपमा बिक्री हुन्छ।’

पहिला धेरै तरकारी बोक्न सक्थे मोल थिएन । अहिले शरिरले धेरै बोक्न सक्दैन थोरै लगे पनि मूल्य बढी भएकाले आम्दानी चाहे जस्तो नै हुने गरेको उनको भनाइ छ। वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरी बुढेसकालमा तरकारी आफैँ उत्पादन गरी बेच्ने गरेका वृद्धको पौरख देखेर अचम्म पर्छन ।

‘धेरै जेष्ठनागरिकहरु यस्तो उमेरमा हिँड्डुल गर्न समस्या पर्ने बेला काँधमा तरकारीका झोला झुण्डाएर बिक्री गरी आफ्नै पौरखले खादै आएका छन। उनको अरूमा भर नपर्ने बानी देखेर सबैलाई उनले देखाएको आत्मनिर्भरताको बाटोमा हिडन युवालाई भन्ने गरेको छ’  उनले भने।

उनले नगरपालिकाबाट पाउने भत्ताको रकमसमेत धार्मिक कार्यका लागि खर्च गरी समाजलाई समेत गुन लगाउँदै आएको उनले बताए। 'बिहान सबै घरका मानिस बिउझेका हुँदैनन्। काँधमा झोला बोकेर तरकारी बेच्नका लागि हिँडिसकेका हुन्छन' उनका छोरा प्रकास चौधरीले भने, ‘बुवाले सिकाएको पाठले हामीले पनि तरकारी खेती गरेर परिवारको खर्च धान्न सकेका छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.