एक दिनमै ४५१ जनाले खेले पिङ

|

पर्वत : कुस्मा नगरपालिका–५ कुस्मा बजारको छेउमा रहेको बौद्ध गुम्बा नजिकैको डिलमा पछिल्लो समय हरेक दिन मान्छेको बाक्लै आउजाउ हुन्छ। प्रायः सुनसान रहने र बाँदरहरू देखिने भीरमा मान्छेको बाक्लो उपस्थितिले कुस्मा बजारको रौनक नै बदलिँदै गएको छ। 

फेदीमा सुसाउँदै बगिरहेको कालीगण्डकीमाथिको भीरमा काला चट्टान (स्थानीयले दाह्रे ढुङ्गा भन्ने गरेका) रहेको ठाउँमा साँझको बेला एक्लै जान पनि डर लाग्थ्यो। त्यही ठाउँमा अहिले पर्वतका त भइनै हाले त्यसबाहेक बाग्लुङ, म्याग्दी, कास्की, चितवन, धादिङलगायत जिल्लाका मानिसहरू पनि ओहोरदोहोर गरेका भेटिन्छन्। कारण हो, त्यही डरलाग्दो भीरको माथि डिलैमा रहेको ‘६२३ बी सी रक गार्डेन एन्ड रेस्टुरेन्ट’। 

यो गार्डेनको नाम बुद्ध जन्मेको समयलाई राखेर बनाइएको छ। बुद्ध नेपालमा जन्मिएका हुन् र नेपाल शान्तिका प्रतीक बुद्धको देश हो भन्ने चिनाउन गार्डेन र रेस्टुरेन्टमा बुद्ध जन्मिएको मिति समेटिएको सञ्चालक बताउँछन्। यो गार्डेन पर्वतकै कुस्मा नगरपालिका–५ का वडा सदस्य तथा स्थानीय एकता युवा क्लबका अध्यक्ष नरेन्द्रबहादुर खत्रीले सञ्चालनमा ल्याएका हुन्। गार्डेन निर्माणको लागि अहिलेसम्म ५० लाखभन्दा बढी खर्च भइसकेको र अझै पनि केही भौतिक संरचनाहरू निर्माणको काम चलिरहेको खत्रीले बताए।

यस्ता छन् आकर्षण

‘रक गार्डेन’को सबैभन्दा बढी आकर्षण भीरमा खेलिने पिङमा छ। भीरको माथि फलामका खम्बा हालेर पिङ बनाइएको छ। जमिन छोड्न साथ कालीगण्डकीमाथि रहेको भीरमा पुगिन्छ। पिङ खेल्दा भीरमाथि पुगिने भएकाले खेल्नेहरूलाई ‘सेफ्टी रोप’ ले बाँधेर मात्र खेलाइन्छ। सञ्चालक खत्रीका अनुसार यो पिङ महिलाहरूको मात्र निर्माण गरिएको भए पनि पुरुषहरू पनि खेल्ने गरेका छन्।  

गार्डेन र रेष्टुरेन्टको बीचमा कालीगण्डकी नदीमा मात्र देख्न पाइने काला चट्टानहरु छन्। ती चट्टानहरूलाई पनि सिँगारिएको छ। ‘डेकोरेसन’का लागि प्रयोग गरिएका सामग्रीहरु काम नलाग्ने भनी फालिएका बस्तुहरू छन्। रुखका जरालाई विभिन्न आकृति दिएर रङ लगाइएको छ। बस्नका लागि पुराना टायरहरूलाई छेंडेर डोरी घुसाएर चिटिक्क रङ लगाइएको छ। फ्रेस हाउसमा मासु काट्नका लागि प्रयोग गरिएका पुराना अचानाहरूमा रङ भरेर आकर्षक कुर्ची बनाइएको छ।

गार्डेन रहेको ठाउँबाट कालीगण्डकीको लामो भागसहित बलेवा, भैरवस्थान, बाग्लुङ कालिका, कुस्मा बलेवा जोड्ने यान्त्रिक पुल, नजिकै रहेको साहसिक खेल बन्जी जम्पलगायतका ठाउँ देख्न सकिन्छ। प्रत्येक ६÷६ महिनामा नेपालमा प्रयोगमा नरहेका तर विदेशमा प्रयोगमा भइरहेका कुनै न कुनै आकर्षणको चिज थपेर पर्यटकहरू तान्ने योजना रहेको नरेन्द्र बताउँछन्। ‘आन्तरिक र बाह्य पर्यटकहरू आकर्षित गर्नको लागि प्रत्येक ६ महिनामा केही न केही नयाँ कुरा गार्डेनमा राख्ने काम गर्नेछु,’ उनले भने, ‘नेपालका भीर र रुखका जरा पनि पर्यटकहरूका लागि आकर्षणका केन्द्र हुन्। भीरमा खेलिने पिङ त यहाँको सबैभन्दा साहसिक र रमाइलो खेल हो।’

