|
प्रतीकात्मक फोटो

पर्वत : बागलुङको बागलुङ नगरपालिका ३ गुठी घर भएकी १७ वर्षीया बिजु जिसी मृत अवस्थामा फेला परेकी छिन।

गएको असोज १७ गतेबाट बेपत्ता रहेकी उनी ११ दिनपछि असोज २८ गते पर्वतको बिहादी गाउँपालिकामा पर्ने कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला परेकी हुन्। बिजु बेपत्ता रहेको भन्दै उनका श्रीमान् अशिम खड्काले जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दर्ता गरी खोजीका लागि अपिल गरेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीका अनुसार बिजुको शव पर्वत जिल्लामा भेटिएकोले उनको परिवारले जिल्ला प्रहरी कार्यालय पर्वतमा जाहेरी दर्ता गरेपछि मात्र जिल्ला अस्पताल पर्वतमा राखिएको बिजुको शवको पोष्टमार्टम हुनेछ।

पर्वतको जलजला गाउँपालिका ५ लेकफाँट माइती घर भएकी बिजुको विवाह गत भदौ २ गते भएको लेकफाँटका वडाध्यक्ष तिलकबहादुर जिसीले बताए। बिजुले बागलुङ गुठिका ३४ वर्षीय अशिम खड्कासँग भागी विवाह गरेको र विवाह दर्ता पनि नभएको वडाध्यक्ष जिसीको भनाइ छ।

'गत भदौ २ गते भागेर विवाह गरेको बुझिएको छ, उमेर १७ वर्ष मात्र भएकोले उनीहरूको विवाह दर्ता भएको छैन' उनले भने, 'बिजु र सासू ससुराका बीचमा सम्बन्ध राम्रो नरहेको भन्ने थाहा पाएको छु।'

बिजुले आत्महत्या नै गरेकी हुन भन्ने प्रमाण नभेटिएकोले हत्या पनि भएको हुन सक्ने दृष्टीकोणबाट अनुसन्धान गर्नुपर्ने माइती पक्षको भनाइ छ।

वडाध्यक्ष जिसीका अनुसार बिजु बेपत्ता भएपछिबाट नै श्रीमान् अशिमले उनको खोजी गरेका थिए। बिजुको शव भेटिएपछि अशिम पनि सोही स्थानमा पुगेर शवलाई पर्वत सदरमुकाम ल्याउने काममा जुटेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.