|

काठमाडौं :  चीनका राष्ट्रपति सी जिनपिङको शनिवारदेखि हुने नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौंमा भव्य तयारी भइरहेको छ। ठाउँठाउँमा स्वागतद्वार बनाइएको छ भने  बिजुलीका पोलमा चीनका राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीका तस्बिरहरु राखिएको छ। 

मुख्यमुख्य स्थानमा राष्ट्रपति सीको स्वागतका लागि द्वार बनाइएको छ। बबरमहल र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीर फ्लेक्स बनाइराखिएको छ जसले एकै हेराइमा पनि नेपालको पहिचानलाई बुझाइदिनेछ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा यो भ्रमण र नेपालको तयारीले विश्वजगत्मा नेपालको थप पर्यटन प्रवर्द्धन हुने ठानिएको छ।

त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरेर चिटिक्क बनाइएको छ।

बुधबार भ्रमणको औपचारिक घोषणा भएपछि सिको स्वागतको तयारीले बढाइएको हो। सुरक्षा व्यवस्था पनि कडा गरिएको प्रहरीले जनाएको छ।  नेपालले पछिल्लो समयमा राष्ट्रप्रमुख वा सरकार प्रमुख आउँदा कसैलाई सवारी मन्त्री तोकेर विमानस्थलमा स्वागत गर्ने गर्दै आएपनि यसपाली सीलाई विशेष महत्व दिन लागिएको छ। चीनका राष्ट्रपतिको तहबाट यसपालि २३ वर्षपछि भ्रमण हुन लागेको हो।

यसअघि सन् १९९६ मा नेपाल आएका चीनका राष्ट्रपति जियाङ जेमिनलाई पनि तत्कालीन राजा वीरेन्द्र शाह र प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलमा नै गएर स्वागत गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.