|

तनहुँ : मानिस तथा घरेलु पशुचौपायलाई पटक पटक आक्रमण गर्ने नरभक्षी चितुवालाई मार्न निर्देशन दिइएको छ। नरभक्षी चितुवाले डेढ वर्षको अवधिमा पाँच बालबालिकाको ज्यान लिएको छ।

भानु नगरपालिका १, २, ३ र ४ नम्बर वडाका बालबालिकाको ज्यान लिने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले मार्न निर्देशन दिएको छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभक्षी चितुवालाई मारेर डिभिजन वन कार्यालय तनहुँमा बुझाउन प्रहरीलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। उनका अनुसार नगरपालिका क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढेपछि नियन्त्रण गर्नका लागि अग्रसरता देखाएको छ।

चितुवाले आक्रमण गर्ने स्थानको पहिचान गरी खोर निर्माण गर्ने, आक्रमण गर्ने ठाउँहरुमा शिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जन समुदाय, डिभिजन वन कार्यालयको संयुक्त रुपमा गौडा कुर्ने व्यवस्था मिलाइएको छ। नगरपालिकाको झाडी क्षेत्रहरूमा सरसफाई, सडक वरपर झार काट्ने काम गरिएको नगरपालिकाका प्रमुख उदयराज गौलीले जानकारी दिए।

गौलीको अध्यक्षतामा आइतबार बसेको बैठकले नगर क्षेत्रको हरेक वडाका झाडी क्षेत्रको सरसफाई, बालबालिकालाई अभिभावकले हेरचाह गर्न समेत अनुरोध गरिएको छ। नरभक्षी चितुवाले २०७४ फागुन १ गते भानु–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठ, २०७५ कार्तिक २९ गते जोखानेका ४ वर्षीया रञ्जिता लम्साल, मंसिर १९ गते ढल्केबरका १० वर्षीय अमृत गुरुङ, २०७६ जेठ २४ गते भकुण्डेथोकका ९ वर्षीया पुष्पा अधिकारी र असोज २१ गते जामुनेगैह्राका ४ वर्षीय आशिष बानियाको ज्यान लिएको छ। 

गाउँ, वस्तीहरू जंगलसँग जोडिएकाले गर्दा पनि वन्यजन्तुको जोखिम बढी भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख डिभिजन वन अधिकृत केदार बरालले बताए। वन्यजन्तुसँग मानिस आफैं सचेत हुनुपर्ने अवस्था रहेको बरालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.