|

पर्वत : धेरैको सोच हुन्छ उच्च तहको अध्ययन गरेपछि कलेज पढाऊँ, सरकारी जागिर खाऊँ। तर, यो मान्यतालाई त्यागेर पर्वतको कुस्मा नगरपालिका ९ कटुवाचौपारीका कृषक विदुर लामिछानेले भने पढेका मान्छेले पनि खेतबारीमा काम गर्न हुन्छ, कुखुरा पालेर खोर सफा गर्न हुन्छ, बिक्री गर्ने अण्डा बोक्दै बजारमा डुल्न हुन्छ, भैँसी पालेर गोबर फाल्न हुन्छ भन्ने कुरा प्रमाणित गरेका छन्।

शैक्षिक बेरोजगारीको समस्या रहेको नेपालमा विदुरले एउटा उदाहरण बेरोजगारहरूका लागि प्रस्तुत गरेका छन्। उनले २०६३ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्वास्थ्य विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन्।

जिल्लामा सबैभन्दा ठूलो लगानी र ठूलो संख्यामा पालिएका कुखुरा फार्म विदुरकै बनेको छ। उनले बनाएका चारवटा फर्ममा अण्डा उत्पादनको लागि पालिने लेयर्स जातका सात हजार कुखुराहरू पालिएका छन्।

बिहान पाँच बजे उठेपछि राति अबेरसम्म पनि उनी कुखुराकै खोरमा व्यस्त हुन्छन्, भैँसी दुहुन गोठमा पुग्छन्, गोबर फाल्छन्, घाँस काट्छन्। पढेकाहरूले नै परिश्रम गर्ने हो भन्ने मान्यता राख्ने विदुर भन्छन्, ‘पढेकाहरूले जागिर नै पाउनुपर्छ भन्ने कहाँ हुन्छ र? पढेकाहरूले पनि कुखुराको विष्टी सोहोर्न हुन्छ। गाई भैँसीको गोबर सोहोर्न हुन्छ, घाँस काट्न हुन्छ।’

विदुरले पालेकामध्ये पाँच हजार तीन सय कुखुराले अण्डा दिइरहेका छन्। उनले आफ्नो पोल्ट्री व्यवसायलाई अहिलेको अवस्थासम्म ल्याउन झन्डै एक करोडभन्दा बढी लगानी गरिसकेका छन्। कुखुरा पालनको लागि भौतिक संरचना तयार पार्न ७० लाख खर्च गरेका उनले ३० लाख मूल्यका कुखुरा खोरमा राखेका छन्। उनको फार्मबाट अहिले दैनिक ४५ सय अण्डा उत्पादन हुने गरेका छन्।

दिनमै ४५ हजार खर्च

विदुरले तयार पारेको हिसाबअनुसार उनको फार्ममा पालिएका कुखुराको लागि एक दिनमै ४५ हजार रुपैयाँ खर्च हुने गरेको छ। ‘अहिले दैनिक १५ बोरा दाना सकिन्छ, साना चल्लाहरू पनि भएका कारण यती लागेको हो।

चल्ला बढेपछि यसको दोब्बर दाना दैनिक रूपमा खपत हुन्छ।’ उनले भने, ‘दाना, पानी, औषधिको हिसाब गर्दा एक दिनमा ४५ हजार रुपैयाँ लगानी हुन्छ।’ उनको खोरमा रहेका पाँच हजारभन्दा बढी कुखुराले दैनिक अण्डा दिएका छन् भने अब झन्डै १५ सय कुखुराले अबको ६ महिनामा अण्डा दिन थाल्नेछन्।

दैनिक दुई हजार घाटा

कुखुरा पालनमा हौसिएका विदुर दैनिक रूपमा भइरहेको घाटाका कारणबाट भने यो व्यवसायबाट निराश बनेका छन्। ठूलो अपेक्षाका साथ २०७४ असोजबाट कुखुरा पालन सुरु गरेका उनलाई भारतबाट वा देशका अन्य ठाउँबाट आयात गरिने अण्डाले पिरोलेको छ। ‘राज्यको उचित नीति नरहेका कारण अहिले धेरै कुखुरा पालक कृषकहरू धराशायी भएका छन्। यस्तै, अवस्थामा रहे अबको दुई वर्षमा कुखुरा पाल्नेहरू विस्थापित हुनेछन्।’

विदुरले भने, ‘कृषकले उत्पादन गरेको कृषि उपजलाई राज्यले ग्यारेन्टी गर्न सक्नुपर्छ। भारतीय बजारबाट लुकीछिपी भित्राइने अण्डाले नेपालमा उत्पादन भइरहेका अण्डाको बजार बिगारेको छ।’ चोरी बाटोबाट बजारमा आएका अण्डा सस्तो दरमा पाउँदा स्थानीय कृषकहरूले उत्पादन गरेको अण्डाले बजार नपाएको उनले बताए।

दानाको अनुपातमा अण्डाको मूल्य सस्तो भएका कारण पनि अण्डा उत्पादक कृषकहरू ठूलो समस्या रहेको विदुरको भनाइ छ। ‘दानाको मूल्य आकासिएको बेलामा पनि सस्तो दरमा अण्डा बिक्री गर्न खोज्दासमेत बजारको अभाव छ। महँगो सामान खरिद गरेर सस्तोमा बिक्री गर्दा हरेक दिन घाटा भइरहेको छ।’

