|

हेटौंडा : भर्खरै मात्रै छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनपिङ नेपाल भ्रमण गरेर फर्केका छन्। तर चिनको लगानीमा स्थापना भएका उद्योगहरूको भने अझै दयनीय स्थिति छ। त्यसको एउटा उदारहण हो हेटौंडा कपडा उद्योग, उद्योग लामो समयदेखि बन्द भएपछि उद्योगको जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना भएको छ।

नयाँ औद्योगिक क्षेत्र मन्त्रिपरिषद्को २०६९ माघ १२ को निर्णयानुसार हेटौंडा कपडा उद्योगको जग्गामा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिएको हो। उक्त जमिनमा कम्तिमा नयाँ ५० उद्योग स्थापना गर्न सकिने र सवै जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन समितिले उद्योग स्थापनाका लागि उद्योगहरूलाई दिइसकेको छ। ‘उक्त जग्गामा ३० वटा नयाँ उद्योग थपिने क्रममा रहेका छन्।

जग्गा ओगट्ने तर उद्योग सञ्चालन नगर्ने प्रवृत्तिलाई निरुत्साहित पार्न हामीले दबाब दिएर उद्योग सञ्चालनमा ल्याउन पहल गरिरहेका छौं।’औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलका अधिकृत राजेन्द्र श्रेष्ठले भने,‘अब नयाँ उद्योग सञ्चालनका लागि जग्गा छैन। केही उद्योगहरू जग्गाका लागि ताकेता गरिरहेको भए पनि जग्गा नहुँदा दिन सकिरहेका छैनौं।’

कुल ३१ सय १९ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र फैलिएकोमा हाल एकसय एकवटा उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रमा छ। ‘अधिकांश नयाँ उद्योगहरु यसै आर्थिक वर्षभित्रबाट सञ्चालनमा आउनेछन्। हामीले कारबाहीको सूचना निकालेसँगै उनीहरूले मेसिन ल्याउने र भौतिक संरचना तयार गर्ने कार्य गरेका हुन्।’

श्रेष्ठले हाल तीनवटा उद्योगमात्र औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेका छन्। नेपाल वनस्पति घ्यू उद्योग लिमिटेड, रिजोइन क्वालिटी फूड्स प्रालि र नेमो पार्केट कम्पनी प्रालि बन्द अवस्थामा रहेको बताए।

बन्द उद्योगमा सशस्त्र प्रहरीको गण

छिमेकी राष्ट्र चीनको लगानीमा स्थापना भएको हेटौंडा कपडा उद्योग करिब १९ वर्षदेखि बन्द अवस्थामा रहेको छ। चीन सरकारको लगानीमा २०३२ सालमा निर्माण भएको हेटौंडा कपडा उद्योग २०५७ साल फागुन १ गतेबाट बन्द भएको हो। सरकार परिवर्तन भएसँगै उद्योग सञ्चालन गर्ने वा लिक्विडेसनमा लैजाने भन्नेबारे अन्योल हुँदा २२ वर्षसम्म सञ्चालन भएको उद्योग हाल पूर्ण रुपमा बन्द अवस्थामा पुगेको हो।

लगातार घाटामा गएपछि तत्कालिन मन्त्रिपरिषद्को निर्णयबाट बन्द गरिएको उद्योगमा हाल सशस्त्र प्रहरी नेपाल गण नम्बर १४ को कार्यालय रहेको छ। उक्त स्थानमा हाल करिब तीनसय सशस्त्र प्रहरी बस्ने गरेका छन्। ‘पटकपटक सरकार हेरफेर भएसँगै कहिले उद्योग लिक्विडेशनमा लैजाने, कहिले सञ्चालन गर्ने निर्णय भइरह्यो।

पछिल्लो पटक सुरक्षा निकायको पोशाक उत्पादन गर्नेगरी नेपाली सेना, शसस्त्र प्रहरी वल र नेपाल प्रहरीको लगानीमा उद्योग सञ्चालन गर्ने तयारी भएको पनि रोकियो।’, हेटौंडा औद्योगिक क्षेत्र लिमिटेडका निमित्त कार्यालय प्रमुख इञ्जिनियर अशोक अर्यालले बताए। उनका अनुसार तत्कालिन समयमा करिब २० करोड रुपैयाँ बराबरको लागतमा निर्माण भएको उद्योगले २०३५ सालबाट उत्पादन सरु गरेको थियो।  

हेटौंडा कपडा उद्योगमा चारसय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६८८ वटा स्पिण्डल छन्। ‘पुरानो मेसिन भएपनि धेरै काम लाग्ने अवस्थामा रहेको हामीले विभिन्न पटक जानकारी पाएका छौं। सरकार परिवर्तन भएसँगै यसको भविष्यको विषयमा चर्चा भइरहेको हुन्छ। तर, हालसम्म ठोस काम भने भएको छैन।’ उनका अनुसार उद्योग सञ्चालन हुँदा करिब एकहजार दुईसय कर्मचारीले रोजगारी पाएका थिए। 

तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले यो उद्योग सञ्चालन गर्न आठ करोड रुपैयाँ छुट्याएको थियो। ६ करोड रुपैयाँ खर्च गरेर उद्योग मर्मत गरेर तत्कालीन समयमा कपडा उत्पादनको परीक्षण गरिए पनि आवश्यकता अनुसार कपास उपलब्ध नभएको भन्दै उद्योग सञ्चालनमा आएन। २०६६ कात्तिकमा हेटौंडा कपडा उद्योगलाई दोस्रोपटक लिक्विडेशनमा लैजाने प्रक्रिया अगाडि बढाइएको थियो।

हेटौंडा औद्योगिक क्षेत्रभित्र दुईसय ३६ रोपनी जग्गामा कपडा उद्योग निर्माण गरिएको छ। यस्तै २५६ रोपनी जग्गामा आवास बनेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। २०६९ माघ १२ को मन्त्रिपरिषद् बैठकले उद्योगको सम्पत्ती शेयर लगानीका रुपमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा गाभेको थियो।

हाल उद्योग लिमिटेडले नै रेखदेख गरिरहेको छ। उद्योगका धेरै मेसिन हाल पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको इञ्जिनियर अर्यालले बताउँछन्। उद्योगको वार्षिक क्षमता २ हजार ३०० मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा उत्पादन क्षमता थियो। उद्योगको दैनिक ३६ हजार मिटर कपडा उत्पादन गर्नसक्ने क्षमता छ।

तत्कालीन समयमा स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै सुती कपडामा आत्मनिर्भर पनि बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.