|

- रमेश कुमार राज

भ्रमणको औचित्य

चिनियाँ राष्ट्रपति सी जिनपिङको बहुप्रतीक्षित नेपाल भ्रमण सम्पन्‍न भएको छ। चिनियाँ राष्ट्रपति सीले नेपालमा २२ घण्टाको आफ्नो महत्वपूर्ण समय नेपाल-चीन सम्बन्धको नयाँ अध्यायको  सुरुवातका लागि खर्चेर गएका छन। उनले यहाँ नेपालको राष्ट्रपति, सरकारी प्रतिनिधि मण्डल, प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा सचिवालयका नेताहरू राष्ट्रियसभा अध्यक्ष तथा संघीय संसदको उपसभामुख प्रतिपक्षका नेतालाई भेट गर्दै नेपालको हितमा केही प्रतिबद्धताका साथ २० वटा सहमति एवम् समझदारीपत्रमा हस्ताक्षर गरी फर्केका हुन।

राष्ट्रपति सीको स्वागत आमजनतादेखि सरकार र प्रतिपक्षीसमेतले खुलेर गरेको पाइयो। यो हुनु पनि आवश्यक थियो। भ्रमणपश्चात् भने नेपालको राजनीतिक, कूटनीतिक र सामाजिक वृत्तमा राष्ट्रपति सी भ्रमणको सफलता एवम् कमी कमजोरीमाथि टीका-टिप्पणी आउने क्रमको सुरुवात भइसकेको छ, जुन स्वाभाविक हो। यसै सन्दर्भमा सी भ्रमणको औचित्य र भ्रमणको विविध आयामलाई यसरी हेर्न सकिन्छ ।

भूपरिवेष्ठितबाट भूजडित देश बन्‍ने सपनाको सारथि  

भ्रमणको पहिलो साँझ सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति सीले नेपाल र चीनबीच अझ सुविधाजनक 'कनेक्टिभिटी' कायम गरिने बताए। उनले सीमापारिको रेल सम्भाव्यता अध्ययन कार्यको थालानी, केरुङ्देखि काठमाडौंसम्मको सुरुङमार्गको परियोजनालाई सहयोग, अरनिको राजमार्ग सञ्चालन सुनिश्चितताका साथै राष्ट्रपति सीले बढीभन्दा बढी नाकाहरू खोल्ने प्रतिबद्धता जनाए। जसलाई मूर्तरूप दिने हेतुले नै नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी कायम गरियो।

त्यसैगरी, सुरुङ निर्माण समन्वयको लागि अर्थ मन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास निकायबीच समझदारी गरियो। यो प्रतिबद्धता र सम्झौताले भौगौलिक कठिनाइले उब्जिएको चीनसँगको नेपालको सुदूरतालाई नजिक्याउन हो।  नेपाल भूपरिवेष्ठित राष्ट्र हुनाले नै उत्पन्न हुने व्यापार तथा आवतजावतको समस्यालाई हल गरी भौगोलिक विकटतालाई रेल, सुरुङमार्ग र विभिन्‍न नाका खोलेर सुगम बनाउने कदमको थालनी हो।

त्यसैगरी, सीको धेरै नाकाको संचालन गर्ने प्रतिवद्धतालाई नेपालले ठोसरुपमा परिणत गर्न सके हाल विद्यमान भारतसँगको नाका प्रतिको अत्यधिक निर्भरता, नाकाबन्दीको समस्या असन्तुलित व्यापार जस्ता समस्याको हल हुन शुभारम्भ हुनेछ। यसले नेपालको व्यापारिक लाभ र दक्षिण नाकामा अत्यधिक निर्भरता मात्रै होइन, दुवै देशको जनताको ओहोरदोहोरमा सहजता ल्याउनेछ।

दुई देशबीच हुने नियमित र सहज सम्पर्कले विभिन्‍न आर्थिक सम्भावनाको बाटो खुल्नेछ। चिनियाँ व्यापारीले नेपालसहित सिंगै दक्षिण एसियालाई बजार मानेर नेपालमा लगानी गर्न थाल्नेछन्। यसका साथै चिनियाँ बन्दरगाहसम्म नेपालको पहुँचमा पनि सीमापारि सुविधाजनक 'कनेक्टिभिटी'ले मद्दत पुर्‍याउने छ। तर, यी सबै 'ल्याण्ड लक्ड टु ल्याण्ड लिङ्क्ड' हुने सपनाको संकल्पलाई पूरा गर्न चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता जुन 'चेक' हो, त्यसलाई क्यास गरिनुपर्छ। त्यसका लागि नेपालले कुशलतापूर्वक कूटनीतिको प्रयोग गर्नुपर्ने हुन्छ।

