|

काठमाडाैं : चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमणको क्रममा सहज रुपमा एकै प्रकारको भोल्टेज सहितको विद्युत् आपूर्ति हुने व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आग्रह गरेको छ।

चिनियाँ राष्ट्रपति यही असोज २५ र २६ गते दुई दिवसीय राजकीय भ्रमणका लागि नेपाल आउँदै छन्। नागरिक उड्डयन प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई बुधबार पठाएको पत्र अनुसार चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणलाई मध्यनजर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, फुल्चोकीस्थित कम्युनिकेशन रिपिटर स्टेशनमा निरन्तर विद्युत् आपूर्तिको व्यवस्था मिलाउन आग्रह गरेको छ। यस्तै भट्टेडाँडास्थित राडार स्टेशनमा निरन्तर विद्युत् उपलब्ध गराइदिन समेत ध्यानकर्षण गराएको छ।

ती स्थानमा निरन्तर विद्युत् आपूर्तिलाई प्राथमिकतामा राखी आवश्यक व्यवस्था गर्न नागरिक उड्डयनले विद्युत् प्राधिकरणलाई अनुरोध गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिएको चाबहिल तथा नयाँ बानेश्वरको फिडर लाइनको डेडिकेटेड विद्युत् आपूर्तिलाई समेत उच्च प्राथमिकतामा राखी निरन्तर विद्युत् आपूर्ति गर्न आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको हो।

विद्युत्को भोल्टेजमा हुने उतार चढावले समस्या आउन सक्ने भएकाले विशेष ध्यान दिइएको बताइएको छ। त्यसो त विद्युत् प्राधिकरणले यस अघि नै अत्यावश्यक स्थानमा भोल्टेजलगायतका विषयमा देखिएको समस्याको समाधान गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.