छोटो अवधिमै उठाएका थिए २ करोड, ठगिएकाहरु निराश
छोटो अवधिमै उठाएका थिए २ करोड, ठगिएकाहरु निराश
विराटनगर : भ्रष्टाचार र ठगीका विरुद्धमा कडा कदम चाल्ने प्रशासकका रुपमा चिनिएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई ठगीका मुद्दा हेर्न श्रम विभागले रोक लगाएको छ।
आफ्नो कार्यकालको छोटो अवधिमै २ करोड १२ लाख बढी सर्वसाधरणको ठगीको रकम उठाएर वाहीवाही कमाएका सञ्जेललाई श्रम विभागले भने पत्र लेखेरै त्यसकालका मुद्दा नहेर्न भन्दै चेतावनीसमेत दिएको छ।
सञ्जेलले ठगलाई समाउने र रकम उठाइदिने आशाले श्रम कार्यालय आउने गरेका पीडित सर्वसाधरण भने अहिले निराश हुँदै फर्किने गरेका छन्।
‘सुनसरीको इटहरी प्रहरीले श्रम कार्यालयमा जानु भनेर पठाइदियो, प्रेम सञ्जेलले काम गर्छन् भन्ने आशाले आएको तर, अहिले श्रम कार्यालयले इनरुवा जिल्ला प्रशासन कार्यालय सुनसरी जानु भनेर पठाइदियो,’ मोरिसस लैजाने भन्दै ७ लाख ७० हजार रुपैयाँ ठगले खाइदिएपछि श्रम कार्यालय आएका ग्रामथान-५, मोरङका हेमनारायण चौधरीले भने, ‘सबैले प्रेम सञ्जेलले गर्छन् भन्थे तर, काम नगर्नु भनेको छ रे।’
चौधरीलाई मोरिसस लाने भन्दै काठमाडौंमा ३ महिना र दिल्लीमा लगेर २ महिना राखियो तर भनेको ठाउँमा लगिएन। पछि चौधरीले आफू ठगिएको थाहा पाएर श्रम कार्यालय विराटनगरमा उजुरी दिन आए। उनको पनि कुनै सुनुवाई भएन र ठगीको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्छ भनेर पठाइयो। उनलाई इटहरीका विवेक पोखरेलले ठगी गरेका हुन्। चौधरीसहित ५ जनालाई पोखरेलले ठगी गरेको उनको दाबी छ।
यस्तै मोरङ कानेपोखरी ५ का चानबहादुर राजवंशीको छोरा मनिष कुमार राजवंशीलाई काठमाडौं बसोबास गर्ने असिम गुरुङले क्यानडा लैजाने भन्दै १३ लाख रुपैयाँ ठगे। गत माघ महिनामै पैसा लिएर हिंडेका गुरुङले छोरालाई क्यानडा पठाउनु त कता हो कता अहिले आफैं सम्पर्कविहीन छन्।
गत भदौ १५ गते पीडित राजवंशी र कार्कीले श्रम कार्यालय विराटनगरमा ठगीएको उजुरी दिए तर अहिलेसम्म कुनै कारबाही नभएपछि निराश भएका छन्।
‘पैसा दिएको हो ठगी भएको हो भन्दा पनि उजुरी लिन मान्दैनन्, तर प्रेम सञ्जेलले गर्छन् भनेर निवेदन दिएको अब जिल्ला प्रशासन कार्यालय पठाइदिएको छ, काम हुने कमै विश्वास छ,’ राजवंशीले भने, ‘सञ्जेलले भने गरिदिन्थे कि।’
अहिले पनि श्रम कार्यालयमा दैनिक दर्जनौं मानिस ठगिएको भन्दै उजुरी दिन आउने गरेका छन्। तर, ठगविरुद्धमा आगो ओकल्ने सञ्जेललाई नै उजुरी नलिन श्रम विभागले पत्र पठाएपछि पीडितसामू उनी पनि नतमस्तक भएका छन्।
श्रम विभागका निर्देशक (उपन्यायाधिवक्ता) राजेश्वर अर्यालले गत वैशाख ३१ गते वैदेशिक रोजगारीको नाममा ठगीएको भन्ने उजुरीउपर कुनै कारबाही नगर्न भन्दै चलानी नम्बर २७२२ को पत्रबाट सञ्जेललाई आदेश दिइएको छ। त्यसखालका काम जिल्ला प्रशासन कार्यालयबाट हुने पत्रमा उल्लेख छ।
पहिले श्रम तथा रोजगार कार्यालय विराटनगरको काम श्रमिकको र उद्योग, प्रतिष्ठान व्यापारका लगानीकर्ताको मुद्दा हेर्ने काम थियो। वैदेशिक रोजगारी श्रम स्वीकृतिको काम सुरु भएपछि भने वैदेशिक रोजगारीमा लैजाने नाममा भएका ठगी गरेका विषयमा पनि यस कार्यालयबाट काम हुन थाल्यो।
अब वैदेशिक रोजगारी ठगीका मुद्दा नहेरिने सञ्जेलको भनाइ छ। १ नम्बर प्रदेशबाहेक अन्य श्रम कार्यालयले ठगीका मुद्दा नलिएको र अब आफूलाई पनि नगर्नु भनि पत्र आएको कारण काम गर्न नसकिने भन्दै फर्काउने गरेको सञ्जेलले बताए।
मौखिक रुपमा आएको अधिकारपछि सञ्जेलले झण्डै डेढ सय जनाको २ करोड १२ लाख ठगीको पैसा असुल उपर गरिदिएका थिए भने ५६ लाख रुपैयाँ फिर्ता गराउने प्रक्रियामा छ। सञ्जेल गत फागुन २३ गतेदेखि त्यस कार्यालयमा हाजिर भएका थिए। भदौको पहिलो सातासम्म वैदेशिक रोजगारमा जानेहरूलाई पैसा लिइ रोजगारमा नपठाउने ठगहरूलाई पक्राउ गरि सो रकम उठाएको उनले जानकारी दिए।
श्रम कार्यालयका प्रमुख सञ्जेल उक्त कार्यालयमा आएपछि ठूलादेखि सानासम्म ठगलाई पक्राउ गरेर वैदेशिक रोजगारीमा लगिदिने नाममा हुने ठगीका रकम फिर्ता गराएका थिए। यो खबर देशका सबै क्षेत्रमा पुगेपछि पूर्वदेखि पश्चिमसम्मका ठगीमा परेका पीडितहरु उनैको च्याम्बरमा आउने गरेका थिए। सञ्जेललाई श्रम कार्यालय विराटनगरबाट सरकारले सरुवा गरेको थियो। सञ्जेललाई अदालतले पुनर्वहाली गरेपछि भने पुनः श्रम कार्यालयमा काम गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।