|

तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका ४ खैरेनीटारमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिकोट पञ्चाल झरना गाउँपालिका ५ निवासी २२ वर्षीय कृष्णप्रसाद आचार्य रहेका छन्।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको बा १२ च १८१२ नं को जीपले ठक्कर दिँदा घाइते भएका आचार्यको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पैदलयात्रीलाई ठक्कर दिने जीप र चालक प्रहरी नियन्त्रणमा छन्। 

यसैगरी पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका ५ याम्पामा बोलेरोको ठक्करबाट आज स्कुटरमा सवार तीन जना घाइते भएका छन्। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नं को बोलेरोले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जना घाइते भएका हुन्।

प्रहरीका अनुसार घाइते हुनेमा स्कुटर चालक भरतपुर महानगरपालिका ११ बस्ने ३६ वर्षीय सुरज धिताल, निजकी श्रीमती ३० वर्षीया शोभा धिताल र उनीहरूका छोरा नौ वर्षीय अर्पण धिताल रहेका छन्।

घाइतेमध्ये सुरजको हातमा सामान्य चोट लागेको छ भने शोभा र अर्पणको टाउको र बायाँ खुट्टामा चोट लागेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते दुई जनालाई नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ। 

राहत प्रदान

चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ। मंगलबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–१ जामुनेगैह्राका चार वर्षीय आशिष बानियाँका परिवारलाई कार्यालयले बुधबार किरियाखर्चस्वरुप  ५० हजार उपलब्ध गराएको हो।

मृतक बालकको घरमा पुगेर डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बराल र भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले उक्त रकम मृतकका काका रामचन्द्र बानियाँलाई हस्तान्तरण गरे। 

चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई १० लाख राहत उपलब्ध गराइने डिभिजन प्रमुख बरालले जानकारी दिए। बरालका अनुसार थप राहतका लागि प्रक्रियाअनुसार जाँदा केही समय लाग्नेछ।

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिकाबमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाखसम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाखसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ। 

घर नजिकै रहेको परालको टौवामा हालेको पिङ खेल्दै गर्दा चितुवाको आक्रमणबाट घाइते बालकको डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो। बालकको घर वरपर अत्यधिक झाडी रहेकाले झाडीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमण गरेको थियो। 

घर नजिकै झाडी भएको ठाउँमा र साँझको बेला चितुवाले बालबालिकालाई आक्रमण गरेकाले चितुवाको आक्रमणबाट बच्न सचेत हुनुपर्ने भानु नगरपालिकाका प्रमुख गौलीले बताए। 'घर वरपरको झाडी सरसफाइमा विशेष ध्यान दिनुपर्ने र साँझको बेला घर बाहिर बत्तीको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ', नगरप्रमुख गौलीले भने, 'साँझको बेला परिवारले बालबालिकाको विशेष ख्याल गर्नुपर्छ।'

डिभिजन वन प्रमुख बरालले भानु नगरपालिकाका बस्ती जंगलसँग जोडिएको रहेकाले जोखिम बढेको बताए। बरालले घरनजिकै रहेका झाडी फँडानी गर्न सकिए चितुवाको आक्रमणबाट बच्न सकिने भएकाले सर्वसाधारण यसप्रति सचेत हुनुपर्ने बताए।

सामुदायिक वनमा खोर राखिने

भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिकालाई आक्रमण गर्न थालेपछि चितुवा नियन्त्रणका लागि केही खोर राखिएको थियो। भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा राखिएको खोरमा असोज १५ गते एउटा चितुवा परेको थियो। उक्त खोर प्रभावकारी देखिएपछि भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा खोर थपिने भएको छ।

स्थानीयवासीको सहयोग र भानु नगरपालिकाको आर्थिक लगानीमा खोर निर्माण गरी चितुवा नियन्त्रणका लागि सामुदायिक वनमा राखिने डिभिजन नगरप्रमुख गौलीले जानकारी दिए। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहभागितामा सर्च अभियानसमेत सञ्चालन गरिनेछ।

बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि जिल्ला सुरक्षा समितिले गोली हान्ने आदेश दिइसकेको छ। 

चितुवाको आक्रमणबाट मृत्यु हुने पाँच पुगे
 
भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु हुने बालबालिकाको संख्या पाँच पुगेको छ। यसअघि विसं २०७४ फागुन १ गते भानु नगरपालिका ३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठ, विसं २०७५ कात्तिक २९ गते भानु नगरपालिका–४ जोखानेका चार वर्षीया रञ्जिता लम्साल, मंसिर १५ गते भानु नगरपालिका २  ढल्केवरका १० वर्षीय अमृत गुरुङ र जेठ २४ गते भानु नगरपालिका–२ भकुण्डथोक निवासी ९ वर्षीया पुष्पा अधिकारीको मृत्यु भएको थियो। 

चितुवाको आक्रमणबाट मृत्यु भएका चार जना बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप १०/१० लाख उपलब्ध गराइसकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.