नेपाल भ्रमण वर्ष २०२० मा सहयोग

राष्ट्रपति सीलाई चिनियाँ जनताले आफ्नो आदर्श मान्छन र उनको भ्रमणसँगै नेपाल चिनियाँ जनताको रोजाइमा परिसकेको हुनुपर्छ। त्यसमा पनि उनले दक्षिण एसियामै चिनियाँले नेपाल अधिक रुचाउने भन्दा त्यसले उल्लेखनीय मात्रमा चिनियाँ पर्यटकको आगमनको बाटो खोलिदिएको छ, जसले नेपाल भ्रमण वर्ष २०२० का लागि सहयोग गर्ने भएको छ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने सीले भनिसकेका छन। तर, यसलाई मूर्तरूप दिन नेपाल पक्षको कडा परिश्रमको आवश्यकता हुन्छ। भ्रमण वर्ष २०२० लाई तयारीको आवश्यकता छ, जहाँ चीनले  नेपाल भ्रमण वर्ष प्रवर्द्धन गर्न अभिप्रेरणा प्रदान गर्ने, राजनीतिज्ञ, सांसद र आमसञ्चारमा आदानप्रदान तथा सांस्कृतिक आदानप्रदान गर्न सहयोग गर्ने आशय प्रकट गरिसकेको छ। नेपालले यस्तो सहयोगको परिणामुखी नतिजाको लागि आफ्नो तयारीमा कुनै कसर छोड्नुहुँदैन।

व्यापार घाटाको  समस्या समाधान

राष्ट्रपति सीले चीनको धेरै मुलुकसँग व्यापार असन्तुलन भएका स्थितिमा यसलाई समाधान गर्न सकिने विश्वास दिलाउँदै नेपालले प्रतिस्पर्धात्मक वस्तु निर्यात गर्न उल्लेख गरे। व्यापार घाटाको समस्याको हल गर्न नेपालको पक्षबाट नै जोडबल गरिनुपर्दछ। यसका लागि संयुक्त कार्यदल स्थापनासम्बन्धी नेपालको उद्योग मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीचको समझदारीलाई शीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने हुन्छ।

मन्त्रालय मातहतको कार्यदलले संयुक्त रुपमा सन्तुलित व्यापारका लागि व्यापार घाटाको नियमित अध्ययन गरी आवश्यक सुझाव दिन सक्ने छन्। साथै दुई देशवीचको व्यापारको नयाँ विषयवस्तुको अध्ययन गर्न सक्नेछन् र व्यापार प्रवर्द्धनमा सहजकर्ताको भूमिका खेल्न सक्ने छन्। यसका साथै नेपालबाट चीनमा सुन्तलालगायत फलफूल निर्यातका लागि आवश्यक प्रोटोकलसम्बन्धी सम्झौता भएको छ, जसले नेपालबाट सहजरूपमा सुन्तला र फलफूल निर्यात गर्न सक्ने वातावरण निर्माण गरिदिएको छ। यसका लागि नेपालले उत्पादन, प्रशोधन र प्याकेजिङलगायत चिनियाँ बजारको अनुगमनजस्ता कार्यको शीघ्र थालनी गर्दा प्रभावकारी हुनेछ।

साझा हिमालय क्षेत्रको  रक्षा

राष्ट्रपति सी नेपालले जलवायु परिवर्तनबाट भोग्ने समस्याबारे चीन जानकार रहेको र उक्त समस्या समाधान गर्न संयुक्त रूपमा काम गर्न सकिने बताउँदै हिमाली क्षेत्रका बासिन्दालाई सरलरूपमा पुनःस्थापना गरी उनीहरूको जीवनस्तर उकास्ने कुरामा सहयोग गर्ने प्रतिबद्धता पेस गरे। जुन कुरामा नेपालले चीन पक्षसँग परामर्श गरी संयुक्त प्याकेज ल्याउन सक्ने छ। विपद् जोखिम न्यूनीकरण र आपत्कालीन सहायताका लागि गृह मन्त्रालय र चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयबीच त्यसका लागि समझदारी भएको छ।

त्यसैगरी अरू विपद् नियन्त्रण सहयोगमा नेपालमा चाइना एड अर्थक्वेक मनिटरिङ नेट्वर्क प्रोजेक्टका लागि कार्य गर्ने कुरामा पनि सहमति भइसकेको छ। जसको कार्यान्यवनका लागि नेपालले तादरुकता अप्नाउन जरुरी छ।

