|

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतको लागि तीनकुनेस्थित खुला मैदानमा तयार पारिएको हरियाली संरचनालाई सुरक्षा दिएर स्थायी रुपमा राखिने भएको छ।

फूल र बिरुवाको सुरक्षा गर्नको लागि नेपाल सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरी खटाइएको छ। साथै सडक छेउमा निर्माण गरिएकाे स्वरूपलाई यथावत राखी पार्कभित्र गौतम बुद्धको आकर्षक मूर्ति राखी पार्क विस्तार गरिने महानगरपालिकाले जनाएको छ।

चिनियाँ राष्ट्रपति नेपालको दुई दिने भ्रमणमा आउने भएपछि काठमाडौं महानगरपालिकाले हरियाली संरचना निर्माण गरेको थियो। महानगरापलिकाले पाँच सय भन्दा बढी फूल र ब‍िरुवा रोपेको थियो।

खुला मैदानको वरिपरि रोपिएका बिरुवा र फूललाई संरक्षण गर्नको लागि नगरपालिकाले दैनिक दुई पटक पानी हालेर बोट बिरुवाको संरक्षण गरिरहेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताए। उनले सशस्त्र प्रहरी, नगर प्रहरी मिलेर एकसाथ फूल र बिरुवाको संरक्षण गरिरहेको पनि बताए।

नगर प्रहरीले बिहानदेखि नै तीनकुनेको संरचनालाई सुरक्षा दिइरहेको सापकोटाले बताए। फोटो खिच्न आउनेले बोटबिरुवा उखाल्न सक्ने भएकोले वा फूल चुडेर फाल्ने जस्ता अनैतिक कार्य गर्ने भएकोले त्यस्तो हुन नदिन सुरक्षाकर्मी राखेको उनले जानकारी दिए।

दिगो व्यवस्थापनको लागि केन्द्रिय सरकार र स्थानीय सरकारले गृहकार्य गरिहेको उनको भनाइ छ। तीनकुनेको हरियालीले महानगरको सुन्दरता र काठमाडौं उपत्यकाको सौन्दर्यलाई नै बढावा दिने उनको दाबी थियो।

तिनकुनेको हरियालीलाई संरक्षण गर्नको लागि नेपाल शसस्त्र प्रहरीले समेत सुरक्षा दिइरहेको छ। सिनामंगलस्थित सशस्त्र क्याम्पका ९ जना सशस्त्र प्रहरीले पनि संरचनाको रक्षा गरिरहेको सशस्त्र प्रहरी जवान रामजी भण्डारीले बताए। उनका अनुसार रोपिएका बिरुवा पूर्ण रुपमा नहुर्किञ्जेल सुरक्षा दिनेछ।

हरियो दुवो र झारमा पस्न नदिने पनि उनले बताए। माथिबाट माटो तल झरिरहने हुनाले त्यसको लागि पनि प्रवेश निषेध गरिएको उनले बताए। अहिले खुला मैदानको वरिपरि सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उनले जानकारी दिए।

खुला मैदानमा एक्कासी हरियाली भएर तीनकुनेको स्वरुप परिवर्तन भएको देख्दा फोटो खिच्न आएको संगीता पौडेलले बताइन्। राजधानी प्रवेश गर्ने मुलद्बारमा फूल र हरियाली हुँदा शहरको सौन्दर्य बढने उनको भनाइ छ।

सरकारले यसको दिगो व्यवस्थापनको लागि ध्यान दिएर कार्य गर्नुपर्ने उनको सुझाव थियो। 'उपत्यकामा हरियाली भन्दा बढी भवन छन्। यस्ता खुल्ला बँचेका अन्य ठाउँमा पनि पार्क बनाउन पाए शहरको सौन्दर्यता बढ्ने निश्चित छ' उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.