|

विराटनगर : विराटनगर महानगरपालिकाबाट प्रहरीले मंगलबार अवैध हुण्डी कारोवार गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर ४ कञ्चनबारीमा शंकास्पद चिजवस्तु बोकेर हिँडडुल गरिरहेको अवस्थामा सुनसरीको बर्जु ३ का २४ वर्षीय उमाकान्त रायलाई पक्राउ गरेको हो।

रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट १० लाख रुपैयाँ, बैंकको चेकबुक २ थान बरामद गरिएको छ। उनी हुण्डी कारोबारमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ। उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाईएको मोरङ प्रहरीले जनाएको छ। 

पक्राउ परेका राय विराटनगरस्थित गणपती मनि ट्रान्सफरमा काम गर्दछन्। विगतमा सहकारीको आडमा हुने गरेको हुण्डीको कारोबार अहिले मनिट्रान्सफरलाई देखाएर हुने गरेको छ। हुण्डिमार्फत अवैध रुपमा आर्थिक कारोवार भइरहेको र त्यसको ठूलो सञ्जाल फेरी सक्रिय भएको प्रहरीका अधिकारीहरू बताउँछन्।

महानगर क्षेत्रमा हुण्डी कारोवारमा ठूलो गिरोह सक्रिय रहेको बताइन्छ। बरामद गरेको अवैध पैसा हुण्डी कारोबार प्रयोग हुने गरेको स्वयं पक्राउ परेका रायले स्वीकार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएपी राजकुमार खिउँजुले जानकारी दिए। ‘बरामद भएको रुपैयाँ सम्बन्धित ठाउँमा लैजाने तयारी गर्दा जफत गरेको हो,’ उनले भने, ‘स्रोत खुलाउन नसेको अवैध रुपैयाँ कहाँ लैजान खालेको त्यो भने अहिले खुलेको छैन। हामी अनुसन्धानको क्रममा छौँ।’

मोरङ प्रहरीले यसअघि विराटनगरमा सहकारीको आड लिएर हुने अवैध हुण्डीको कारोबारीलाई ६९ लाख ५७ हजार ६ सय रुपैयाँसहित बरामद गरेको थियो। हुण्डी कारोवारीलाई आवश्यक कारवाहीको लागि प्रहरीले इटहरीस्थित राजस्व अनुसन्धान कार्यायमा पठाउने गरेको थियो।  तर, राजस्व अनुसन्धानले गहन रूपमा अनुसन्धान नै नगरि पहुचका आधारमा बरामद भएको धरौटी बराबरको रकम बुझाएर हुण्डी कारोबारीलाई छोडेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.