|

पर्वत : ‘सानै छ खेत सानै छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान’ पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी धनारका ६० वर्षीय

धनबहादुर सुनारले आफ्नी नातिनीले पढ्दै गरेको किताबको हरफ सम्झिँदै भने, ‘घरमा अन्नको नाममा जम्मा एक मुरी कोदो हुन्छ, ढुङ्गा माटाको काम नगरे त हातमुख जोड्ने उपाय नै छैन।’ १३ जना सदस्य रहेको संयुक्त परिवार धनबहादुरका बुढा भएका पाखुराको बलमा धानिएको छ।

उमेरले बिस्तारामा आराम गर्ने बेला भएको भए पनि उनी तीन घण्टा सम्मको पैदल यात्रा गर्दै सिकर्मी र डकर्मीको काम गर्न हिँड्छन्। ‘पाँच छोरी र चार छोरा घन र कुन्जा हानेर नै हुर्काएँ, बढाएँ।’ धनबहादुरले भने, ‘घरमा पानीबाहेक सबै थोक बेसाउनुपर्छ। जग्गाको नाममा दश पाथी कोदो फल्ने एउटा बारीको गरो छ।’

१३ जना सदस्य नै धनबहादुरका बस्न लागेका आँखा र नाडीमा भर परेका छन्। बुढेसकालमा भए पनि ढु्ंगा फुटाउन नहिँड्ने हो भने परिवारको छाक नै बस्ने उनको अवस्था छ। धनबहादुरले १३ वर्षको उमेरबाट ढुङ्गा माटाको काम गर्न सुरु गरेका थिए।

साठी वर्षीय धनबहादुर सँगै काम गर्ने उनकै छिमेकी ४८ वर्षीय फत्तेजंग विश्वकर्मा छन्। फत्तेजंगले पनि चौध वर्षको उमेरबाट सिकर्मी र डकर्मीको काम सुरु गरेका थिए। उमेर ढल्किनै लाग्दा पनि उनको परिवार उनीमाथि नै निर्भर छ।

परिवारको आम्दानीको लागि अन्य स्रोत छैन। यही कारण तीन घण्टासम्मको पैदल यात्रा गरेर काम गर्न पुगेको उनले सम्झिए। ‘काम नगरी पेट पाल्ने उपाय छैन।’ गहभरि आँसु पार्दै फत्तेजंग भन्छन्, ‘बिहान सात बजे घरबाट हिँडेर काम गर्ने ठाउँमा पुगिन्थ्यो। बेलुका ६ बजे कामबाट छुटेर नौ बजे घरमा पुगेर सुतिन्थ्यो।

दिनभर घनले ढुङ्गा फुटाउने र डोकोमा बोक्ने काम गर्दा पिलो दुखे जस्तै शरीर दुख्ने गरेको र त्यो बेलामा पनि पेट भरेर खाना खाने अवस्था थिएन।’ फत्तेजंगको परिवारमा नौ जना सदस्य छन्। तर ती कसैले पनि आम्दानी नगर्ने भएकोले दैनिक मुजदुरीमा हिँड्ने गरेको उनले बताए। दैनिक आठ सय रुपैयाँको दरमा काम गर्दा जसोतसो परिवारको पेट भर्न सकेको उनको भनाई छ।

पाका उमेरका सिकर्मी र डकर्मीको यही समूहमा सोही वडाकै रुग्दीकै नन्दलाल रेग्मी पनि छन्। गाउँभित्र र बाहिर गरेर सयौँ घरका धुरी छाइसकेका नन्दलाल उमेरले ७७ वर्षका भए। उनी उभिएर घरको गाह्रो लगाउन नसक्ने अवस्थामा भएकोले बसी बसी ढुङ्गा कुन्छन्। ‘के गर्नु? नगरी भएन, गरौँ सक्दिन। बसी बसी भए पनि ढुङ्गा हान्नै प¥यो, गाह्रो लगाउनै पर्‍यो।’

नन्दलाल भन्छन्, ‘गरिराखेको काम छोड्न मन लाग्दैन। फेरि छोडे दुई चार पैसा गोजीमा हुँदैन।’ दिउसोभरि हिलो माटोले गाह्रो लगाउँदा रातभर निद्रा नलाग्ने उनको दुखेसो छ। ‘रातभर घुँडा र पाखुरा करकरी खान्छ। यता फर्कन्छु, उता फर्कन्छु पटक्कै निद्रा लाग्दैन।’ उनले भने, ‘अब त यो वर्षबाट पाखुरा चल्छन् जस्तो पनि लाग्दैन। अब मर्ने बेलामा कति सिंगौरी खेल्ने हो?’

जिल्लाका ग्रामीण क्षेत्रमा निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनामा कार्यरत अधिकांश कर्मीहरू पाका पुस्ताका नै देखिन्छन्। युवा अवस्था बाट नै यही काममा लागेका उनीहरू हात खुट्टा चल्ने बेलासम्म पनि यही काम गर्ने बताउँछन्।

युवाहरू रोजगारीको लागि वैदेशिक रोजगारीमा रहँदा अहिलेको पुस्ता कमैले मात्र सिकर्मी र डकर्मीको काम जानेका छन्। यही कारण नै ग्रामीण क्षेत्रमा सिकर्मी र डकर्मीको काम गर्ने अधिकांश कामदार पचास वर्ष भन्दा बढी उमेरका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.