|

दाङ : तुलसीपुर उपमहानगरपालिकालाई चिनाउनको लागि यहाँका २ युवाले मोटरसाइकल यात्रा गरेका छन्। तुलसीपुरमा भएका पर्यटकीय स्थलको प्रचार-प्रसारका लागि 'घुम्न जाऔँ' तुलसीपुर अभियानको शुरुवात गरिएको छ।

पर्यटन प्रवर्द्धनमार्फत तुलसीपुरलाई समृद्ध नगर बनाउनका लागि अभियानको शुरुवात गरिएको हो। अभियानको शुक्रवार उद्घाटन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले घुम्न जाऔँ तुलसीपुर अभियानले सन् २०२० को पर्यटन वर्षलाई सफल बनाउने बताए। उनले दाङमा भएका पर्यटकीय स्थलको प्रचार-प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन बढाउन सकिने बताए।

त्यसैगरी तुलसीपुरसहित दाङमा भएका पर्यटकीय स्थलको प्रचार-प्रसार गर्न सके समृद्ध दाङ निर्माणमा सहयोग पुग्ने उनको भनाई थियो। तुलसीपुरमा भएका पर्यटकीय स्थलको पर्चासहित यहाँका बसन्त भण्डारी र मनराज पुन मोटरसाइकल यात्रामा निस्किएका छन्। उनी दुबै जनाले नेपालका करिब ५२ जिल्लामा घुम्ने र तुलसीपुरका पर्यटकीय स्थलको प्रचार-प्रसार गर्ने बसन्त भण्डारीले बताए।

तुलसीपुरमा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू भएकाले त्यस्ता स्थानहरूको प्रचार प्रसार गर्न आफूहरूले यो अभियान थालेको उनले बताए। 'हामी पनि विभिन्न ठाउँहरूमा घुम्न जान्छौं। तर हाम्रो ठाउँमा भएका पर्यटकीय स्थलहरू ओझेलमा छन्', उनले भने, 'त्यसैले हामीले घुम्न जाऔँ तुलसीपुर अभियानको शुरुवात गरेको हौँ।' त्यसअवसरमा सिंगापुरमा सम्पन्न एसिया प्यासीफीक फेसन एण्ड फ्रेण्डसिपका बिजेता दाङकी यांशु श्रेष्ठलाई सम्मान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.