|

तनहुँ : पर्यटन वर्ष २०२० लाई लक्षित गरी विभिन्न क्षेत्रका विकासमा संघ, प्रदेश र स्थानीय सरकार लागिपरेको छ। तनहुँका विभिन्न पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धन भइरहेको पाइन्छ।

पहाडकी रानी बन्दीपुरलाई विश्वले चिनेको छ भने बन्दीपुरसँगै घुम्न मिल्ने ठाउँ तनहुँमा धेरै छन्। तनहुँको म्याग्दे गाउँपालिका ५ थाङ्दीमा रहेको कान्छी बाराही झरना पर्यटकको रोजाई पर्न थालेको छ। हरियाली वातावरणको बीचमा रहेको झरनामा खेल्नेहरु हाल बढ्न पुगेका छन्।

वरिपरि हरियाली अनि लामो झरना भएकोले पर्यटकको मन लोभ्याउने गरेको छ। यहाँ दिन प्रतिदिन पर्यटक बढ्दै गएको सो गाउँपालिका ५ का वडाध्यक्ष शिवकुमार आले जानकारी दिए। ‘वनको बीचभागमा रहेकोले चराचुरुङ्गीको चिरविर आवाज र शितल हावा र चिसोपानीले गर्दा पर्यटक लोभिने गरेका छन्। त्यसैले पनि एक पटक आएका पर्यटक पटक-पटक आउने गर्दछन्’, उनले भने। झरना नजिकै कान्छी बाराही मन्दिर रहेको छ।

मन्दिरको नाउँबाट झरनाको नामाकरण गरिएको स्थानीयको भनाई छ। झरना करिव ७० मिटरको उचाईबाट झरेको छ। यो झरनामा अहिले आन्तरिक पर्यटक बढी आउने गरेका छन्। दैनिक दुई सय जना भन्दा बढी झरनाको आनन्द लिन आउने गरेका छन् कान्छी बराही टोल विकास संस्थाकी अध्यक्ष नयाँमाया थापाले बताइन्।

‘मन्दिरमा आउने दर्शनार्थी, स्कुले विद्यार्थी, युवायुवती दोहोर्‍याई, तेहर्‍याई आउने गरेका छन्, झरनाले गर्दा यहाँको प्रचारप्रसार भएको छ’, उनले भनिन्। झरना पृथ्वी राजमार्गबाट दक्षिण करिव ५ किलोमिटर दुरी टाढा रहेको छ। यस झरनामा पुग्नका लागि व्यवस्थित मार्गको समस्या रहेको छ।

आवत-जावतको सहजकताको लागि बाटो स्तरोन्नतिको लागि ३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडाध्यक्ष आले बताए। कास्कीको पोखरा महानगर पालिकाको कास्कीकोटबाट झरना रमाउन आएका विकास सुवेदी झरनाको पानी सफा, हिउँ जस्तो चिसो अनि वरपरको वातारण पनि हरियाली भएकोेले मन लोभ्याएको बताए।

यस्ता प्राकृतिक ठाउँको विकास गर्नुपर्ने देखिन्छ। स्थानीय सरकारले मात्रै विकास गर्न नसकेका ठाउँहरूमा सहज रुपमा पुग्नका लागि सडकको राम्रो व्यवस्थापन गर्न जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.