|

म्याग्दी : राउण्ड अन्नपूर्णको रिल्याक्स स्थल मानिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग तातोपानी कुण्डमा नुहाउने आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्डमा कालीगण्डकी नदीको किनारमा  अवस्थित तातोपानी कुण्डमा प्राकृतिक रुपमा ५५ डिग्री सेल्सियस तातोपानी निस्कने गर्दछ। यसरी निस्केको तातोपानीलाई  संकलन गरिएको छ। सो ही पानी तलाउ र धारामा स्नान गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकले प्रयोग गर्दछन्। दुई वटा पोखरी बनाइएको छ। धारा र पोखरी जहाँ उपयुक्त हुन्छ त्यही स्नान गर्न सकिन्छ। 

अहिले चीसो बढको छ। म्याग्दी र मुस्ताङका पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकको चाप पनि बढेको छ। मुस्ताङबाट फर्कने र पर्यटक एकपटक तातोपानीमा पसेर नुहाउने र आनन्द लिने गरेकाले यस सिजनमा भूरुङतातोपानीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लागेकोे कुण्डका ब्यवस्थापक बाबुराम गर्बुजाले बताए।

उनका अनुसार अहिले दैनिक पाँच सय जना भन्दा बढीले तातोपानीको धारा र कुण्डमा स्नान गर्न आएका छन्। प्राकृतिक तातोपानीमा स्नान गर्दा थकान मेटिने र शारीरिक स्फूर्ती बढ्ने पर्यटकहरुले बताएका छन्। 

लोमान्नाङ क्षेत्रको तीन दिनको भ्रमण पछि बेनी फर्कने क्रममा तातोपानी कुण्डमा स्नान गरेका पोखराका शिव हमालले तातोपानी कुण्डमा डुवेपछि सम्पूर्ण नकान दूर भएको र स्फुर्ति बढेको अनुभव सुनाउदै यहाँ डुुवेपछि निकै आनन्दा आएको प्रतिक्रिया दिए।  

बिहान छदेखि साँझ आठ बजेसम्म स्नान गर्न सकिन्छ। कुण्डमा स्नानका लागि स्वदेशीलाई पचास र बिदेशीलाई १५० रुपैया प्रवेशशूल्क तोकिएको छ। कुण्डमा प्रवेश शूल्क र होटल सञ्चालन गर्न गाउँपालिकाले यस वर्ष ५८ लाख रुपैयाँमा ठेक्कामा लगाएको छ।

गत वर्ष ५३ लाख रुपैयाँ आम्दानी भएको थियो। कुण्डबाट हुने आम्दानी तातोपानी स्थित सर्वोदय मावि, हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण र संरक्षणमा परिचालन गरिएको वडा अध्यक्ष ओमप्रकाश फगामीले बताए।

कुण्डको सहयोगमा कक्षा ११ र १२ सञ्चालन गरिएको सर्वोदय मावि व्यवस्थापन समितिका अध्यक्ष वुद्धि पुनले बताए। हिमालय आधारभूत विद्यालयलाई पनि सहयोग गरिएको छ। कुण्डको सहयोगमा तातोपानी स्वास्थ्य चौकीमा एक जना प्राबिधिकको तलब व्यवस्थापन गरि प्रयोगशाला सञ्चालन भएको छ। 

कुण्डबाट गत वर्ष विद्यालय र स्वास्थ्य चौकीलाई तीस लाख रुपैयाँ सहयोग भएको थियो। कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि पनि संरक्षणको काम गरिँदै आएको छ। पर्यटकको आवास सुबिधाका लागि तातोपानी बजारमा दश भन्दा धेरै सुबिधा सम्पन्न होटल सञ्चालनमा छन्। 

एक दिनमा तीन सय भन्दा बढी बास बस्न सक्ने क्षमता छ। पुराना होटलले क्षमता र सुबिधा विस्तार तथा नयाँ होटल थपिने क्रम बढेको हिमालयन होटलका सञ्चालक आत्मा तुलाचनले बताए।

तुलाचनका अनुसार पछिल्लो समय मुस्ताङ भ्रमणमा जाने र फर्किने स्वदेशी तथा विदेशी पर्यटकको चाप अत्यधिक बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.