|

धनगढी : कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका–१ भरुवाका धिरेन्द्र थापाको कुटपिटबाट उनकी श्रीमती जानकी बिक थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

‘२१ गते कुटपिट भएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले भने, ‘प्रहरीलाई २४ गते मात्रै थाहा भएको हो।’ आफ्नै घरमा परपुरुषसँग भेटेपछि श्रीमतीलाई श्रीमानले कुटपिट गरेको प्रहरीको भनाइ छ।

श्रीमानको कुटाइबाट अचेत भेटिएकी थापालाई उपचारका लागि नेपालगन्ज पठाइएको थियो। उपचारपछि घर फर्किएकी थापालाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याउने क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

जानकीको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ। उनका श्रीमान धिरेन्द्रलाई इलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार भारतबाट मजदुरी गरेर आएका धिरेन्द्रले घरमै परपुरुषसँग श्रीमतीलाई भेटेपछि कुटपिट गरेका थिए। उनकी श्रीमतीसँग भेटिएका पुरुषलाई प्रहरीले तारेकमा छाडेको छ।

धिरेन्द्रलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा दर्ता हुने प्रहरी प्रवक्ता बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.