गरिवी र जीवनस्तरमा अभिवृद्धि

नेपालीको जीवनस्तर उकास्नका लागि सन् २०२० देखि २०२२ सम्मका लागि ३.५ अर्ब आरएमबी उपलब्ध गराइने कुरा राष्ट्रपति सीले उल्लेख गरे। जसको लागि नेपाल तर्फबाट विस्तृत कार्यक्रम तयार गरिनुपर्ने छ। नेपालले जीविकोपार्जन र आममानिसको जीवनस्तर उकास्न सहयोगात्मक कार्यक्रमको खाका कोर्ने सके चिनियाँ सहयोगले विपन्न सामुदयको जीवनमा केही हदसम्म परिवर्तन ल्याउन सकिनेछ।

सौहार्द सम्बन्धको प्रतिवद्धता

राष्ट्रपति सीले दुई देशको सौहार्द सम्बन्धमा 'नेपाल र चीनबीच अरू केही हैन मित्रता मात्र' रहेको उल्लेख गरे। साथै दुई देशबीचको सम्बन्ध जीवन्त राख्न आपसी समझदारीमा जोड र धेरै जस्तो रूपले छिमेकीको समस्या सीमा विवाद हुने यथार्थलाई बुझेर सीमा व्यवस्थापन प्रणालीको लागि सम्झौता, सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणको लागि पत्र आदानप्रदान गरेका हुन्। यो सम्झौताले विद्यमान सीमासम्बन्धी असन्तुष्टि र भविष्यमा  हुने कुनै पनि सीमा विवादलाई हाल गर्न सक्ने छन्। 

त्यसैगरि दुवै देशको सुशासन क्षमता अभिवृद्धिका लागि समझदारी कायम भएको छ। काठमाडौं महानगरपालिका र चीनको नानजिङ सिटीबीच तथा बुटवल उपमहानगरपालिका र चीनको जियाङ सिटीबीच भगिनी सम्बन्ध स्थापनाको सहमति पनि भएको छ। अपराधसम्बन्धी आपसी कानुनी सहायताका लागि सम्झौता र महान्यायाधीवक्ता कार्यालय र चीनको सुप्रिम पिपुल्स प्रोक्युरेटर्सबीच समझदारी कायम भएको छ। यी समझदारीले दुवै देशको एक अर्काप्रति विश्वाश, सहयोग र सौहार्दतालाई बढावा दिनेछ। यसका लागि दुवै देशको एकअर्काप्रतिको उत्तिकै सहयोगको आवश्यकता हुनेछ, जसका लागि दुवै देश हरपल तत्पर रहनुपर्नेछ।

द्विपक्षीय लगानीको प्रवर्द्धन

राष्ट्रपति सीको भ्रमणमा नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानीका प्रमुख परियोजनाको प्रवर्द्धन र उत्पादनमूलक क्षमतामा समन्वयको लागि समझदारी भएको छ। जसले लगानीको क्षेत्रको पहिचान गरी लगानी सुदृढ गर्ने सक्ने छन्। यसले लगानी प्रवर्द्धन गरी लगानीका नयाँ आयामको अध्ययन गर्ने सक्ने छन् र हालका लागनीलाई नियमन र अनुगमन गर्ने सक्ने छ्न्। 

त्यसैगरी, लगानी समन्वय कार्यदल स्थापनाको लागि अर्थ मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच समझदारी भएको छ। जसले नेपालमा लगानीकर्तालाई सहज रूपमा लगानी गर्ने वातावरणको निर्माण गर्ने सक्ने छ।

शिक्षा स्वास्थ

राष्ट्रपति सीको भ्रमणले दुवै देशको परम्परागत औषधि व्यावस्थापन, प्रवर्द्धन र उत्पादन सहकार्यका लागि  स्वास्थ्य मन्त्रालय र चीनको राष्ट्रिय परम्परागत औषधि प्रशासनबीच समझदारी भएको छ। त्यसैगरी जीवन दर्शन र अध्यात्मिक चिन्तनसम्बन्धी अध्ययन र अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापनाका लागि सम्झौता भएको छ। यसले दुवै देशको स्वास्थ्य क्षेत्रबाट नतिजामुखी खोज र अध्यान गर्न सक्ने छन् भने नेपालमा कन्फ्युसियस अध्ययन गर्नेलाई सहजता प्रदान गर्नेछ।

यो चीनको सफ्ट पावर अप्रोच पनि हो जसले नेपाललाई कुनै हानीनोक्सानी हुने छैन। कन्फुसियस अध्ययन कुनै धार्मिक र सांस्कृतिक अध्ययनभन्दा पनि जीवन दर्शनको अध्ययन हो। यसको अध्ययनले बुद्धत्वझैँ जीवनलाई मार्गदर्शन गर्ने र मानिसमा अध्यात्मिक चेतको विकास गर्नेगर्छ। 

कतिको एतिहासिक? कतिको सफल भ्रमण?

