|

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन करिब तीन वर्षपछि हटाएको छ। आइसिसीको बोर्ड बैठकले क्यानमाथिको निलम्बन सशर्त फुकुवा गर्ने निर्णय गरेको हो। 

आइसिसीको शर्तबारे अहिलेसम्म केही खुलेको छैन। आइसिसीकै प्रत्यक्ष संलग्नतामा असोज १० र ११ गते काठमाडौंमा क्यानको निर्वाचन गरिएको थियो। निलम्बन फुकुवाका लागि सबैभन्दा बलियो आधार त्यही निर्वाचन भएको थियो। निर्वाचनले चतुरबहादुर चन्दको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो ।

दुई दिन लामो बैठकपछि निकालिएको विज्ञप्तीमा निर्वाचनले गर्दा निलम्बन फुकुवाका लागि बाटो खुलेको उल्लेख गरिएको छ। सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनसहितका मुद्दा जोडेर आइसिसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो ।

२०७२ साल मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्ष निर्वाचित गरेपछि पछिल्लो विवाद सुरु भएको थियो । पुसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यान पुनर्रगठन गरेपछि विवाद नयाँ मोडमा थियो । निर्वाचित समिति अदालत गएपछि क्यानको दोहोरो अस्तित्व देखियो। नेपालमा क्यानको अन्तरिक विवादबीच आइसिसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि पटक पटकको पहल आइसिसीले सल्लाहकार समितिमार्फत् क्यानको विधान बनाएको थियो। उक्त विधान पास गर्न क्यानको विशेष साधारण सभा दुई पटक बसेको थियो। नयाँ विधान अनुसार ५ सदस्यीय स्वतन्त्र समिति बनाउँदै आइसिसीले क्यान निर्वाचनको वातावरण बनाएको थियो। जिल्ला र प्रदेश हुँदै नगर सम्मेलन पनि गरेको क्यानको असोज ११ गतेको निर्वाचनपछि निलम्बन फुकुवाको सम्भावना बढेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.