|

काठमाडाैं : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का पूर्वाधार निर्माणका लागि आवश्यक बजेट निकासा भइसकेको बताए। 

पोखरामा निर्माणाधीन खेल पूर्वाधारको बिहीबार निरीक्षण गर्दै मन्त्री विश्वकर्माले निर्माण कार्यको प्रगति र आवश्यक प्रक्रियाअनुसार नै बजेट निकासा भइरहेकाले पूर्वाधार निर्माण र तयारीको काम रोकिने अवस्था नरहेको स्पष्ट पारे। उनले सरकारले साग खेलकूदलाई भव्यताका साथ आयोजना गर्ने तयारी गरिरहेको बताए। मन्त्री विश्वकर्माले भने, 'बजेटका कारणले निर्माणमा सुस्तता छैन। ढिलाइ हुने स्थिति पनि छैन। समयमै पूर्वाधार निर्माण गरेर प्रतियोगिता भव्य बनाउँछौँ।' 

उनले आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने साग देशको प्रतिष्ठासँग जोडिएकाले सरकार, युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद तथा विभिन्न खेल संघ प्रतियोगिता भव्य बनाउन लागि परेको बताए। मन्त्री विश्वकर्माले काठमाडौँ तथा पोखरामा हालसम्म भौतिक पूर्वाधार निर्माणको काम सन्तोषजनकरुपमा अघि बढेको पनि‍ उल्लेख गरे। 

मन्त्री विश्वकर्मालाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले पोखरा रंगशालास्थित निर्माणाधीन फुटबल रंगशाला, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हल लगायतका पूर्वाधारको कामको प्रगतिका बारेमा जानकारी गराए। 

निरीक्षणमा मन्त्री विश्वकर्मासँगै गण्डकी प्रदेश सरकारका सामाजिक विकासमन्त्री नरदेवी पुन मगर, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ, गण्डकी प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीलगायत सहभागिता थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.