उनका अनुसार अब तत्कालै भीरमा नै पुरुषका लागि अझै साहसिक पिङ निर्माण गर्ने, गार्डेनभित्रै गर्मीमा स्विमिङ र जाडोमा बोटिङ राख्ने, डोरीमा झुन्डिएर भीरमा पुगेर ‘ल्यान्ड’ गर्ने, बाँसको झाङमा चराको गुँड जस्तै ‘आइकोनिक नेस्ट’ राखेर त्यहीँ भित्र पसेर फोटो खिच्नेहरूका लागि आकर्षण थप्ने लगायतका कामहरू गर्न लागिएको छ। निर्माणको अझैं ३० प्रतिशत काम बाँकी रहेको छ।

पर्यटकको घुइँचो

पर्वत सदरमुकाम कुस्मा बजार पवित्र तीर्थस्थल मुक्तिनाथ जाने बाटैमा पर्छ। त्यसमा पनि बनिरहेको ‘बन्जी जम्प’ र चलिरहेको ‘रक गार्डेन’ मुस्ताङ जाने मुख्य सडकबाट सवारीमा बढीमा पाँच मिनेट टाढाको दूरीमा रहेको छ। यही कारण पनि मुस्ताङ घुम्ने याम चलेको बेलामा मुस्ताङ आउजाउ गर्ने अधिकांश पर्यटकहरू ‘रक गार्डेन’ मा पुग्ने गरेका छन्। 

अहिले बाह्यभन्दा पनि आन्तरिक पयर्यटकहरुको निकै घुइँचो रहेको सञ्चालक नरेन्द्रले बताए। ‘सबैभन्दा बढी एक दिनमा ४५१ जनालाई भीरमा लगेर पिङ खेलाएका छौँ,’ उनले भने, ‘विदेशी पर्यटकहरूको आगमन पनि क्रमशः बढिरहेको छ। देशभित्रका त विभिन्न जिल्लाबाट आउनुभएको छ।’

भीरमा पिङ खेल्नेहरूले फोटा तथा भिडियोहरु सामाजिक सञ्जालहरू फेसबुक, ट्विटर, टिकटक लगायतमा बढी ‘अपलोड’ गरेका कारण पनि यसको प्रचार प्रसार राम्रो भएको खत्री बताउँछन्। 

विदेश छोडेर स्वदेशमा

नरेन्द्रलाई पैसा नै कमाउँ भन्ने मात्र भएको भए सिंगापुरमा गर्दै आएको रोजगारीले राम्रै आम्दानी भएको थियो। तर, विदेशमा केही समय काम गर्नका लागि जान हुने भए पनि जीवनको उर्जाशील समयलाई त्यहीँ नै खर्च गर्नु हुँदैन भन्ने उनको मान्यता छ। २०६२ सालमा रोजगारीको लागि सिंगापुर पुगेका उनी २०६७ सालसम्म त्यहीँ रहे। 

आम्दानी राम्रै भए पनि नेपाल फर्किएर केही गर्ने सोच बनाउँदै उनी स्वदेश फर्किए। ‘विदेश जानै हुँदैन भन्ने होइन, जाने हो,’ उनी भन्छन्, ‘काम गर्ने जोस र जाँगर उतै रित्ताएर स्वदेश फर्केर पनि त अर्थ भएन नि। गएर केही सिक्ने अनि देशमा आएर त्यसैलाई उपयोग गर्ने।’ लगत्तै उनले सदरमुकाम कुस्मा बजारकै पहिलो व्यवस्थित वधशाला सञ्चालनमा ल्याए। खसी, बोका र कुखुराको वध गर्नका लागि बनाइएको वधशालामा उनले ५० लाख लगानी गरेका छन्।  

नरेन्द्र सिंगापुरमा हुँदा उनले ‘रक गार्डेन’ सँग मेल खाने काम भने गरेका थिएनन्। भीरका चट्टानसँगै बनाइएको रेस्टुरेन्ट, गार्डेन र पिङले राम्रो आम्दानी दिन सक्छ भन्ने त उनलाई हालै मात्र लागेको हो। ‘विदेशमा रहँदा यो कामसँग मिल्ने काम त गरेको होइन,’ उनले भने, ‘छेउमै यान्त्रिक पुल, साहसिक खेल बन्जी जम्प, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलहरू देख्दा भीरको पनि महत्व छ है भन्ने बुझेर भीरमा लगेर गार्डेन बनाएको हुँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.