|

सर्लाही : सशस्त्र प्रहरीले आइतबार सर्लाहीको बरहथवाबाट ठूलो परिमाणमा प्रतिबन्धित भारतीय चल्ला बरामद गरेको छ। 

बिआर ३० ए ४७५५ नम्वरको सुमोमा छिमेकी मुलुक भारतबाट चल्ला हालेर ल्याउँदै गरेको अवस्थामा बरहथवा नगरपालिका १४ शैदपुरबाट दुई हजार पाँचसय भारतीय चल्ला बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विरोदराज श्रेष्ठले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टर कविलासीबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) प्रमोदकुमार सिंहको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले अवैध चल्ला बरामद गरेको हो।

चल्ला ओसारपसारमा संलग्न गाडीका चालक भने गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै फरार भएका छन्। बरामद गरिएको झण्डै एक लाख २५ हजार रुपैयाँ मूल्य बराबरको चल्ला स्थानीयवासी र सञ्चारकर्मीको उपस्थितिमा आइतवारनै खाल्डोमा पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

 प्रतिबन्धित चल्ला ल्याउन प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइ आवश्यक कार्वाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाइएको छ। बर्डफ्लू र अन्य पन्छीजन्य रोग भित्रने जोखिम रहेको भन्दै भारतबाट पन्छी ल्याउन सरकारले प्रतिबन्ध लगाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.