|

काठमाडौं : विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले सुपर ओभरका लागि नयाँ नियम बनाएको छ। 

नकआउट चरणमा खेल बराबर भए खेलको निर्णय सुपर ओभरबाट लिने गरिएको छ। सुपर ओभरमा पनि खेल बराबरी भए खेलको निर्णय खेलमा प्रहार भएको बाउन्ड्रिजका चौका र छक्कालाई आधार मानेर गर्ने गरिएको थियो। सुपर ओभरमा दुवै टोलीले एक–एक ओभर खेल्ने ब्यबस्था छ।

यसका लागि बढीमा एक टोलीबाट ३ ब्याट्सम्यान मैदानमा उत्रिन पाउँछन्। बलर भने दुवै टोलीबाट एकजनानै रहने गरेका छन्। यदि बलिङमा क्रममा बलर घाइते भएमा भने अर्को बलरलाई बलिङका लागि निम्यात्याउन सकिने व्यवस्था छ।

विश्वकप पछि विवाद

गत १४ जुलाईमा पुरुषतर्फ एकदिवशीय विश्वकप क्रिकेटको उपाधिका लागि आयोजक इंग्ल्यान्ड र न्युजिल्यान्ड भिडेका थिए। खेलमा निर्धारित ५० ओभरमा दुवै टोलीले समान २ सय ४१ रन बनाए।

विश्वकप उपाधिको तय सुपर ओभरले गर्ने विश्वास गरियो। लर्ड्स मैदानमा भएको विश्वकप क्रिकेटको फाइनलको सुपर ओभरमा पहिले ब्याटिङ गर्दै इंग्ल्यान्डले १५ रन जोड्यो। १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १ ओभरमा समान १५ रननै बनायो।  पूरा खेलभर इंग्ल्यान्डले न्युजिल्यान्डभन्दा बढी चौका–छक्का प्रहार गरेका कारण उ विश्वविजेता घोषित भयो।

उक्त नतिजापछि आइसिसीको सुपर–ओभरसम्बन्धी नियममाथि टिकाटिप्पणी सुरु भयो। प्रशंसकदेखि क्रिकेटका जानकार तथा खेलाडीसमेतले यसमा परिमार्जन हुनुपर्ने आवाज उठाए। जसका कारण आईसीसीले नियम परिवर्तन गर्न लागेको हो।

जीत नभइन्जेल सुपर ओभर

संयुक्त अरब इमिरेट्सको दुबईमा सोमबार भएको आईसिसीको बोर्ड बैठकले सुपर ओभरसम्बन्धी नियममा परिर्वतन गर्दै अब दुवै टिमले बराबर रन बनाएको अवस्थामा एक टिमले स्पष्ट जित हात नपारुन्जेलसम्म निरन्तर सुपर ओभरको खेल खेलाइने छ ।

यो व्यवस्था आइसिसीको कुनै पनि टुर्नामेन्टको फाइनल र सेमिफाइनल खेलका लागि मात्र लागू हुने अध्यक्ष संशाक मनोहरले बताए। साथै बैठकले सुपर ओभर अब २० तथा ५० ओभरको विश्वकपका सबै खेलहरुमा लागू गर्ने समेत निर्णय गरेको छ। यसअघि नकआउट खेलहरुमा मात्र सुपर ओभरबाट निर्णय लिइने गरिन्थ्यो। समूहचरणमा बराबरी भएमा भने अंक बाँडिने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.