|

पोखरा : अहिले चीन र नेपालको सिमानाअन्तर्गत कोराला नाकाबाट सात किलोमिटर चीनतर्फ धुम्बासेनमा अन्तर्राष्ट्रिय ब्यापार मेला चलिरहेको छ।

विशेष गरी नेपालको मुस्ताङीहरू र चीनका धुम्बा जिल्लाका बासिन्दाले प्रत्यक्ष लाभ लिने उक्त मेलामा दुई देशमा उत्पादन हुने खाद्यान्नदेखि लत्ताकपडाको कारोबार हुने गरेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार नेपालीले भेडा च्याङ्ग्राको उनबाट बनेका पस्मिनाका सामान र चीन तर्फबाट ब्लाङ्केट बिक्री हुने गरेको छ।

‘यताकाले तिब्बतमा बनेको ब्लाङ्केट लगायतका चाइनीज सामान खरिद गर्छन्’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘उताकाले भने यताको चौँरी, च्याङ्ग्राको उनबाट बनेको पस्मिना खरिद गर्छन्। उता चामल दाल त्यति मिठो नपाइने भएकोले यताका ब्यापारीसँग किनेर लैजाने गर्छन्।’ उनका अनुसार मुस्ताङीले सिमेन्ट, काठलगायतका सामग्रीहरू पनि यस पटकको ब्यापार मेलामा खरिद गरेका छन्।

‘नेपालबाट चामल, दाल, चौँरीको छुर्पी थाङ्का, पस्मिना तिब्बतीले लैजान्छन्’ उनले भने। नेपाली (विशेष गरी मुस्ताङी) ले उताबाट चक्लेट, बिस्कुटलगायत दैनिक उपभोग्य सामग्रीहरू पनि खरिद गर्ने गरेका छन्। मेलामा जानको लागि मुस्ताङ र बाहिरका जिल्लाका नागरिकलाई फरक फरक सुविधा प्रदान गरिएको छ।

मुस्ताङ्गीलाई नागरिकताको आधारमा र अन्य जिल्लाकाले भने जिल्ला प्रशासन मुस्ताङको सिफारिस पत्रको आधारमा मात्र चीनको भूभागमा भएको उक्त मेलामा सामान किन्न जान पाउँछन्। 

नेपालको मुस्ताङ र चीनतर्फ तिब्बतको ढुम्बासेन जिल्ला जोडिएको कोरला नाका वर्षको दुई पटक खुल्छ। असार र असोजमा त्यहाँ मेला लाग्ने गरेको छ। तिब्बतीले कोरला नाका हुँदै ‘खम्पा विद्रोह’ गरेपछि चीनले बन्द गरेको यो नाकामा पछिल्लो समय दुई देशका उच्च अधिकारीको वार्तापछि मेला गर्न खुल्ने गरेको छ।

साताब्यापी चल्ने उक्त मेला अझै केही दिन चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.