|

सर्लाही : सर्लाही मुख्य ब्यापारिक केन्द्र बरहथवा बजारको फोहोर एक सातापछि उठेको छ। पटक–पटक आश्वासन दिएर पनि पारिश्रमिक वृद्धि नगरिएको, दशैं खर्च र पोसाक उपलब्ध नगइराएको भन्दै फोहोर उठाउने मेस्तरहरुले गएको शनिवारदेखि बजारको फोहोर उठाउन छाडेका थिए।

बरहथवा नगरपालिकाका प्रमुख (मेयर) देवानन्द महतोले मेस्तरहरुको माग सम्वोधन गर्न आगामी मङ्गलवार कार्यपालिकाको बैठक राखेर छलफल गर्ने आश्वासन दिएपछि उनीहरु आइतवारबाट काममा फर्किएका हुन्। एक सातासम्म फोहोर नउठ्दा बरहथवा बजार दुर्गन्धित बनेको थियो।

फोहोर नउठेको विरोधमा शुक्रवार स्थानीयवासी र व्यापारीले बजारमा जम्मा भएको चार ट्याक्टर फोहोर नगरपालिका कार्यालयमा ल्याएर फालेका थिए। नगरपालिका कार्यालयमा ल्याएर फालिएको फोहोर र एक हप्तासम्म बजारमा जम्मा भएको फोहोर आइतवार डम्पिङ साईडमा लगेर फालिएको छ। बरहथवा बजार क्षेत्रमा हाल १२ जना मेस्तरले फोहोर उठाउने काम गर्दै आएका छन्।

उनीहरुलाई हरेक दिन बिहान दुई÷तीन घण्टा बजारको फोहोर सङ्कलन गरे बापत महिनामा प्रति व्यक्ति छ हजार पाँच सय रुपियाँ पारिश्रमिक उपलब्ध गराइँदै आएको बरहथवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश राउतले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.