|

बैतडी : नेपाल भारत सीमानाका बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै ३७ दिनदेखि जारी रहेको रिले अनशन स्थगित भएको छ। एकसूत्रीय झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै गत भदौ २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनशन थालिएको थियो।

झुलाघाट पक्की पुल निर्माण संघर्ष समितिले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंकेन्द्रित आन्दोलन गर्ने भन्दै रिले अनशन स्थगित गरिएकोे जनाएको छ।  
जिल्लामै ३७ दिनसम्म रिले अनशन थाल्दै सरकारले  मागप्रति सरकारले कुनै चाँसो नदिएकोले अव आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्यले हाललाई स्थगित गरिएको संघर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए।

'पुल निर्माणका लागि माग गरेर अनशन बसेको ३७ दिनसम्म पनि सरकारले कुनै पहल नचालेकाले अनशन स्थगित गर्न बाध्य भएका छौं' उनले भने,'आफ्ना माग प्रति सरकारले कुनै प्रतिक्रिया नजनाउनु दुर्भाग्य र बिडम्बनापूर्ण छ।' 

पुल निर्माणका लागि बैतडीबासीले दुई दशकदेखि आन्दोलन गरिरहेका भए पनि मागप्रति सरकारले कुनै ध्यान नदिएकाले अनशन बसेका संघर्ष समितिले जनाएको छ। 'शान्तिपूर्ण रिले अनशन तर्फ सरकारको ध्यान नगएकाले अब काठमाडाैं केन्द्रित संघर्षका कार्यक्रम गर्ने निर्णय भएको छ' विज्ञप्तlमा उल्लेख गरिएको छ।

आन्दोलनको स्वरुप परिवर्तन गरेर संघीय राजधानी काठमाण्डौं केन्द्रित आन्दोलनको तयारी भएको अध्यक्ष चन्दले जानकारी दिए। माग पूरा गर्नेतर्फ सरकार सचेत नभएको भन्दै माइतीघर मण्डलामा अनशन थाल्ने  सम्भावना रहेको छ। साथै सिंहदरवारकेन्द्रित हुने जनाइएको छ। 

पुल निर्माणको बिषय समृद्धिसँग जोडिएको भएकाले यो मुद्दालाई ओझेलमा पार्न नदिने संघर्ष समितिले जनाएको छ। झुलाघाट नाकामा पक्की पुल निर्माण गर्नु सुदूरपश्चिमको समग्र विकासका लागि भएकाले यो मुद्दालाई अझै व्यापक बनाइने समितिले जनाएको छ। झुलाघाटमा पक्की पुल निर्माणका लागि सबै दलका शीर्ष नेताहरूले बेलाबेलामा आश्वासन दिएको भए पनि अहिले सम्म पूरा हुन सकेको छैन।

यसअघि अनशनमा बैतडीबासीले स्वस्फूर्त रुपमा सहभागिता एवं सहयोग गर्दै आएका थिए। संघर्ष समितिले जारी गरेको प्रेस विज्ञप्तीमा अनशनका समयमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ।  अनशनमा उद्योग बाणिज्य संघसँगै निर्माण ब्यवसायी संघ, यातायात ब्यवसायी संघ, पत्रकार महासंघ तथा होटेल ब्यवसायी संघले समेत ऐक्यवद्धता जनाएका थिए।

सरकारी पक्षको उदासीनताका कारण आन्दोलनका कार्यक्रम सशक्त हुने देखिएको छ। हालसम्म ५०० जनाले रिले अनशनमा सहभागिता जनाइसकेका संघर्ष समितिले जनाएको छ। रिले अनशनमा भजनकीर्तन, ड्यौडा गीत गाउँदै सरकारलाई दबाब दिइएको संघर्ष समितिका सदस्य दिपेश शाहले बताए।

नागरिकले गरेको शान्तिपूर्ण दबाबलाई कमजोर नठान्न पनि सरकारलाई चेतावनी दिइएको छ। झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि बैतडीबासीले दुईदशकदेखि आन्दोलन गर्दै आईरहेका भए पनि अहिलेसम्म माग पूरा हुन सकेको छैन।

झुलाघाट नाकामा पक्की पुल नभएकै कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुग्दै आएको झुलाघाट बनार व्यवस्थापन समितिका अध्यक्ष लवदेव जोशीले बताए। अनशनमा यहाँका राजनीतिक दलहरूले झुलाघाटमा पक्की पुल बनाउने भनेर चुनावी एजेण्डा नै बनाएका थिए।  यसअघि असोज ४ गते मात्रै बैतडीबाट निर्वाचित संघीय सांसद दामोदर भण्डारीले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलार्ई भेटेर पुल निर्माणका बिषयमा कुराकानी भएको थियो।

कुराकानीमा सीमा क्षेत्रमा पुल निर्माण गर्नुपर्ने भएकोले भारतसँग पनि छलफल गरेर अगाडि बढ्ने बताइएको थियो। तर हालसम्म पनि  कुनै जानकारी प्राप्त भएको छैन। विस २०५९ सालमा दशहजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदूताबासलाई ज्ञापन पत्र बुझाएको भए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको  बताइएको छ।  यसका साथै  मोटरेवल पुल निर्माणको लागि  विस २०७५  फागुनमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाइएको थियो।  

करिव डेढ सय वर्ष अगाडि मात्रै इष्ट इण्डिया कम्पनीले नेपाल-भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुगें पुल जीर्ण बन्दै गएपछि बैतडी लगायत सुदूरपश्चिमवासी समस्यामा परेका उद्योग बाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टको भनाई छ।

विगतमा भारतसँग जोड्ने सुदूरपश्चिमको मुख्य नाका रहेको जुलाघाटमा सुगौली सन्धिपछि १८९१ म झोलुङगे पुल निर्माण गरिएको थियो। झुलाघाटनाका सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने पुरानो प्रवेशद्बार हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.