|

काठमाडौं : चौध जना भन्दा धेरैलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलम पक्राउ परेपछि नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको छ। 

२०६४ चैत्र २७ गते रौतहटको राजपुरस्थित पूर्वमन्त्री शेख इद्रिसको गोठमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले आलमलाई आइतबार बिहान  पक्राउ गरेपछि कांग्रेसले आन्दोलन थालेको हो।

कांग्रेसकै सरकारकार पालामा पक्राउ परेपछि उनी शक्तिकेन्द्र प्रभावमा उम्किन सफल भएका थिए। तर यो पटक उनी पक्राउ परेपछि कांग्रेस कार्यकर्ताले सोमबार बिहानदेखि टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन्। 

सोमबार बिहानैबाट सदरमुकाम गौरका विभिन्‍न स्थानमा कांग्रेस कार्यकर्ताले टायर बालेका छन् । गौरको बसपार्क, सबगढा, राजपुर फरदहवा, जयनगर, कोपवा लगायतमा स्थानमा आलमका समर्थक र कांग्रेसका कार्यकर्ताले टायर बालेर विरोध गरेका हुन्। 

२०६४ को संविधान सभाको निर्वाचनको अघिल्लो दिन चैत २७ गते पूर्वमन्त्री शेख इद्रिसको घरमा ‘बूथ कब्जा’ गर्नेगरी बम बनाउँदा विष्फोट भएको थियो । उक्त विस्फोटमा दुईजनाको घट्नास्थलमै मृत्यु भएको थियो । घटनाका घाइते अरु १३ जनालाई समेत जिउँदै इँटाभट्टामा हालेर अभियोग आलममाथि लगाइएको छ।

बम विस्फोटमा २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरले ज्यान गुमाएका थिए। विस्फोटमा घाइतेलाई जिउँदै जलाइएको आरोपसहित श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी परेको छ। 

किटानी जाहेरी परेपछि मुख्य अभियुक्त आलम घटना भएको २०६५ असार ९ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । आलम सहित ५ जना अभियुक्तलाई प्रतिवादी बनाइ दायर गरिएको जाहेरीमा महान्यायधीवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी फाइल बन्द गरेको थियो।

उक्त आदेशविरूद्ध पीडित परिवारका तर्फबाट शेख रोक्साना खातुन र सरुअठा निवासी श्रीनारायण सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै २०६९ साल जेठ १६ गते तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले प्रतिवादीहरूलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि जाहेरवालाले फैसला कार्यान्वयन निर्देशनालयमा उजुरी दिँदा गत चैत ८ गते पुनः पक्राउ गर्न आदेश जारी गरेको थियो। बम काण्डमा घाइते छोरालाई जिउँदै जलाएको भन्दै किटानी जाहेरी दिएकी रोक्साना खातुनको पनि गोली हानी हत्या गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.