एक महिनापछि व्यवसायीक उत्पादन
एक महिनापछि व्यवसायीक उत्पादन
हेटौंडा : कुलेखानी तेस्रोबाट विद्युतको परीक्षण उत्पादन सुरु भएको छ। मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारस्थित आयोजनाले १ लाख १२ हजार युनिट विद्युत् उत्पादन गरीसकेको छ। तर व्यवसायिक उत्पादन हुन भने केहि समय अझै लाग्ने भएको छ।
१२ वर्ष पछि निर्माण सम्पन्न भएर परीक्षण उत्पादनबाट निस्केको विद्युत राष्ट्रिय प्रशारण लाइनमा पठाइसकेको कुलेखानी तेस्रो जलविद्युत आयोजनाले जनाएको छ। दुई वटा टर्वाइन रहेको मध्ये अहिले एउटा टर्वाइन मात्रै चलाइएको कुलेखानी तेस्रोका उपप्रबन्धक धिरेन्द्र चौधरीले बताए। उनका अनुसार दुवै टर्वाइनबाट परीक्षण उत्पादन भने भइसकेको छ।
चौधरीका अनुसार निर्माण कम्पनीले हस्तान्तरण गर्नु अघि एक महिना सम्म सबै टर्वाइन, जेनेरेटर, मोटर, ट्रान्सफर्मरहरुको परीक्षण गर्ने र केहि गढबढ भए सच्याउन लगाउने गरी करिब एक महिना परीक्षण हुनेछ। परिक्षण जारी रहेको उप प्रबन्धक चौधरी भनाइ छ।
ठेकेदारको कारण ढिला
सम्झौता अनुसार चार वर्षमा सकिनुपर्ने निर्माणकार्य ठेकेदारको ढिलासुस्तीका कारण थप सात वर्ष निर्माण अवधि लम्बिएको थियो। विद्युत्गृह निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘जेजियाङ जिल्लुन’ र सिभिलतर्फको सिनो हाइड्रो कम्पनीले लिएको थियो। सिभिलतर्फको काम भने सकिसकेको छ। २०६४ चैतदेखि काम सुरु गरिएको उक्त आयोजना २०६८ सालसम्म निर्माण सम्पन्न गर्ने सम्झौता थियो।
यस बीचमा ठेकेदार पक्षले बिभिन्न बहाना गर्दै छ पटक म्याद थप गरेको छ। तिहारभित्र योजना पूर्ण रुपमा हस्तान्तरण गर्ने तयारी भइरहेको इलेक्ट्रोमेकानिकल तर्फको चिनिया ठेकेदार कम्पनी जेजियाङ जिल्लुनका ठेकेदार नवेशेर चक्रवर्तीले बताए।
दोब्बर खर्चमा निर्माण
आयोजना निर्माण सुरु गर्दा लागत दुई अर्ब ४३ करोड अनुमान गरिएको थियो। हालसम्म करिब ४ अर्ब रुपैयाँ खर्च भइसकेको कुलेखानी तेस्रो आयोजनाले जनाएको छ। योजना हस्तान्तरण हुँदा सम्म साढे चार अर्ब रुपैयाँ खर्च हुने आयोजनाको अनुमान छ।
१४ मेगावाट क्षेमताको उक्त विद्युत् आयोजना निर्माण सुरु गर्दा प्रतिमेगावाट १७ करोड ३६ लाख खर्च अनुमान गरिएकोमा हाल प्रतिमेगावाट निर्माण खर्च ३३ करोड २१ करोड रुपैयाँ पर्न आएको छ। आयोजनाबाट वार्षिक सरदर ४० दशमलव ६५ मेगावाट विद्युुत् उत्पादन हुने विद्युत् प्राधिकरणले जनाएको छ।
कुलेखानी दोस्रो आयोजना भैँसेबाट ४ दशमलव २ किलोमिटर सुरुङमार्फत आयोजनास्थल सानुटारसम्म पानीबाट आयोजना भित्र रहेको दुईवटा युनिट सञ्चालन हुनेछ जसबाट १४ मेगावाट विद्युत् उत्पादन हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।