व्यवसायलाई घाटामा जान नदिन उनले हालै मात्र अण्डालाई बजारमा बिक्रीका लागि पठाउन जिप पनि खरिद गरेका छन्। फार्मबाट बजारसम्म अण्डा पठाउन समस्या हुनुका साथै डुलाएर भए पनि अण्डा बिक्री नगर्ने हो भने उत्पादन नै खेर जाने अवस्था रहेका कारण उनी जिपमा डुलाएर भए पनि बजारको खोजीमा निस्कन बाध्य छन्।

राज्यले कृषकमैत्री नीति बनाएर सकेसम्म जिल्लामा उत्पादित वस्तुलाई जिल्लामा नै खपत हुने व्यवस्था मिलाउने र माग धान्न नसकेमा मात्र अन्यत्रबाट आयात गर्ने प्रबन्ध हुनुपर्ने विदुरको सुझाव छ। ‘स्थानीय कृषकले उत्पादन गरेको बस्तुले स्थानीय बजारमा पहिलो हक पाउनुपर्छ।’

उनी भन्छन्, ‘ओल्लो घरमा तरकारी खेती गरेको बेलामा पल्लो घरको मान्छेले भारतबाट ल्याएको तरकारी किन्ने अवस्था रहेसम्म ओल्लो घरको मान्छेको जीवनस्तर र व्यवसाय कसरी फस्टाउँछ?’

अण्डा दिएर बुढा भएका कुखुरालाई बजारमा डुलाएर बेच्ने गरिएको छ। २४ महिना पुगेपछि ज्युँदो कुखुरालाई गाडीमा राखेर बजारमा डुलाएर बेचिने, कि त अरू नै व्यवसायीले सङ्ख्या गनेर एकमुष्ट कुखुरा उठाएर लैजाने गरेको उनको भनाइ छ।

कुखुराले २४ महिनापछि पनि अण्डा भने दिइरहने तर दानाको खपत झनै बढ्दै जाने भएका कारण उत्पादनको तुलनामा लगानी बढी हुने कारण बेच्नुपर्ने विदुरको भनाइ छ।

विदुरको फार्मबाट उत्पादन हुने गरेको अण्डा सदरमुकाम कुस्मा बजारमा बिक्री हुने गरेको छ। त्यसबाहेक घरबाटै आफ्नै गाउँ कटुवाचौपारी र गाडीमा डुलाएर बागलुङ, म्याग्दी, कास्कीको नयाँपुल तथा पर्वतकै ग्रामीण क्षेत्रमा रहेका साना बजारमा पनि बिक्री गर्ने गरिएको छ।

वैशाखको हावाहुरीले चार लाखको क्षति

उत्पादित अण्डाले बजार नपाएको अवस्थामा गत वैशाख र जेठ महिनामा चलेको तीव्र हावाका कारण उनको खोरमा रहेका १५ सय कुखुरा मरे। जोडसँग आएको हावाले फार्मको जस्ता हल्लाउँदा निस्किएको चर्को आवाजका कारण झस्किएर दैनिक रूपमा अण्डा दिइरहेका केही कुखुरा मरे भने केही हावाको बेग धान्न नसकेर मरे। ‘बजारमा पिक अप नभएको बेलामा झन्डै चार लाख रुपैयाँका कुखुरा मर्दा व्यवसायमा असर परेको छ।’

अर्कोतर्फ यति ठूलो फार्म सञ्चालन गरिरहँदा पनि सरकारी निकायले बेवास्ता गरिरहेको उनको आरोप छ। एउटा कोठामा सामान्य तरिकाले कुखुरा पालिरहेका कृषकहरूले पनि सरकारी अनुदान र प्राविधिक सेवा पाइरहेको बेलामा आपूmले भने सरकारबाट एक रुपैयाँ पनि अनुदान नलिएको विदुरले सुनाए।

‘दुई चार सय कुखुरा पालेर कृषक बनेकाहरूले राम्रै अनुदान लगेको मैले पनि देखेको छु।’ दुखेसो गर्दै उनले भने, ‘सात हजार कुखुरा पालेका ठाउँमा सहयोग गर्नुपर्छ भन्ने कसैको आएन। राज्यको नीति नै थोरै पालेकालाई मात्र अनुदान दिने भन्ने रहेछ की जस्तो लाग्यो।’

२० लाखमा फर्निचर उद्योग

विदुरले कुखुरा पालन सँगसँगै फर्निचर व्यवसाय पनि गर्दै आएका छन्। २०६३ सालमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे लगत्तै घरमा आएपछि उनले फर्निचर व्यवसाय सुरु गरेका थिए। फर्निचरमा पनि झन्डै बिस लाख रुपैयाँ भन्दा बढीको लगानी भइसकेका कारण त्यो व्यवसाय छोड्ने अवस्था नरहेको उनले बताए।

‘एक लाख, दुई लाख गर्दा गर्दै २० लाखभन्दा बढी फर्निचरमा लगानी भइसकेको छ।’ विदुर भन्छन्, ‘बिसौँ लाखको लगानी डुबाएर त्यो व्यवसाय छोड्न मिलेन, यही कारण फर्निचर उद्योग पनि सञ्चालन गरिरहेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.