साधारणत: सी भ्रमण एतिहासिक रहेको कुरा नेपालको हीत र स्वार्थकेन्द्रित रहेर निर्धारित गरि विचार आउँदै छन र आउने छन्। नेपालको हित र स्वार्थको कुन हदसम्म सम्बोधित भयो? नेपालले सी भ्रमणबाट  के-के लाभ लिन सक्यो भन्ने कुरामा सीको भ्रमणको सफलतालाई  निर्धारित गरिँदै छ र गरिएला। यो आ-आफ्नो विचार र तर्क संगत सही होलान् तर नेपालको वर्तमान अन्तर्राष्ट्रिय सम्बन्धको माग अन्तरदेशीय समबन्धमा राष्ट्रिय स्वार्थको सीमित दायरा भित्र खुम्चिनु होइन, बरू अन्तर्राष्ट्रिय जगतमा प्राथमिकतामा पर्नु हो र राम्रो र छवि निर्माण गर्नु हो।

त्यसका लागि अधिकतम शक्ति राष्ट्रहरूसँगको मित्रतालाई जोड दिनु हो, त्यसमा पनि चीन जस्तो छिमेकी मित्रराष्ट्र र विश्वउदयीमान शक्तिसँगको सम्बन्धमा नेपालले प्राथमिकता पाउनु र उच्चस्तरीय भ्रमण हुनुले नेपालको अन्तर्राष्ट्रिय छवि र पहिचानमा ठूलो महत्व राख्छ। यस अर्थमा राष्ट्रपति सीको भ्रमण आफैँमा एतिहासिक भयो भन्ने भनिराख्नु पर्दैन। हिमालको शीरसँगै जोडिएको छिमेकीबाट २३ वर्षपछि भ्रमण हुनु आफैँमा ठूलो उपलब्धि हो।

यो उपलब्धि कुनै पनि राष्ट्रिय हीत र स्वार्थभन्दा माथि हो किनकी यो भ्रमणले नेपालको अन्तर्राष्ट्रिय महत्व अवश्य पनि बढाइ दिएको छ। विश्वको उदयीमान शक्तिको शक्तिशाली र प्रभावशाली नेताले नेपाल टेक्नु भनेकै उनको प्राथमिकतामा परेरै हो। 

त्यसैले भ्रमण उपलब्धिमूलक भन्नु हत्तारो होला तर एतिहासिकभन्दा कुनै फरक नपर्ला। भ्रमण उपलब्धिमूलक हुन यहाँको चलनअनुसार ठूलो आर्थिक सहयाता भ्रमणसँगै भित्रिनु मात्र हो तर सी भ्रमणको प्रतिबद्धता र सहमतिहरू केलाउने हो भने नेपालको हितमा चीनको तर्फबाट स्पष्ट मार्गचित्र सहितको दीर्घकालीन सहयोग झल्किन्छ। सीले जसरी आफ्नो माटो र देशको लागि स्पष्ट मार्गचित्र सहितको दीर्घकालीन मुद्दा र योजानाको उठान गर्छन त्यहीअनुरूप नेपालको समयानुकूल हित र दुवै देशको सम्बन्धको लामो दूरीको मार्ग चित्र कोरेर गएका छन्।

नेपालको अबको भूमिका के?

नेपालको हालको नेतृत्वलाई सीको भ्रमणलाई उपलब्धिमूलक सावित गर्नुपर्ने चुनौती आइपरेको छ। राष्ट्रपति सीले नेपाललाई दिएको चेकलाई क्यास गर्ने हालको नेतृत्वको प्रमुख जिम्मेवारी हो। त्यसका लागि नेतृत्वमा समझदारी र प्रतिबद्धताप्रति दृढताका साथ लगनशीलता र मेहनत चाहिन्छ। चिनियाँ राष्ट्रपतिले भनेझैँ जनताको मन जित्न जनताप्रति समर्पित हुनु आवश्यक छ। हाल गरिएको सम्झौताको कार्यान्यवनका लागि इच्छाशक्ति र कौशल कूटनीति नितान्त आवश्यक छ। यी सम्झौताहरु सरकारमात्रै होइन, सिंगो देशको कार्यकौशलता र सक्षमताको परीक्षा हो, जसको सफलताले नेपालप्रतिको विश्वासमा बढावा ल्याउन सक्दछ।

- राज त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिशास्त्र अध्ययनरत छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.