विरुवाको संरक्षण गर्न महानगरले फलामे जाली बनाउने

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यकामा हरियाली बढाउन फुटपाथमा रोपेका अधिकांश विरुवा महिना दिन नबित्दै गायब भइसकेका छन्।

वृक्षारोपण गरेको एक महिनामै संरक्षण अभावमा धेरै विरुवा नासिएका छन्। महानगरमा हरियाली प्रवर्द्बन गर्ने उद्देश्यले सडकको दुवै किनारामा रोपिएका बिरुवाको  स्याहार नहुँदा केहीका सुकेर डाँठ मात्रै बाँकी छन् भने अन्यको पैदल यात्रीले भाँचेर, उखेलेर अस्तित्व नै मेटाइदिएका छन्।

सहरलाई हरियाली, सफा र वातावरणमैत्री बनाउने अभियानसहित भदौ २६ मा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वृक्षारोपण अभियानको उद्घाटन गरेका थिए। त्रिपुरेश्वरदेखि जमलसम्म १६५ वटा विरुवा रोपिएको थियो। त्यस क्षेत्रमा ५०० विरुवा रोप्ने योजनाका साथ महानगरपालिकाले वृक्षरोपण गरेको हो। तर‚ रोपिएका अधिकांश विरुवा अहिले हराइसकेका छन्।

रोपिएका १६५ वटा विरुवामध्ये आधाजसो पनि जीवित नरहेको भोटाहिटीका व्यापारी रामकृष्ण श्रेष्ठले बताए। महानगरपालिकाले तामझामका साथ विरुवा रोपेपछि संरक्षणमा बेवास्ता गरिरहेको छ। संरक्षणतर्फ महानगरपालिकाले चासो नदिएको स्थानीयबासी बताउँछन्।

रोपेको केही दिनसम्म ती विरुवाले पानीसहित महानगरको स्याहार पाउँछन्। तर‚ दिन बित्दै गएपछि महानगरले फर्किएर हेर्दैन भने पैदलयात्री चुँड्दै, निमोठ्दै विरुवाको हुर्मत लिएर रोपेको ठाउँबाटै उखेलेर फालिदिन्छन्।

'विरुवा रोपेदेखि अहिलेसम्म पानी हालेको देखेको छैन,' व्यापारी रामकृष्ण श्रेष्ठले भने, 'रानीपोखरीको सडक पेटीमा रोपिएका विरुवाको सबै पात झरेर डाँठ मात्रै बाँकी छ, त्यो पनि पैदलयात्रीले लुछेर घाइते बनाएको अवस्थामा। बटुवाले जथाभावी चुँड्दै ती विरुवाको अस्तित्व नै सकिएको छ।'

विरुवाको सुरक्षाका लागि महानगरले पहल नगरेकाले बँचेका पनि सुक्दै गएका छन्। केही विरुवा मरिसकेको अवस्थामा भेटिए। महानगरले पूर्वतयारीबिना विरुवा रोपेकाले यस्तो समस्या देखिएको हो।

रात्रिकालीन व्यापारीलाई व्यवस्थित गर्न नसक्दा पनि सडकका विरुवा जोगगिन नसकेको भोटाहिटी सब-वेका एक व्यापारीले बताए। 'रातको  समयमा यो ठाउँमा जहाँसुकै सामान राखेर बसेका हुन्छन,’ 'उनले भने, 'ग्राहकहरू बाटोमा र सडकको भित्ता उभिएर सामान किन्छन्। त्यस समयमा विरुवाको ख्यालैै गर्दैनन्।' रात्रिकालीन बजारले पनि रोपिएका विरुवा हुर्कन नपाएको उनले बताए।

ग्राहकले पनि जथाभावी हिँडेर विरुवा भाचेको बताउँदै उनले पात चुँडेर विरुवालाई नाङ्गै बनाएको दुखेसो गरे। विरुवाको संरक्षण गर्न महानगरपालिका र पैदलयात्री सचेत हुनपुर्ने उनले सुझाव दिए।

महानगरपालिकालाई हरियाली बनाउने लक्षसहित वृक्षरोपण गरिएको हो। तर स्थानीयबासीको निष्कृयताका कारण विरुवाको संरक्षण गर्न नसकेको काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्था विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए।

उनका अनुसार महानगरले रोपेका विरुवाको पात चुँड्दै हिँडेकाले यस्तो समस्या भएको हो। विरुवा नै भाँचिदिएपछि संरक्षण हुन नसकेको उनले जानकारी दिए।  यसमा महानगर पनि गम्भीर भएर लागेको उनले सुनाए।

महानगरपालिकाले बिहानको समयमा पानी हालिरहेको उनले बताए। विरुवाको संरक्षणका लागि फलामको जाली बनाएर राखिने उनले जानकारी दिए। 'सडक किनाराका विरुवा महानगरले संरक्षण नगर्ने भन्ने हुँदैन,' प्रमुख श्रेष्ठले भने, 'विरुवाको महानगरले संरक्षण गर्छ। बटुवाले नै विरुवाको पात चुँडेको पाइएको छ।' नागरिक पनि यसमा जिम्मेवार हुनुपर्ने उनको भनाइ छ।

तीनकुनेमा राखिएको झारको चपरी पनि नागरिकले झिकिरहको उनले बताए। उनले भने,'चपरी त आफैँ खुट्टा लगाएर त गएन होला नि।' जबसम्म नागरिकमा  मेरो भन्ने हो भावना आउँदैन तब सम्म महानगर रोपेर केही नहुने उनले बताए। रोपेका विरुवा उखेल्नेले नै महानगरले केही नगरेको दोष  लगाउने गरेको दुखसो उनलले गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.