काठमाडौंः इतिहासकार महेशराज पन्तलाई ‘पद्मश्री साधना सम्मान–०७५’ प्रदान गरिएको छ। ‘खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान’ले हरेक वर्ष कोजाग्रत पूर्णिमामा उक्त सम्मान हस्तान्तरण गर्दै आएको छ।
त्यस्तै, यस वर्षको पद्मश्री साहित्य पुरस्कारबाट कवि तथा निबन्धकार रमेश सायन पुरस्कृत भएका छन्। नेपालको इतिहास र संस्कृतिलाई संशोधन र लिपिबद्ध गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएबापत दुई लाख रुपैयाँसहितको सम्मान पन्तलाई प्रदान गरिएको हो।
यस्तै, वर्षभरि प्रकाशित भएका उत्कृष्ट साहित्यिक कृतिलाई दुई लाख रुपैयाँ राशिको पद्मश्री साहित्य पुरस्कार प्रदान गर्ने गरिएको छ । यस वर्ष सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गरिएको हो।
प्रतिष्ठानका अध्यक्ष जीवा लामिछाने र उनकी आमा हरिकला लामिछानेले दुवै व्यक्तित्वलाई सम्मान र पुरस्कार अर्पण गरेका थिए । कार्यक्रममा अध्यक्ष लामिछानेले यस वर्षको सम्मान र पुरस्कार वितरणमा अग्रज र अनुज पुस्ताको संयोजन भएको बताए। आगामी वर्षदेखि सम्मान र पुरस्कार दुवैको राशि बढाएर तीन लाख रुपैयाँ पुर्याइने घोषणा उनले गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।