|

भक्तपुर : बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार भक्तपुर नगरपालिका गछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन, पूजा तथा प्रसाद ग्रहण गरेका छन।

सो अवसरमा उनले नवदुर्गा देवगणको द्यो ब्वोय्केगु (देवता प्रदर्शन) कार्यक्रम समेत अवलोकन गरेका थिए।

साँझ ४ः५० बजे गछें पुगेका राष्ट्रपति भण्डारीलाई सांसद महेश बस्नेत, प्रदेशसभाका सांसदहरु रजनी जोन्छें, प्रतिमा श्रेष्ठ, सरस्वती वाटी, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल, नगरप्रमुखहरू मदनसुन्दर श्रेष्ठ, सोमप्रसाद मिश्र, बासुदेव थापा, उपप्रमुखहरु अञ्जनादेवी मधिकर्मी, जुना बस्नेत, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलगायतले स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारीलाई नवदुर्गा मन्दिरका पुजारी जुलाल कर्माचार्यले अभिशेक गरी स्वागत गरेका थिए। सो अवसरमा नवदुर्गा नाचको इतिहासमा पहिलो पटक राष्ट्र प्रमुखको सम्मानमा द्यो ब्वोय्केगु प्याखँ (देवता प्रर्दशन नाच) प्रदर्शन गरिएको थियो। राष्ट्रपति भण्डारीले द्यो ब्वोय्केगु प्याखँ अभिरुचीपूर्वक अवलोकन गरे।

भैरवबाट मुलपुजा आरम्भ भएपछि राष्ट्रपति भण्डारी नवदुर्गा द्यछेंभित्र गई नवदुर्गा भवानीको दर्शन गरे।

राष्ट्रपति भण्डारीलाई नवदुर्गा देवगणका मुल नाईके व्रिजेश वनमालाले नवदुर्गाको प्रसाद स्वरुप पञ्चरंगी धागो र विमिरो प्रदान गरेका थिए। नवदुर्गाको दर्शनपछि राष्ट्रपति भण्डारीले देवगणलाई दक्षिणा दिई दर्शन गरेका थिए।

सो अवसरमा राष्ट्रपति भण्डारीले नवदुर्गा नाच व्यवस्थापन र सञ्चालनको लागि अक्षय कोष स्थापना गर्न यसअघि घोषणा गरे बमोजिमको जिल्ला समन्वय समितिको तर्फबाट संयोजक नवराज गेलालले प्रदान गरेको १५ लाख र उद्योग वाणिज्य संघ भक्तपुरले प्रदान गरेको ५ लाख १५ हजारको चेक देवगणका नाइके व्रिजेश वनमालालाई हस्तान्तरण गरे। 

बडादशैंको कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रप्रमुखको हैसियतले नवदुर्गा भवानीको दर्शन र पूजा गर्ने परम्परा स्व. राजा विरेन्द्र शाहले वि.सं. २०४५ सालमा शुरु गरेको हो।

उनीपछि राजा भएका ज्ञानेन्द्र, लोकतन्त्रको पुनःस्थापनापछि प्रधानमन्त्री र राष्ट्रप्रमुख दुवै बनेका स्व. गिरिजाप्रसाद कोइराला, गणतन्त्रको स्थापनापछि नेपालको पहिलो राष्ट्रपति बनेका डा. रामवरण यादवले समेत यो परम्परालाई निरन्तर चलाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.