|

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरमा ७०० औं गोल गरेका छन्। 

रोनाल्डोले इतिहास बनाएको खेलमा पोर्चुगल भने पराजित भयो। ३४ वर्षीय रोनाल्डोले पेनल्टीमार्फत् एक गोल गरे। रोनाल्डोले करिअरको ७०० गोल पुरा गर्दा ९७३ खेल खेले। रोनाल्डोले ७ सय गोल पुरा गरेसँगै उनी जोसेफ विकान, रोमारियो, पेले, फ्रेन्च पुस्कार, गर्ड मुलरपछि सर्वाधिक गोल गर्ने खेलाडी बने।

युरोकप छनोट अन्तरगत सोमबार राति भएको खेलमा पोर्चुगल घरेलु टोली युक्रेनसँग २–१ ले पराजित हुँदा रोनाल्डोले ७ सयौं गोल पुरा गरेका हुन्। युक्रेनको जितमा रोमन यारेमचुक र एन्ड्री यामोलेन्कोले गोल गरे।

पोर्चुगललाई पराजित गरेको युक्रेन भने समूह ‘बी’ बाट युरोकपमा छनोट हुन सफल भएको छ। युक्रेनले समूह ‘बी’ मा ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा रहेको पोर्चुगलको ६ खेलबाट ११ अंक रहेको छ। छनोट नजिक रहेको पोर्चुगल अब छनोटका लागि भने अर्को खेलसम्म पर्खनु पर्ने भएको छ।

खेलको छैटौं मिनेटमा नै रोमन यारेमचुकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। २७औं मिनेटमा एन्ड्री यामोलेन्कोले भिटाली माइकोलेन्कोको पासमा गोल गरेपछि घरेलु टोली युक्रेन पहिलो हाफमा २–० ले अघि बढेको थियो।

२–० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै घरेलु टोलीलाई दवावमा राख्दै एक गोल गर्न सफल भएपनि हार टार्न सकेन। ७२औैँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै पोर्चुगललाई खेलमा फर्काउने संकेत दिए पनि थप गोल निस्कन नसक्दा पोर्चुगल २–१ ले पराजित हुन पुग्यो।

रोनाल्डोले सात सय गोल रेकर्ड बनाउने क्रममा राष्ट्रिय टोलीबाट १६२ खेल खेल्दै ९५औं गोल गरे। उनले स्पेनिस क्लब रियाल म्याड्रिडबाट सबैभन्दा धेरै गोल गरेका छन्। टारस स्टेफानेकोले पेनाल्टी बक्समा विपक्षी खेलाडीमाथि अनावश्यक होल्ड गरेपछि रेफ्रीले दोहोरो पंहेलो कार्डसहित रातो कार्ड देखाएपछि घरेलु टोली युक्रेन १० खेलाडीमा समटिएको थियो।

यही समूहको अर्को खेलमा सर्वियाले लिथुनियालाई २–१ ले पराजित गर्यो। जितसँगै सर्वियाले ७ खेलबाट १० अंक जोड्दै युरोकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ। लिथुनिया १ अंकसहति पुछारमा रहँदा लक्जेमवर्ग ४ अंकसहित चौथो स्थानमा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.