दुई देशबीच व्यापारीक आत्मियता बढ्ने अपेक्षा

|

काठमाडाैं : नेपाल चिन जोड्ने प्रमुख अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइने भएको छ। नेपालको दुइदिने राजकीय भ्रमणका लागि नेपाल आएका चीनका राष्ट्रपति सी जिनपिङले शनिबार सोल्टी होटलमा आयोजित रात्रिभोजमा गरेको सम्बोधन कार्यक्रममा अरनिको राजमार्ग व्यवस्थित गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता जाहेर गरेका हुन्।

‘अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौँ’ राष्ट्रपति सीले सम्बोधन कार्यक्रममा भनेका छन्। सीको अभिव्यक्तिले अरनिको राजमार्गलाई प्राथामिकताका साथ राखेको पाइएको छ। अरनिको राजमार्ग पक्की नहुँदा नेपाल र चिन जोड्ने प्रमुख व्यापारिक तातोपानी नाका अस्तव्यस्त अवस्थामा छ।

विनासकारी भूकम्पपछि बन्द रहेको तातोपानी नाका चार बर्षपछि जेठ १५ गतेबाट औपचारिक रुपमा खुल्यो। सडककै कारणले चार वर्षपछि खुलेको नाका बन्द हुँदै सञ्चालनमा आउने क्रम जारी छ। 

नेपाल सरकार र चीन सरकारबीच आइतबार भएको २० बुँदे समझदारीमा पनि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच चीन-नेपाल सीमापार रेलवे परियोजनासम्बन्धी समझदारी भएको छ। जसले गर्दा नेपाल-चीन जोड्ने व्यापारिक नाका तत्कार रुपमा स्तरोन्नति हुने अपेक्षा लिइएको छ। 

लामो कसरतपछि चार बर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो। तातोपानी नाका विभिन्न कारण देखाउँदै चिनले खोल्न असहमति जनाउँदै आएको थियो। तर, पछिल्लो समय चिनियाँ पक्षको सक्रियतामै नाका खुल्यो। तातोपानी नाकालाई अझ व्यवस्थित गर्नका लागि चिनले लार्चामा अत्याधुनिक प्रविधिको सुख्खा बन्दरगाह निर्माण गरेको छ। अहिले नेपाल र चीनबीचबाट हुने सबै व्यापारिक कारोबार सुख्खा बन्दरगाहबाटै हुने गरेको छ।

नाका सञ्चालनको प्रमुख समस्या भनेको सडकको रुपमा लिइएको छ। सन् १९६० मा चीन सरकारकै अनुदान सहयोगमा अरनिको राजमार्ग निर्माण भएको थियो। भूकम्पपछि विभिन्न स्थानमा क्षति पुगेको राजमार्ग मर्मत भयो। तर, पहिल्लेकै अवस्थामा सडक पुग्न नसक्दा समस्या सिर्जना भइरहेको छ। अरनिको राजमार्गको मर्मतमा चिन सरकार सकारात्मक भएकै कारणले तातोपानी नाका थप व्यवस्थित हुने अपेक्षा लिइएको छ।

सडक सञ्चालन सुनिश्चित भएपछि व्यापारिक आत्मियता बढ्ने अपेक्षा गरिएको छ। मितेरीबाट-काठमाडौँसम्म ११४ किमि सडक रहेको छ। बाह्रबिसे-तातोपानी २६ किमी सडकखण्ड रहेको छ। यो सडक पनि चिन सरकारकै सहयोगमा निर्माण र मर्मत हुँदै आएको छ। करिब पाँच दशक अघिबाट नेपाल र चीनबीचमा सडक जोडिएको थियो।

मितेरी पुलको निर्माणपछि नेपाल र चीनबीच व्यापार सुरु भएको हो। भूकम्पअघि सो नाकाबाट दैनिक करौडौँ रुपैयाँको व्यापार हुने गरेको थियो। भूकम्पपछि सो नाका सञ्चालनमा आएपनि पहिलेको लयमा फर्कन सकेको छैन। राष्ट्रपति सीले अरनिको राजमार्ग मर्मत र स्तरउन्नति गर्ने प्रतिबद्धता जनाएपछि राजमार्ग सञ्चालन हुने थप अपेक्षा गरिएको छ। 

भौतिक निर्माणतर्फ चिन सरकार अग्रसर भएको उनले बताए। ‘चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्ने गर्नेछौँ, उनले भने, ‘बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माण गर्नेछौँ। त्यसैले नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौँ।

भूकम्पपश्चात्को पुनर्निर्माण परियोजनाहरूलाई सक्रियताकोे साथ अगाडि बढाउँने उनको भनाई छ। सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरूलाई नेपाल आउन उत्प्रेरित प्रदान गर्ने समेत उल्लेख गरे। 

नेपालमा सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले भ्रमण गरेका थिए। करिब २३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल भ्रमण भएको हो। लामो समयपछि नेपाल आएका चिनियाँ राष्ट्रपतिसँग नेपाल सरकारले २० बुदेँ समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.