देश अब नयाँ युगतिर लम्किएको दाबी

|

काठमाडौं : सत्तारुढ  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चियापान र शुभकामना कार्यक्रमले राजनीतिक संस्कारको रुप लिँदै गएको बताएका छन्। 

दशैँ, तिहार, नेपाल सम्बत र छठसहितका पर्वका अवसरमा पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अब देश प्रगतिपथतर्फ लम्किने बताए।

'यसखालका चियापान र शुभकामना कार्यक्रमले राजनीतिक संस्कारको रूप लिँदै आएको छ', उनले भने, 'पार्टीको आन्तरिक जीवनलाई नयाँ गति दिँदै आएको छ। अन्य दलहरूसँग पनि नयाँ सम्बन्ध बनाउन सहयोग गरेको छ। यस्ता कार्यक्रमले देशलाई थप प्रगतितर्फ लैजाने गरेको छ।' 

यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय रुपमा सम्बन्ध राम्रो बनाउन सकारात्मक वातावरण बनाउने भूमिका खेल्दै आएको उनले बताए। 'विदेशी दूतहरू आउने भएकाले हामी र अन्य देशबिचको सम्बन्धमा सकारात्मक प्रभाव पार्ने गरेको छ', उनले थपे, 'फरक संस्कृतिको मुलुक भएकाले यहाँ विविधता पाइन्छ। सबैको चाड सबैले मनाउने परम्परा नेपालमा रहँदै आएको छ।'

अध्यक्ष दाहालले चाडवाडले जातीय भाषिक विविधता भित्र एकताको भूमिका खेल्दै आएका बताए। 'नयाँ राजनीतिक परिस्थिति र वातावरणपछि हामी यो पर्व मनाइहेका छौं', उनले भने, 'राजनीतिक स्थायित्वको नयाँ वातावरणमा बनाएका छौँ। लामो श्रृंखला पार गरेर गणतन्त्रको परिस्थिति आएको हो। सिंगो नेपाली जनताको ७ दशकको संघर्षको उपज हो यो।' 

अध्यक्ष दाहालले अब देश नयाँ युगतिर लम्किएको पनि बताए। 'हाम्रो पार्टी र सरकारले अब नयाँ युगतिर लैजान्छ। समृद्ध नेपाल र सुखी नेपालीका लागि कदम कदम अगाडि बढाइरहेका छौँ', उनले भने, 'गतवर्ष संवैधानिक रूपमा कुनै विवाद नहुने गरि कानुन निर्माण गरेका छौँ।' 

यस वर्ष वैदेशिक सम्बन्ध सुमधुर बनाउने काममा महत्वपूर्ण पहल भएको उनले बताए । 'भारतसँग तेल पाइपलाइन जोडिएको छ। चीनका राष्ट्रपतिको अत्यन्तै सफल भ्रमणले नेपाललाई नयाँ उज्ज्वल भविष्यतिर लाने भएको छ', दाहालले भने, 'राष्ट्रपति सीले पनि नेपाललाई भूजडित बनाउन सहयोग गर्ने बताएका छन्। भारतबाट नेपाल आएर सीले त्रिदेशीय साझेदारीको आधार तयार भएको देखाएका छन्।' 

अध्यक्ष दाहालले अब जनताका आकांक्षा पूरा गर्नमा जुट्नुपर्ने बताए। 'संवैधानिक, कानुनी र राजनीतिक वातावरणलाई नयाँ संकल्पका साथ नेपाली जनताको छिटो विकासको आकांक्षा पूरा गर्न लाग्नुपर्छ', उने भने, 'सुदृढ राजनीतिक व्यवस्था, दलहरूको एकता र नयाँ राजनीतिक स्थायित्वको वातावरण बनायौं। यो परिवर्तनविरुद्ध विभिन्‍न टीकाटिप्पणी त होलान् तर चुनौती दिने अवस्था छैन। संसदमा भएका सबै दलहरू मिलेर अगाडि बढ्छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.