|

मुगु : दुई महिना अघि सुरु गरिने भनिएको रारादेखि छायाँनाथ धाम हवाई प्याकेजको मंगलबार परीक्षण उडान गरिएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी मंगलबार सदरमुकाम गमगढीदेखि छायाँनाथसम्म सिम्रिक एयरको नाइन एन एएलपी कल साइन हेलिकोप्टरबाट परीक्षण उडान सम्पन्न भएको हो। 

परीक्षण उडानका क्रममा संघीय संसदका सदस्य गोपालबहादुर बम, कर्णाली प्रदेश पर्यटन प्रर्बद्धन समितिका संयोजक राजु कार्की, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्रबहादुर मल्लको टोली रारा छायाँनाथ प्याकेजको परीक्षण उडानमा सहभागी भएका थिए। 

परीक्षण उडानपछि गमगढीमा संक्षिप्त प्रतिक्रिया दिदै संघीय संसदका सदस्य गोपालबहादुर बमले अब मुगुको पर्यटकीयस्थल रारा मात्रै नभएर धार्मिकस्थल छायाँनाथ माथिल्लो मुगु पनि पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत हुन सक्ने बताए। 

रारा घुम्न आउने पर्यटकले रारामा स्नान गरि पवित्र तीर्थस्थल छायाँनाथ घुम्न चाहेमा हेलिकोप्टर प्याकेज सञ्चालन गरिनु पर्यटन प्रवर्द्धनमा निकै सहयोग मिल्ने बमको भनाई छ। विशेष गरी छायाँनाथ धाम बौद्ध र हिन्दु धर्मावलम्वीले आ आफ्नै शैलीमा पुज्ने भएकाले पनि धार्मिक पर्यटनको निकै सम्भावना भएको सांसद बमले बताए।

नेपाल भ्रमण वर्षमा रारा छायाँनाथ प्याकेज मात्रै नभई से–फोक्सुण्डो रारा, रिभर टु रिभर, कान्जिरोवा– सैपाल माउण्टेन फ्लाइट, रारा सिमिकोट हिल्सा टुर्सलगायतका कर्णाली प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा विभिन्न कार्यक्रम सञ्चालन गरिने कर्णाली प्रदेश पर्यटन प्रवर्द्धन समितिका संयोजक राजु कार्कीले बताए। यस्ता प्याकेजले समग्र कर्णालीको पर्यटनको प्रवर्द्धनमा सहयोग पुग्ने दावी गरे।

दुई महिना अघि साउनबाट प्याकेज सञ्चालन गर्ने भनिए पनि प्रतिकूल मौसमका कारण प्याकेज सञ्चालन हुन नसकेको उपयुक्त मौसम असोजदेखि जेठसम्म हवाई प्याकेज उपयुक्त देखिएको कार्कीको भनाई छ। राराबाट छायाँनाथ पुगेर पुन रारा फर्किन एक पटकमा चारदेखि पाँच जना हेलिकोप्टरमा जान सक्ने देखिएको सिम्रिक एयरका चालक हरेराम थापाले बताए।

प्याकेज शुल्क

राराबाट छायाँनाथ र छायाँनाथबाट  रारा पुग्न ३० मिनेटको समय लाग्ने गर्दछ भने प्याकेजका लागि २५ देखि ३५ हजार खर्च लाग्ने जनाइएको छ। छायाँनाथ पुग्दासम्म मुगुकमारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिका मनोरम रमणीय स्थलको पनि अवालेकन गर्न सकिने बताइएको छ।

छायाँनाथ धामको धार्मिक कथन यस्तो छ 

छायाँनाथ धाम कर्णाली अञ्चलको मुगु जिल्लाको पूर्वी क्षेत्र डोल्फु गाविसमा पर्ने छायाँनाथ धाम पुस्तौंदेखि नै दुई धर्मालम्बीको संगमस्थल बनेको छ। छायाँनाथको स्थापना, त्यसको धार्मिक तथा पौराणिक महत्वका विषयमा बौद्ध धर्म र हिन्दु धर्मका धर्मालम्वीले आ आफनै विश्लेषण र तर्क गरिरहेका छन्। मुगु जिल्लाको सदरमुकाम गमगढीदेखि तीन दिनको पैदल यात्रापछि पुगिने छायाँनाथ धाम समुन्द्री सतहदेखि पाँच हजार मिटर माथिको उचाइमा अवस्थित छ।

केदार नाथ, बद्रिनाथ, पशुपति नाथ भन्दा छायाँनाथलाई जेठो धामका रुपमा मानिन्छ भने यसको अर्को स्वरुप मानसरोवर पनि हो। छायाँनाथबाट रारा ताल हेर्न सकिन्छ भने कान्जिरोवा लगायतका हिमालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ।

महादेवले शतिदेवीको शव बोकेर राराको बाटो हुँदै छायाँनाथ गएकाले छायाँनाथ धाम र हिमालको प्रतिविम्व रारामा पर्ने भएकाले कतिपयले रारालाई समेत तीर्थ स्थलका रुपमा मान्ने गर्दछन्। हरेक १२ वर्षमा बाँदर वर्षका रुपमा बौद्ध धर्मालम्वीले छायाँनाथको जन्म वर्ष मनाउने गर्दछन्। यो वेला परम्परागत पहिरन लगाएर बुढा पाकादेखि बाल बच्चा सबै छायाँनाथ जाने गर्दछन्।

छायाँनाथमा पुगेर नाचगान पूजा पाठ गर्ने पनि गर्दछन्। यता हिन्दु धर्मावलम्बीले पनि जनै पूर्णिमाका बेला नै छायाँनाथमा पुगेर, शिव, महादेवको रुप मानेर पूजा पाठ गर्ने, आ आफ्ना कुल देवताका मूर्तिहरू नुहाएर शुद्ध पार्ने काम समेत गर्दछन्।

छायाँनाथको पानीलाई शुद्ध तथा जल मानेर ल्याउने र फलफूलका रुखमा छर्ने, छायाँनाथ पुग्न नसकेकाहरूलाई जल दिने गर्दछन्। देवी देवताका मूर्तिहरू छायाँनाथबाट शुद्ध पारेर ल्याए पछि जनै पूर्णिमाको विहान आफ्नो गाउँमा पुगेर देवी देवताको पूजापाठ र धामी नाच्ने बैदिक परम्परा छ।

धार्मिक ग्रन्थ किम्वदन्ती अनुसार महादेवले शति देवीको मृत शरीरलाई बोकेर डुल्दै जाने क्रममा शति देवीको अन्तिम शेष पतन भएको स्थान नै छायाँनाथ धाम हुन पुगेकाले हिन्दुको पवित्र धाम मानिएको विश्वास गरिँदै आएको छ।

छायाँनाथ दर्शन गर्दा मनले सोचेको कुरा पुरा हुने, देवी देवता पाइने र पुण्य कमाउने भन्दै हजारौं तीर्थ यात्री छायाँनाथ पुग्ने गर्दछन्। भारतको काशी जानु पहिले छायाँनाथको दर्शन गर्नु पर्ने हिन्दुहरूको मान्यता छ। कासी दर्शन गर्न जाँदा त्यहाका पण्डितले छायाँनाथ गएको छ की छैन भनेर सोध्ने र नगएको भए बालुवाको थुप्रोले छायाँनाथको प्रतीक बनाएर दर्शन गराएपछि मात्र कासीको दर्शन गराउने गरेको ब्राह्माणको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.