|

दार्चुला : झण्डै सय घरधुरी रहेको व्याँस गाउँपालिका-१ छाङ्गरु गाउँका ५६ वर्षीय जीतबहादुर बोहरा गाउँमा बिरलै जान्छन्। गाउँबाट करिब एक किलोमिटर टाढा तिंकर खोला किनारमा व्यवसाय गर्दै आएका बोहरा व्यवसायबाट फुर्सद नहुने हुँदा गाउँको सामूहिक पूजाका बेलाबाहेक अन्य बेला कमै गाउँसम्म पुग्छन्।

जिल्ला सदरमुकामबाट झण्डै एक सय बिस किलोमिटर उत्तर र समुद्री सतहदेखि ३ हजार ५० मिटरको उचाइमा रहेको छाङ्गरु गाउँका अब्बल व्यावसायी हुन्, उनी। जिल्ला सदरमुकामसँग सम्पर्क नै नहुने उक्त गाउँको गागा क्षेत्रमा झण्डै बिस रोपनी क्षेत्रफलमा स्याउ खेती गर्ने बोहरा सो क्षेत्रमा होटेल, रेस्टोरेन्ट र तयारी पोषाकको पनि व्यापार गर्छन् तर उनलाई चिनाउने व्यवसाय भनेको ‘तीनतले’ खेती नै हो।

समुद्र सतहबाट ३ हजारभन्दा बढीको उचाइ, वर्षको करिब पाँच महिना हिउँ पर्ने, जिल्ला सदरमुकामसँग बाटो, सडक सञ्जालले नजोडिएको क्षेत्रमा यसरी व्यावसायिक रूपमा कृषि गर्नु कम चुनौति भने थिएन। ‘बगरमा घरखेत बनाएको भन्दै 'पागल' भन्नेहरूलाई अहिले स्याउ दिन पाउँदा खुसी लाग्छ’ उनले भने।

तरकारी र फलफूल उत्पादन

उचाइमा अवस्थित वस्ती भएकाले छाङ्गरु गाउँको खेतमा वर्षको एक पटक मात्रै अन्न उत्पादन हुन्छ। गहुँ र फापर मात्रै फल्ने ठाउँमा आलु, मुला, रायो, काउली, फर्सी, काँक्रो, सिमी, भटमास, धनियाँ, टमाटर उत्पादन होला भनेर जीतबहादुरले खेती गर्ने कुरा गर्दा कसैले पत्याएका थिएनन्। तर, जब उनको करिब २० रोपनीभन्दा बढीको खेतमा स्थानीय पुग्छन् तब खेती सम्भव छ भन्ने मात्रै थाहा हुँदैन, आउने जतिले उनको मुक्त कण्ठले प्रशंसा पनि गर्दछन्।

तीन जातको स्याउ र खुमानी तथा तरकारी खेतीबाट वार्षिक ४ लाखभन्दा बढीको आय उनी गर्छन्। स्याउ खेतीका लागि उनकी धर्मपत्नी र उनले विभिन्न ठाउँबाट तालिमसमेत लिएका छन्।

तर, जिल्लामा स्याउ जोन कार्यक्रम ढिलो सुरु भएको र आफूले १० वर्ष पहिलेदेखि नै स्याउ खेती थालेकाले उनकी धर्मपत्नी शोभा बोहरा बताउँछिन्। ‘हामीले पहिलेदेखि नै उत्पादन थाल्यौं स्याउ जोनले बेर्ना र कटनीछटनीको मात्रै सहयोग गर्छ’ उनले भनिन्।

गत वर्ष करिब २० क्विन्टल स्याउ बेचेको र करिब १० क्विन्टल स्याउ कुहिएर गएको बताउँदै जितबहादुर भन्छन्–‘स्थानीय सरकार वा स्याउ जोनले सहयोग गरे तत्काल भण्डार गृह बनाउने योजनामा छुँ।’

पोलिहाउस (प्लास्टिकको घर) बनाउँदा गर्मी क्षेत्रमा हुने तरकारी पनि फलाउन सम्भव भएको बताउँदै जितबहादुर भन्छन्–‘गत वर्ष जमिन मूनिको (आलू र मुला) तरकारी मात्रै ७० हजार बढीको बेचेँ, जमिनमा हुने (रायो, काउली, हरियो धनिया, फर्सि, काक्रो, सिमि, भटमास, टमाटर) तरकारी नियमित उत्पादन हुने र बिक्री हुन्छ।’

सदरमुकाम खलंगासँग सम्पर्क नै नभएको उच्च पहाडी (हिमाली) क्षेत्रमा कृषि कार्य गरेर उनले छोरालाई राजधानी (काठमाडौं) मा होटेल म्यानेजम्यान्ट पढाइ रहेका छन्। त्रिदेशीय सीमा नाका खुल्यो भने र तिंकरसम्म सडक निर्माण भयो भने छोरालाई आफूले कृषिसँगै थालेको होटल व्यवसाय सुम्पने योजना उनको छ।

‘छोरालाई होटल सुम्पन्छु, मान्छे राखेर फलफूल र तरकारी खेती गराउँछु। आफू उच्च क्षेत्रमा पाल्न सकिने माछा पालन गरेर बस्छु’ ५६ काटेका जितबहादुर बोहराले भविष्यको योजना पनि सुनाए।

भारतीय उपभोक्ता

व्याँस गाउँपालिका-१ का दुई गाउँ (छाङ्गरु र तिंकर) सम्म पुग्न बाटो छैन। यी दुई गाउँ सदरमुकाम र अन्य क्षेत्रसँग बाटोका हिसाबले सम्पर्कविहीन छन्। आफ्नै बजारमा आफ्नो उत्पादन बेच्ने जितबहादुरको सपना सडक, बाटो नहुँदा पूरा हुन सकेको छैन तर उनलाई उत्पादन बेच्ने चिन्ता छैन।

सीतापुल (भारत नेपाल जोड्ने पश्चिमउत्तरको अन्तिम पुल) नजिकै रहेको भारतीय गाउँ गब्र्याङका स्थानीय तथा सीमा क्षेत्रमा तैनान भारतीय सुरक्षाकर्मी (भारतीय पुलिस, सीमा सुरक्षा बल, भारत तिब्बत सीमा पुलिस र भारतीय सैनिक) ग्राहक भएकाले उनलाई तरकारी खपत गराउने खासै चिन्ता हुँदैन। ‘ताजा र अर्गानिक तरकारी खोज्दै आउँछन्, तरकारीको त चिन्ता छैन तर स्याउ उत्पादन भएजति खपत हुँदैन’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.