|

धनगढी : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूसँग सुझाव लिएको तर लागू नगरेको आरोप लगाएका छन्।

दशैं, दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पूर्व संचारकर्मीसँग प्रतिक्रिया गर्दै उनले  चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भएका सम्झौतामा आफूले दिएको सुझाव लागू नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

चीनसँग सरकारले गरेको २० बुँदे सम्झौतामा सुदूरपश्चिमका कुनै पनि ठुला योजना नपरेको भन्दै आफूले दिएको सुझाव प्रधानमन्त्रीले कार्यान्वयन गरेको रावलले आरोप लगाए। चिनियाँ राष्ट्रपतिको भ्रमण अघि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा आफूले महत्त्वपूर्ण विषय उठाएको र प्रदेशको समृद्धिका बिषयमा जानकारी गराएको उनले बताए। 

‘प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा पश्चिम सेती लगायत सुदूरपश्चिमका सडकहरू र जलविद्युतका आयोजनाहरूमा वैदेशिक लगानी भित्राउने विषयमा ध्यान पुर्‍याउनु पर्छ भनेको हुँ’ उनले भने, ‘दार्चुलाको तिंकर नाका, बझाङको उरै नाका खोल्न पनि कसैले चासो दिएको छैन। चिनियाँ राष्ट्रपतिको भ्रमणमा कुरो होस् भनेर माग गरेको थिए।’ 

बहुउद्देश्यीय पश्चिम सेती जलविद्युत आयोजना, दार्चुलाको तिंकर हुँदै तिब्बत जोड्ने नाका र बझाङको उरै भञ्ज्याङ हुँदै तिब्बतको ताक्लाकोट जोडने नाकाका बारेमा आफूले कुरा राखेको भए पनि त्यो नपर्नु दुखद भएको रावलको भनाइ थियो। चिनियाँ राष्ट्रपतिसँग नेपालले गरेको सम्झौतामा सुदूरपश्चिम प्रदेशका कुनै पनि विषय नपर्नु न्यायोचित नभएको उनले गुनासो गरे।

‘सम्झौतामा सुदूरपश्चिम प्रदेशका कुनै कुरा उल्लेख छैन। यो न्यायोचित भएन’ उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक विकासको धारण अनुरूप भएन।’ रावलले राजधानी वरिपरिको विकासले मात्रै देशको समग्र विकास नहुने बताए। उनले भने, ‘काठमाडौँ र त्यसको वरिपरि मात्रै सीमित राख्ने जुन प्रवृत्ति छ। त्यसको अन्त्य हुनु पर्छ।’

सुदूरपश्चिम प्रदेशका कुनै विषय नसमेटिएको भए पनि रावलले चिनियाँ राष्ट्रपति सीसँग भएका सम्झौता तत्काल कार्यान्वयनमा लैजानु पर्ने बताएका छन्। ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अवसरमा जति पनि भौतिक पूर्वाधारहरू निर्माण गर्ने कुराहरू अगाडि आएका छन्। धेरै स्वागत योग्य छन्’ उनले भने, ‘नेपालले तिनीहरूको कार्यान्यन गर्ने र राष्ट्रिय हितलाई सर्वाेपरि राखेर अगाडि जानुपर्छ।’

पार्टी एकीकरण पछि बसेको नेकपाको दोस्रो बैठक सकिए लगत्तै दशैं, दीपावली तथा छठ पर्वको अवसरमा प्रदेश कार्यालयले चियापान कार्यक्रमको आयोजना गरेको हो। नेकपाको दोस्रो बैठकले बैतडीको झुलाघाटमा पक्की पुल निर्माण गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको उनले बताए।

नेपाल भारत सीमा नाका बैतडीको झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै ३७ दिनदेखि जारी रहेको रिले अनशन सोमबार स्थगित भएको थियो। एक सूत्रीय झुलाघाट नाकामा पक्की पुल निर्माणको माग गर्दै गत भदौ २२ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि अनशन थालिएको थियो।

 ‘धेरै लामो समयदेखि झुलाघाटमा पक्की पुल बन्नुपर्छ भन्ने यहाँका नागरिकहरूको माग रहेको थियो’ रावलले भने, ‘महाकाली नदी माथि दुई देशलाई जोड्ने पुल बनाउन भनेर प्रस्तब पारित गरेका छौँ। म पनि सरकारले तुरुन्त ध्यान दियोस् भन्ने माग गर्दछु।’ सोमबार सम्म प्रदेश कमिटीको बैठकले प्रदेश पदाधिकारीहरूले गरेको निर्णय अनुमोदन गरेको छ।

बैठकले प्रदेश कमिटीको आर्थिक प्रतिवेदन पारित गरेको छ। बैठकमा सबै जिल्लाका अध्यक्षहरूले कार्य विवरण प्रस्तुत गरेका थिए। प्रदेश कमिटीको बैठकले समायोजनमा बाँकी काम टुङ्गाउने जिम्मा प्रदेश पदाधिकारीलाई दिएको छ। पश्चिम सेती तत्काल बनाउन सरकारलाई दबाब दिने र  झुलाघाटमा पक्की  पुल बनाउन ध्याकषर्ण गर्ने समेत निर्णय गरिएको छ।

सोमबारको बैठकले मंगलबार चियापानको कार्यक्रम आयोजना गर्न समेत निर्णय गरेको थियो। मंगलबार आयोजित चियापान कार्यक्रममा नेकपाका प्रदेशका इन्चार्ज तथा स्थायी कमिटी सदस्य रावल, प्रदेश अध्यक्ष कर्ण थापा, स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेख राज भट्ट, सह–इन्चार्जहरू, सचिव, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका सभामुख, उपसाभामुख, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो। चियापान कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री भट्ट, प्रदेश अध्यक्ष थापा र प्रदेश इन्चार्ज रावलले धारणा राखेका थिए।

तीन दिन प्रशिक्षण हुने

नेपाल कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा आफ्नो दलबाट निर्वा्चित पदाधिकारीलाई तीन दिन प्रशिक्षण दिने भएको छ। धनगढीमा सोमबार सम्पन्न पार्टी प्रदेश कमिटीको दोस्रो बैठकले स्थानीय तहका पदाधिकारीहरूका लागि प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको हो। गाउँ पालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समतिका सबै पदाधिकारीहरूका लागि प्रशिक्षण आह्वान गरिएको हो।

स्थानीय तहमा काम गर्ने शैली, न्यायिक समितिहरूमा आइपर्ने कानुनी जटिलता लगायतका बिषयामा प्रशिक्षण दिने जनाइएको छ। सोमबारको प्रदेश कमिटी बैठकले कात्तिक १ गतेदेखि ३ गतेसम्म प्रशिक्षण दिने निर्णय गरेको हो।

प्रशिक्षणको उद्घाटन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट प्रचण्ड धनगढी आउने कार्यक्रम तय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.